स्थापितले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा (एमाले) तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उमेदवार केशव स्थापितले मधेसको आत्मासम्मानमा चोट पुर्‍याएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्थापितले महानगर प्रमुखका स्वतन्त्र उमेदवार बालेन साहप्रति गरेको टिप्पणी साम्प्रदायिक घृणा र धु्रवीकरणको घीनलाग्दो खेल भएको उल्लेख गरेका छन् ।

स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याएको पौडेलेको टिप्पणी छ । उनले भनेका छन् ‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याउनुभएको छ । साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घीनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नुभएको हो । महिलामाथि त सार्वजनिक मञ्चमै हिंसा भइरहेको छ ।’

स्थापितले अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको उनको टिप्पणी छ । पौडेलले स्थापित काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनित मेयर बनेको, डा. बाबुराम भट्टराई सरकारको पालामा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको व्यक्ति भएको पनि स्मरण गराएका छन् ।

यस्तो छ उनले लेखेकाे स्टाटस :

केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्‍याउनु भएको छ । साम्प्रदायिक घृणा र धुर्बिकरणको यो घिन लाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नु भएको हो ।महिला माथि त सार्वजनिक मञ्च मै हिम्सा भैरहेको छ । रह्यो, योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रुपमा पूरै पाचँ वर्षको कार्यकाल पूरा गरिसक्नु भएको हो ।

शाही शासनकालमा ज्ञानेन्द्रकाे मनोनित मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नु भएको हो । त्यतिले नपुगेर डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो ।

अहिले अचानक अर्कै ग्रहबाट पहिलोपटक काठमाण्डौ ओर्लेजस्तो गरी चुनावी फण्डा गरिरहनुभएको छ । हिम्सा ,विद्वेष ,सिद्धान्तहीनता र अवसरवाद काठमाडौं को रोजाइ हुन सक्दैन । हावा गफ त ओली जी बाटै टन्न अघाउने गरी सुनिसकेका छौँ । स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर :
एक ही उल्लू काफी था बार्बाद गुलिस्तां करनेको
अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१