
काठमाडाैं । केही दिनयता विवादमा तानिएका चर्चित र्यापर सुदीप भण्डारी (जी-बब) र परिवारबीच सहमति भएको छ ।
आफूलाई आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै जी-बबले पत्रकार सम्मेलन गरेको भोलिपल्ट परिवारसँग सहमति भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार जी-बब र उनका बुवा राजकुमार भण्डारीबीच मंगलबार तीन बुँदे सहमति भएको छ ।
सहमतिको पहिलो बुँदामा जी-बब उनकै इच्छाअनुसार कपनस्थित समर्पण समाज नेपालको सुधारगृहमा अन्य व्यक्तिसरह बस्ने भएका छन् ।
त्यसैगरी सहमतिको दोस्रो बुँदामा केही अवधिका लागि जी-बबले चाहेको समयमा आमा-बुवालाई भेट्न पाउने व्यवस्था उनी बसेको समर्पण समाज नेपालले मिलाउने भएको छ ।
यो सहमति अनुसार जी-बबले अब कुनै पनि सार्वजनिक समारोह या कार्यक्रममा जानुपर्ने भएमा आमा-बुवाको सहमति लिनुपर्ने भएको छ ।
आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जी-बबले आमाबुवाले आफूलाई टर्चर दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको बताएका थिए ।
काठमाडौं प्रहरीले दुवै पक्षलाई राखेर छलफल गर्दा सहमति हुन सकेको थिएन । तर सोमबार दुई पक्षबीच यस्ताे सहमति भएको हो ।