पटियाला जेलको कैदी नम्बर २४१३८३ बने सिद्धू, यसकारण परे जेल

काठमाडाैं । राजनीतिज्ञ तथा पूर्व क्रिकेड खेलाडी नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय सुनाएपछि अहिले उनी जेलमा छन् ।

भारतीय सञ्जार माध्यमका अनुसार उनी कैदी नम्बर २४१३८३ बनेका छन् । उनलाई पञ्जाबको पटियाला जेलको ब्यारेक नम्बर ७ मा राखिएको छ ।

तीन दशक पुरानो सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो । जेल सजाय सुनाएको २४ घण्टापछि उनले शुक्रबार पटियालाको एक अदालतमा आत्मसमर्पण गरेका थिए ।

सन् १९८८ डिसेम्बर २७ का दिन पटियालाको एउटा पार्किङमा सिद्धू र उनकाे साथीकाे ६५ वर्षीय गुरनाम सिंहसँग कुटाकुट भएको थियो । यसबीच गुरनाम सिंह लडे । पछि अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो । सिद्धूलाई गैर-नियतवश हत्याको आरोप लागेको थियो ।

त्यो बेला सिद्धूलाई जिल्ला अदालतले निर्दोष ठहर गरेकाे थियो । तर उच्च न्यायालयले दोषी ठहर्‍याएर तीन वर्ष जेल सजाय सुनायाे ।

पछि गुरनाम सिंहको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको भनी यो मुद्दा सर्वोच्चमा पुर्‍याइयो ।

सर्वोच्चले सन् २०१८ मा सिद्धूलाई निर्दोष सावित गरेको थियो । तर पीडित परिवारले यसविरूद्ध फेरि अपिल दायर गरेका थिए । यही मुद्दामा अदालतले अहिले सिद्धूलाई दोषी ठहर गरी एक वर्षको सजाय सुनाएको हो ।

पहिले सिद्धूविरूद्ध यो मुद्दा चलेका बेला उनी क्रिकेटमा सक्रिय थिए । सन् १९९९ उनले क्रिकेटबाट संन्यास लिए र कमेन्टेटरका रूपमा काम थाले । पछि उनी टेलिभिजन कार्यक्रमहरूमा देखिन थाले ।

विस्तारै उनी राजनीतिमा पनि सक्रिय भए । उनी अमृतसरका सांसद भए र पन्जाबमा कांग्रेसका अध्यक्ष पनि भइसकेका छन् । हाल उनी पन्जाब कांग्रेसका वरिष्ठ नेता हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१