ओलीलाई गगन थापाको जवाफ : अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु नयाँ कुरा नभएको बताएका छन् ।

उनले ओली कालो मन भएको मान्छे भएकाले उनले अरुलाई अनावश्यक आरोप लगाउनु सामान्य भएको बताए । थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी पनि गरेका छन् ।

मंगलबार एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा कांग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै ‘पागलहरुको प्रलाप’ भनेका थिए ।

बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ओलीले कांग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको बताए ।

‘उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी भएको हो । एक पछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन’ उनले भने ।

महामन्त्री थापाले एमाले अध्यक्ष ओलीलाई तर्क (लजिक) मन नपर्ने र जादु (म्याजिक) मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको बताए । ‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । हामीले लजिक राखेका छौं, म्याजिक छैन ।’

ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको पनि बताए ।

उनले भने ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु समृद्धि तपाईंकै आइडिया हो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१