
रुसले चार करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली लोकतान्त्रिक मुलुक युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरेको छ ।
महिनौँसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त छिमेकीमाथि आक्रमण गर्न लागेको कुरालाई अस्वीकार गरेका थिए ।
तर उनले युक्रेनको उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै शान्ति सम्झौता भङ्ग गरे ।
मृतकको सङ्ख्या बढ्दै जाँदा उनीमाथि युरोपमा शान्ति भङ्ग गरेको आरोप लागेको छ र अब त्यसले महादेशको सम्पूर्ण सुरक्षा संरचनालाई खतरामा पार्न सक्छ ।
रुसी सेनाले कहाँ र किन आक्रमण गरे ?
किएभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित युक्रेनका सहरनजिकै अवस्थित विमानस्थल र सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण भयो ।
त्यसपछि ट्याङ्क र सैनिकहरू पूर्वोत्तर युक्रेनभरि प्रवेश गरे ।
उनीहरू पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसङ्ख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे ।
प्यारासूटको सहाराले झर्ने सैनिकहरूको समूहले किएभनजिकैको एउटा प्रमुख हवाई शिविर कब्जा गरे ।
रुसी सैनिकहरू युक्रेनका ठूला बन्दरगाह सहरहरू ओडेसा र मारिऊपोलमा पनि अवतरण गरे ।
आक्रमण सुरु हुनु केहीअघि राष्ट्रपति पुटिनले टेलिभिजनमा सम्बोधन गरे ।
त्यसक्रममा उनले आधुनिक युक्रेनबाट लगातार भइरहेको खतराका कारण रुसले “सुरक्षित, विकसित र अस्तित्वमा रहेको” महसुस गर्न नसकिरहेको बताए ।
उनका धेरै तर्क मिथ्या वा असङ्गत थिए । उनले आफ्नो लक्ष्य ‘दुर्व्यवहार र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउनु’ रहेको दाबी गरेका थिए ।
पुटिनका भनाइमा उनी युक्रेनको “असैनिकीकरण र गैर-नात्सीकरण” गर्न चाहन्छन् ।
युक्रेनमा कुनै नरसंहार भएको छैन । यो एउटा जीवन्त लोकतन्त्र हो र त्यहाँ निर्वाचित यहुदी राष्ट्रपतिले देशको नेतृत्व गर्छन् ।
“म कसरी नात्सी हुनसक्छु,” युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने ।
अझ उनले त रुसी आक्रमणलाई दोस्रो विश्वयुद्धका बेला नात्सी जर्मनीको आक्रमणसँग तुलना गरेका छन् ।
राष्ट्रपति पुटिनले युक्रेनलाई चरमपन्थीहरूले कब्जा गरेको आरोप लगाउँदै आएका छन् ।
सन् २०१४ मा रुस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचलाई महिनौँको विरोध प्रदर्शनबाट हटाएपछि पुटिनले यस्तो आरोप लगाएका हुन् ।
त्यसपछि रुसले दक्षिणी क्षेत्र क्राइमिया कब्जा गरेर र पूर्वमा पृथक्तावादीहरूलाई समर्थन गर्दै विद्रोह सुरु गराएर त्यसको बदला लियो ।
उक्त लडाइँमा १४ हजारको ज्यान गइसकेको छ ।
सन् २०२१ को अन्त्यतिर राष्ट्रपति पुटिनले युक्रेनी सीमा क्षेत्रमा ठूलो मात्रामा सेनाहरू तैनाथ गर्न थाले ।
अनि यसै साता उनले सन् २०१५ मा पूर्वी क्षेत्रका लागि भएको एउटा शान्ति सम्झौतालाई अन्त्य गर्दै विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई स्वतन्त्र मुलुकहरूको मान्यता दिए ।
रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ ।
आक्रमणको घोषणा गर्दै पुटिनले नेटोलाई “राष्ट्रको रूपमा आफ्नो ऐतिहासिक भविष्य”लाई धम्की दिएको आरोप लगाएका छन् ।
रुस कतिसम्म अघि जान सक्छ ?
रुसले युक्रेनको प्रजातान्त्रिक रूपमा निर्वाचित सरकारलाई हटाउन खोजेको भन्ने कुरालाई अस्वीकार गरेको छ ।
तर उसले युक्रेनलाई “नात्सीहरूबाट मुक्त गर्नुपर्छ” भन्नेमा विश्वास गर्छ ।
पुटिनले “नागरिकविरुद्ध रक्तपातपूर्ण अपराध गर्नेलाई” अदालतमा उपस्थित गराउने कुरा पनि गर्ने गर्छन् ।
आक्रमण अघिका दिनहरूमा दुई लाख सैनिकहरू युक्रेनको सिमानाको पहुँच भित्र रहेका बेला उनले आफ्नो ध्यान पूर्वी क्षेत्रमा केन्द्रित गरेका थिए ।
लुह्यान्स्क र डोनेट्स्कका रुस समर्थित पृथक्तावादी क्षेत्रलाई स्वतन्त्र देशका रूपमा मान्यता दिएर पुटिनले पहिले नै ती क्षेत्र अब युक्रेनको हिस्सा नरहने निर्णय गरिसकेका थिए ।
त्यसपछि उनले धेरै युक्रेनी क्षेत्रहरूमा उनीहरूको दाबीलाई समर्थन गरे ।
स्वघोषित जनवादी गणतन्त्रहरूले युक्रेनका लुह्यान्स्क र डोनेट्स्क क्षेत्रका एकतिहाइभन्दा अलि बढी भाग ओगटेका छन् तर विद्रोहीहरू बाँकी भागहरूको पनि लोभ गर्छन् ।
युरोपका लागि यो आक्रमण कति खतरनाक?
यो युक्रेनीहरू र युरोपेली महाद्वीपका बाँकी क्षेत्रका लागि पनि डरलाग्दो समय हो ।
दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै पनि ठूलो शक्तिले छिमेकीमाथि यस्तो आक्रमण गरेको पनि पहिलो पटक हो ।
जर्मनीले “पुटिनको युद्ध” भन्ने गरेको यो लडाइँमा अहिले नै सैनिक र गैरसैनिक गरी कैयौँको मृत्यु भइसकेको छ ।
यो आक्रमणले युरोपका नेताहरूका लागि सन् १९४० यताकै सबैभन्दा खराब क्षणमा पुर्याएको छ ।
दुवै सशस्त्र सेनाका परिवारका लागि आगामी दिनहरू चिन्ताजनक हुनेछन् ।
युक्रेनीहरूले पहिले नै रुस समर्थित विद्रोहीहरूसँग आठ वर्षको भीषण युद्धको सामना गरिसकेका छन् ।
सेनाले १८ देखि ६० वर्षसम्मका सबै ‘रिजर्भ’मा राखिएका व्यक्तिहरूलाई बोलाएको छ ।
वरिष्ठ अमेरिकी सैन्य अधिकारी मार्क मिलीका भनाइमा रुसी सेनाको सङ्ख्याका हिसाबले घना सहरी क्षेत्रको दृष्य “भयानक” हुनेछ ।
आक्रमणले रुस र युक्रेन दुवै देशका सीमामा रहेका अन्य धेरै मुलुकहरूमा पनि प्रभाव पारेको छ ।
लाट्भिया, पोल्यान्ड र मोल्डोभाले शरणार्थीहरूको ठूलो आगमनका लागि तयारी गरिरहेको बताएका छन् ।
लिथुआनिया र मोल्डोभामा आपत्कालीन अवस्था घोषणा गरिएको छ। त्यहाँ हजारौँ महिला र बालबालिका पहिले नै प्रवेश गरिसकेका छन् ।
यो युद्धका लागि रुसी जनसङ्ख्या पनि तयार थिएन किनकि आक्रमणलाई संसद्को ठूलो मात्रामा प्रतिनिधि नभएको माथिल्लो सदनले अनुमोदन गरिदिएको थियो ।
पश्चिमले के गर्न सक्छ?
नेटोले लडाकु विमान तयारी अवस्थामा राखेको भए पनि पश्चिमी साझेदारहरूले आफूहरूले सशस्त्र सैनिकहरू युक्रेनभित्र नपठाउने स्पष्ट पारिसकेका छन् ।
त्यसको साटो उनीहरूले सल्लाहकारहरू, हतियारहरू र फील्ड अस्पतालका लागि सहयोग गर्ने भनेका छन् ।
यसैबेला ५,००० नेटो सैनिकहरू बाल्टिक देश पोल्यान्डमा खटिएका छन् ।
थप ४,००० सैनिकहरू रोमानिया, बल्गेरिया, हङ्गेरी र स्लोभाकियामा पठाइनेछ ।
यद्यपि पश्चिमले रुसको अर्थतन्त्र, उद्योग र व्यक्तिहरूलाई निसानामा पारेको छ ।
ईयूले पुँजी बजारमा रुसी पहुँचलाई प्रतिबन्ध लगाउने र उसका उद्योगलाई नवीनतम प्रविधिमा जोड्ने प्रक्रियाबाट हटाउने वाचा गरेको छ ।
ईयूले रुसले विद्रोही नियन्त्रित युक्रेनी क्षेत्रलाई मान्यता दिने कुराको समर्थन गर्ने ३५१ जना सांसदमाथि प्रतिबन्ध लगाइसकेको छ ।
जर्मनीले रुस र युरोपेली कम्पनीहरू दुवैको ठूलो लगानी भएको रुसको नोर्ड स्ट्रीम टू ग्यास पाइपलाइनको अनुमोदनलाई रोकिदिएको छ ।
अमेरिकाले रुसी सरकारलाई पश्चिमी वित्तीय संस्थाबाट अलग गरिदिने र उच्च श्रेणीका “कुलीनहरू”लाई लक्षित गर्ने बताएको छ ।
ब्रिटेनले सबै प्रमुख रुसी ब्याङ्कहरूको सम्पत्ति रोक्का गर्ने बताएको छ । त्यसमा १०० व्यक्ति र संस्था लक्षित छन् अनि रुसको राष्ट्रिय ध्वजावाहक विमानलाई पनि ब्रिटेनमा अवतरण गर्न प्रतिबन्ध लगाइनेछ ।
युक्रेनले आफ्ना साझेदारलाई रुसी तेल र ग्यास खरिद नगर्न आग्रह गरेको छ । तीनवटा बाल्टिक देशले अन्तर्राष्ट्रिय स्विफ्ट भुक्तानी प्रणालीबाट रुसी ब्याङ्किङ प्रणाली विच्छेद गरिदिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
त्यसले अमेरिका र युरोपेली अर्थतन्त्रलाई नराम्रो असर पार्न सक्छ ।
रुसी सहर सेन्ट पिटर्सबर्गले सुरक्षाका कारणले यस वर्षको च्याम्पियन्स लिगको फाइनल खेल आयोजना गर्न नपाउने भएको छ ।
युरोपेली फुटबलको प्रशासकीय निकायले पनि थप प्रतिबन्ध लगाउने योजना बनाएको छ ।
पुटिन के चाहन्छन्?
राष्ट्रपति पुटिनले आंशिक रूपमा नेटोको पूर्वतर्फको विस्तारलाई आक्रमणको कारणको रूपमा दोष दिएका छन् ।
युक्रेनले नेटोमा सामेल हुनको लागि उपयुक्त समय पर्खिरहेको छ ।
रुसी उपविदेशमन्त्रीले युक्रेन कहिल्यै नेटोको सदस्य नबनोस् भन्ने सुनिश्चित गर्नु आफ्ना लागि अनिवार्य भएको बताइसकेका छन् ।
गत वर्ष राष्ट्रपति पुटिनले रुसी र युक्रेनीहरूलाई “एउटै राष्ट्र” भनेर वर्णन गर्दै लामो लेख लेखेका थिए ।
उनले त्यसमा डिसेम्बर १९९१ मा भएको सोभियत सङ्घको पतनलाई “ऐतिहासिक रुसको विघटन” भनेर वर्णन गरेका थिए ।
उनले आधुनिक युक्रेनलाई पूर्ण रूपमा कम्युनिस्ट रुसले बनाएको र अहिले पश्चिम नियन्त्रित कठपुतली राज्य भएको दाबी गरेका थिए ।
राष्ट्रपति पुटिनले युक्रेन नेटोमा सामेल भएमा गठबन्धनले क्राइमियालाई पुनः कब्जा गर्ने प्रयास गर्न सक्ने पनि तर्क गरेका छन् ।
तर रुस युक्रेनमा मात्र केन्द्रित छैन र उसले नेटोलाई सन् १९९७ भन्दा अघिको सीमामा फर्किनुपर्ने माग गर्दै आएको छ ।
पुटिन सन् १९९७ देखि नेटो गठबन्धनमा सामेल भएका सदस्यराष्ट्रले आफ्ना सेना र सैन्य पूर्वाधार हटाउन तथा “रुसको सिमानानजिक घातक हतियारहरू” तैनाथ नगरून् भन्ने चाहन्छन् ।
ती भनेका मध्य र पूर्वी युरोप तथा बाल्टिक क्षेत्र हुन् ।
राष्ट्रपति पुटिनको दृष्टिमा पश्चिमले सन् १९९७ मा नेटोलाई “पूर्वमा एक इन्च पनि विस्तार नगर्ने” भनेर प्रतिज्ञा गरेको थियो । तर उसले त्यस्तो विस्तार जारी राख्यो । त्यो सोभियत सङ्घको पतन हुनुअघिको कुरा हो ।
यद्यपि तत्कालीन सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभसँग गरिएको वाचामा दुई जर्मनी एक हुने सन्दर्भमा पूर्वी जर्मनीलाई मात्र उल्लेख गरिएको थियो ।
तर गोर्भाचोभले पछि भनेका थिए, “नेटो विस्तारको विषयमा त्यस बेला छलफलै भएको थिएन ।”
नेटो के भन्छ?
नेटो नयाँ सदस्यका लागि ढोका खुला भएको एउटा रक्षात्मक सैन्य गठबन्धन हो ।
नेटोको ३० सदस्य बनेका ३० राष्ट्र त्यसमा परिवर्तन नहुनेमा अडिग छन् ।
जर्मनीका चान्सलरले युक्रेन लामो समयसम्म नेटोमा सामेल हुने सम्भावना नरहेको स्पष्ट पारिसकेका छन् ।
तर कुनै पनि हालको नेटो देशले आफ्नो सदस्यता त्याग्ने विचार पूरा हुने सम्भावना नभएको कुरा हो ।
समाधानको कूटनीतिक बाटो बाँकी छ ?
अहिलेको लागि छैन तर कुनै पनि अन्तिम सम्झौताका क्रममा पूर्वको युद्ध र हतियार नियन्त्रण दुवैलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।
अमेरिकाले छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरूलाई सीमित पार्ने र अन्तरमहादेशीय क्षेप्यास्त्रसम्बन्धी नयाँ सन्धिमा वार्ता सुरु गर्ने प्रस्ताव गरेको थियो ।
रुसले चाहिँ सबै अमेरिकी आणविक हतियारहरू उनीहरूको राष्ट्रिय क्षेत्रबाहिरबाट प्रतिबन्धित गर्न चाहेको थियो ।
रुस दुईवटा आफ्नो देशमा रहेका र रोमानिया तथा पोल्यान्डमा रहेका अन्य एक-एकवटा क्षेप्यास्त्रका आधारहरूलाई पारस्परिक रूपमा “पारदर्शिता संयन्त्र”बाट जाँच गर्ने कुराप्रति सकारात्मक थियो ।
-बीबीसी नेपालीबाट साभार