बहुआयामिक नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा

सदियौंदेखिको नेपाल भारत सम्बन्ध बहुआयामिक छ । देश फरक भए पनि धर्म, संस्कृति, रहनसहन, भेषभूषा, खानपान, भाषा, मनोरञ्जन, राजनीतिमा एकरुपता छ । दुई देशका जनताबीच पारिवारिक सम्बन्ध छ । जसलाई रोटीबेटीको नामले पुकारिन्छ ।

यी सम्बन्धहरुमा पछिल्लो समय नयाँ आयामहरु देखिएको छ । नेपाल भारत सम्बन्धमा खासगरी धार्मिक र आर्थिक कुटनीतिकले महत्त्व पाएको देखिन्छ ।

धार्मिक/सांस्कृतिक सम्बन्ध

राम-सीताको त्रेतायुगको वैवाहिक सम्बन्धले नै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्धको प्रगाढता दर्शाउँछ । यी दुई देश अस्तित्वमा आउनुअघि नै दुई देशका जनताबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहीआएको छ । सनातन धर्म र संस्कृतिका नयाँ आयामहरु राजनीतिक सम्बन्धमा पनि देखिएको छ । पछिल्लो समय नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच राखी बाधेर दिदीभाइको सम्बन्ध कायम भयो । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आए । त्यस्तै भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष राख्न लागिएको छ । केही महिनाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा बनारसमा पशुपतिनाथ मन्दिरको उदघाटन भयो । यसले द्विपक्षीय धार्मिक सम्बन्धका साथै पर्यटनलाई पनि प्रवर्द्धन गरेको छ । त्यसमाथि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल प्रेम पनि उदाहरणीय छ । यसरी धार्मिक सम्बन्धमा नयाँ आयामहरु देखिएको छ ।

धार्मिक पर्यटन

धार्मिक–सांस्कृतिक पर्यटनलाई बढावा दिने र भारतबाट धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल घुम्न तथा नेपालबाट धेरैभन्दा धेरै पर्यटकलाई भारत घुम्नका लागि प्रेरित गर्ने प्रयास भएको छ । विशेषगरी, रामायण सर्किट र बुद्ध सर्किट नेपाल र भारतबीचको प्राचीन सम्बन्धलाई आधुनिक कालमा जोड्ने सेतू हो । यी परियोजनाहरुले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने र आर्थिक समृद्धिको ठूलो आधार तयार गर्ने अपेक्षा गरिएको छ । रामायण सर्किटमा भारतका अयोध्या, सीतामढी, चित्रकुट, जगदलपुर, नन्दीग्रामलगायत नेपालको जनकपुर (जहाँ सीताको जन्म भयो) पनि समावेश छ ।
अयोध्या नरेश भगवान् श्रीराम र मिथिलाकी राजकुमारी माता जानकीको जन्मस्थल क्रमशः भारतको अयोध्या र नेपालको जनकपुरधामसहित रामायण सर्किटको पर्यटन विकासका लागि दिल्लीबाट ‘भारत गौरव पर्यटक रेल’ करिब ६ सय भारतीय पर्यटक बोकेर असारमा आएको थियो । यो रेल नियमित रुपमा सञ्चालन हुने बताइएको छ ।

जनकपुरदेखि अयोध्यासम्मको बस सेवा सन् २०१८ देखि नै सुरु भएको थियो । यतिबेला नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा सीता माताको पूजा पनि गरका थिए । ‘पूरै दुनियाँको पर्यटन तेज गतिमा बढिरहेको छ । हामी दुई देश मिलेर रामायण सर्किटको योजना अघि बढाइरहेका छौँ,’ मोदीले उक्त कार्यक्रममा भनेका थिए । भगवान् राम, जहाँ–जहाँ गएका थिए, त्यहाँसम्म यातायात सञ्जाल बिस्तार गर्ने भारतको योजना छ । जसअनुसार श्रीलंकामा पनि रामायण सर्किटलाई बिस्तार गर्ने योजना बनेको छ । यस्तो हुन सकेमा यो सर्किटले त्रिदेशीय पर्यटनको आधार तय गर्नेछ ।

यसैगरी बुद्ध सर्किट नेपाल र भारतबीचको पर्यटनलाई जोड्ने अर्को महत्वपूर्ण योजना हो । यस सर्किटमा बौद्धमार्गीको आस्था जोडिएका विभिन्न ठाउँलाई जोड्ने लक्ष्य लिइएको छ । जसअन्तर्गत नेपालतर्फ लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदी क्षेत्र समेटिएको छ । त्यस्तै, लुम्बिनी र भारतका विभिन्न सहरबीच हवाई सम्पर्क बिस्तार गर्ने योजना पनि अघि बढिरहेको छ । यो सर्किट निर्माण हुन सकेमा भारतबाट ठूलो संख्यामा पर्यटकहरु नेपाल आउनसक्ने अनुमान गरिएको छ । १ अर्ब ३८ लाखभन्दा धेरै अर्थात् विश्वको दोस्रो ठूलो जनसंख्याको देश भारतसँगको कनेक्टिभिटी जति धेरै बिस्तार हुनेछ, त्यति नै भारतमा नेपालको प्रचार–प्रसार हुनेछ । र, भारतीय पर्यटकहरुको आगमन नेपालमा बढ्नेछ । त्यसैले यी परियोजनाहरुको निर्माण चाँडैभन्दा चाँडै सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।

आर्थिक सम्बन्ध

नेपाल र भारतबीच आर्थिक सम्बन्ध पनि पुरानो छ । भूपरिवेष्ठित राष्ट्रलाई समुद्र मार्गसम्म पहुँच, पेट्रोलियम पाइपलाइन, जयनगर-जनकपुर-बर्दिवास रेल्वे ट्रयाक, सीमा नाकाबाट सहज आवतजावत आर्थिक सम्बन्धमा उच्चतम नमूना हुन् ।

हालैका दिनहरुमा नेपालले भारतसँग बिजुली ब्यापार पनि गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले यो वर्ष १६ अर्बभन्दा बढीको बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ भने अहिलेसम्म ५ अर्बभन्दा बढीको बिजुली बेचेको प्राधिकरणको तथ्यांक छ ।

यसैगरी, नेपालले भारतीय बजारमा सिमेन्ट पनि निर्यात गर्न थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले ‘तानसेन’ ब्राण्डको सिमेन्ट भारतमा निर्यात गरिरहेको छ ।

पूर्वाधार विकास

भारतले नेपालको पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आएको छ । हुलाकी सडक निर्माणमा तदारुकताका साथ अगाडि बढेको छ । मध्य पहाडी लोकमार्गमा पनि सहयोग गरेको छ । जलविद्युत आयोजनाहरुमा भारतको निरन्तर सहयोग छ । भौतिक पूर्वाधारअन्तर्गत विद्यालय भवन निर्माण, एम्बुलेन्स सहयोग, सुरक्षाकर्मीलाई सवारी साधन सहयोग लगायत थुप्रै सहयोगहरु भएका छन् । भारतीय सहयोगमै पशुपतिनाथको मन्दिरमा धर्मशाला पनि निर्माण भएको छ । त्यसैगरी तराईका धेरै स्थानमा भारतले सडक निर्माणमा सहयोग गरेको छ । कतिपय ठाउँमा भारतको सहयोगमा सडक निर्माण चलिरहेको छ । जनकपुर जयनगर रेल सञ्चालन भइसकेको छ । त्यसैगरी, जोगवनी–नेपाल कस्टम यार्डको ट्रयाक निर्माण पूरा भइसकेको छ ।

हेटौँडामा २०१९ देखि नै नेपाल–भारत मैत्री पोलिक्लिनिक इन्स्टिच्युट सञ्चालनमा आइसकेको छ । भारत सरकारले सामुदायिक विकास परियोजनाहरु पनि अघि बढाइरहेको छ । भारतीय दूतावासका अनुसार ४ सय ५४ भन्दा धेरै परियोजनाहरु ९ अर्ब १३ करोड नेपाली रुपैयाँमा सम्पन्न भइसकेका छन् । २ अर्ब १२ करोड ६० लाख नेपाली रुपैयाँमा ६८ वटा सामुदायिक विकास योजनाहरु अहिले पनि सञ्चालन भइरहेका छन् । नेपालका दुर्गम क्षेत्रहरुमा सेवा पुर्यापउने उद्देश्यले सबै ७७ जिल्लामै भारतीय सहयोगका परियोजनाहरु चलिरहेका छन् । यहाँ परियोजनाले स्वास्थ,शिक्षा, खानेपानी लगायतलाई प्राथमिकतामा राखेका छन् ।

सामाजिक सम्बन्ध

‘रोटी-बेटी’ नेपाल र भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध दर्शाउने चर्चित भाष्य बनिसकेको छ । नेपाली र भारतीय नागरिकबीचको वैवाहिक सम्बन्ध सदियौं पुरानो छ । सीमा क्षेत्रका जनताहरु बजार, किनमेल, शिक्षालगायत विभिन्न विषयमा एकआपसमा निर्भर छन् । उनीहरु सीमा वारी र पारी निर्वाध रुपमा विवाह मात्रै नभएर अन्य सांस्कृतिक पर्वहरु पनि सँगै मिलेर मनाउने गर्छन् ।

नेपाल र भारतको सम्बन्ध जनस्तरमा जोडिनुको कारण पनि यही हो । यही सम्बन्धका कारण भारतीय जनताले नेपाल र नेपाली जनताले भारतमा अप्ठ्यारो पर्दा दिलो ज्यान दिएर सहयोग गर्ने गरेको इतिहास छ । महाभूकम्प र अहिले कोभिड १९ महामारीको समय पनि भारत सरकार र भारतीय जनताले स्वतस्फूर्त रुपमा नेपाल र नेपालीलाई सहयोग गरेका छन् ।

चलचित्रको सम्बन्ध

नेपाल भारत फिल्मी सम्बन्धमा पनि नयाँ आयाम आएको छ । पहिलोपटक नेपाली फिल्म प्रेम गीत ३ हिन्दी भाषामा भारतमा प्रदर्शनमा आउँदैछ । बलिउड फिल्म नेपालमा सफल भइरहेका बेला नेपाली फिल्म पनि भारतमा प्रदर्शन हुने अवस्थाले चलचित्र सम्बन्धको नयाँ आयामलाई बुझ्न पर्छ । त्यस्तै नायिका परमिता राणा भारतीय फिल्ममा अनुबन्धित भएकी छन् । त्यस्तै भारतीय कलाकार ब्रहमानन्दनसहित थुप्रै कलाकार चलचित्र ह्रस्वदीर्घमा आबद्ध भएका छन् । कलाकार आदानप्रदान बढेको छ । यसलाई नयाँ आयामको रुपमा लिनुपर्छ । जसले सम्बन्धलाई थप उचाइमा पुर्‍याइरहेको छ ।

नेपालमा बलिउड फिल्मका पारखीहरु धेरै छन् । यसको प्रभाव पनि उत्तिकै छ । त्यसैले, नेपाली हलबाट बलिउड फिल्मले राम्रो आम्दानी गर्छन् । बलिउडका स्टारहरु नेपालमा झन्डै त्यति नै प्रख्यात छन्, जति भारतमा उनीहरुको ख्याति छ । बलिउड चलचित्रकै माध्यमबाट धेरै नेपालीहरुले हिन्दी भाषा समेत सिकेका छन् । दक्षिण भारतीय फिल्महरु पनि नेपालमा उत्तिकै लोकप्रिय छन् ।

पछिल्लो समय नेपाली फिल्महरुलाई पनि हिन्दीमा डब गरेर युट्युबमा हाल्ने क्रम बढेको छ र भारतीय दर्शकबाट यी फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका छन् । नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा भारतीय कलाकार माला सिन्हाले अभिनय गरेकी थिइन्, यी फिल्मका कालजयी गीतहरुमा लता मंगेशकर, आशा भोस्लेलगायत दिग्गज गायिकाहरुले स्वर थिए ।

लता मंगेशकरको स्वर रहेको ‘जुन माटोमा मेरो’ बोलको गीत राजा महेन्द्रले नै लेखेका थिए । बिस्तारै नेपालमा विदेशी चलचित्र सुटिङ हुने क्रम चल्यो, उनीहरुले नेपालका हिमाल, अग्ला पहाड, हरियाली, झरना र तालहरुलाई आफ्नो क्यामेरामा कैद गर्न थाले । भारतका दिग्गज कलाकार स्वर्गीय देव आनन्द अभिनित ‘जोनी मेरा नाम’ नामक चर्चित फिल्मको ‘पल भर के लिए’ बोलको गीत नेपालको गोदावरीमा सुटिङ गरिएको थियो, यस गीतमा हेमा मालिनीले अभिनय गरेकी छन् । यही फिल्मको सुटिङमा नेपाल आएका देवानन्दलाई तत्कालीन राजा महेन्द्रले यहीँको कथामा फिल्म बनाउनका लागि प्रोत्साहित गरे । नेपालको सौन्दर्यलाई विश्वसामु चिनाउने महेन्द्रको चाहना थियो । त्यसैले, नेपालमा सुटिङ गरिने चलचित्रहरुलाई विभिन्न सहयोगहरु उपलब्ध गराउने उनको योजना थियो ।

देवानन्दले काठमाडौंको संस्कृतिलाई केन्द्रमा राखेर १९७१ मा ‘हरे कृष्ण हरे राम’ नाम फिल्म निर्माण गरे । ‘राजा महेन्द्रसँगको मित्रताले नै मलाई यो फल्म नेपालमा सुटिङ गर्न मिल्यो । यसमा नेपालको राजपरिवारको ठूलो भूमिका छ,’ उनले भनेका थिए । यसअघि पनि विदेशी भाषाका फिल्महरु नेपालमा सुटिङ नभएका होइनन्, तर ‘हरे कृष्ण हरे राम’ विशेष थियो, किनकी यसको अधिकांश सुटिङ नेपालमै भएको थियो । यस चलचित्र रिलिज भएपछि नेपालमा अन्य देशका फिल्महरु सुटिङ हुने क्रम पनि पहिलेभन्दा बढ्यो, त्यसैले यसलाई बलिउडमा नेपाल चिनाउने फिल्म पनि भनिन्छ । प्यागोडा शैलीका नेपाली मन्दिरहरु तथा यहाँको मौलिक संस्कृति, यहाँ मानिस, भेषभुषाको प्रचार चलचित्रमार्फत धेरै देशमा भयो, अनि यहाँ पर्यटकहरुको आगमन पनि बढ्यो ।

युद्ध, महान्, खुदा गवाह, बेकाबु, घरवाली–बहारवाली, लभ इन नेपाललगायत धेरै बलिउड फिल्महरु नेपालमै सुटिङ भएका हुन् । यस अवधिमा नेपालकी चर्चित नायिका मनिषा कोइराला बलिउडमा स्थापित भइन् । नेपाली मुलका उदीत नारायण बलिउडमा स्थापित पार्श्व गायक छन् । निर्देशक तुलसी घिमिरे, कलाकार निरुता सिंह, उत्तम प्रधानसहित धेरै भारतीयहरुको योगदान नेपालको फिल्म उद्योगमा उच्च छ । बलिउड गायक सोनु निगम, कैलास खेर, कुमार सानु, प्रशान्त तामाङ आफ्ना गीतहरुका कारण नेपालमा लोकप्रिय छन् । बलिउडका प्रख्यात कलाकार डेनी डेन्जोङ्पा नेपाली फिल्ममा गरेको अभिनय र आफ्नो गायनकलाका कारण पनि चर्चित छन् । त्यसैगरी, नेपाली अभिनेता सुनिल थापाले ‘मेरी कोम’ फिल्ममा गरेको कामका लागि पनि निकै वाहवाही पाएका थिए ।

खेल सम्बन्ध

नेपाल भारतबीच खेल सम्बन्ध पनि नयाँ उचाइमा पुगेको छ । केहीदिन अघिमात्र नेपाली क्रिकेट टोलीको कोचमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई भारतले आईपीएलमा स्थान दियो ।

नेपालबाट पहिलोपटक आईपीएलमा नेपाली खेलाडी लामिछानेले छनोटमा परेका थिए । त्यसबाहेक नेपाली फुटबल टोलीका किरण चेम्जोङ, विमल घर्तीमगरलगायत खेलाडीहरु भारतीय क्लबमा आबद्ध भएर राम्रो पारिश्रमिक लिएर खेलिरहेका छन् । त्यस्तै भारतीय खेलाडीहरु पनि नेपाली टिमबाट खेलिरहेका छन् ।

यसबाहेक महत्वपूर्ण पक्ष के भने लाखौँको संख्यामा नेपाली युवाहरु भारतीय बजारमा वर्षौँदेखि काम गर्दैआएका छन् । विशेषगरी पश्चिम नेपालका अधिकांश ग्रामीण भेगका युवाहरु भारतमा गएर काम गर्छन् । सानै संख्यामा भए पनि भारतबाट पनि नेपाल आएर काम गर्ने क्रम जारी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१