एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यस्ताे धारणा राखेका हुन् ।

उनले भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।’

प्रवक्ता डा. महतले नेकपा (एमाले) गएको स्थानीय तहको निर्वाचनपछि एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा. महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा उनले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनःसञ्चालनको सम्भावना कमै रहेको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१