नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले भ्रम सिर्जना गरेकाे कांग्रेस प्रवक्ताकाे आरोप

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित गरेको नागरिकता विधेयक फिर्ता पठाएर विधेयकमा ठूलै त्रुटि रहेछ कि भन्ने भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।

शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले राष्ट्रपति भण्डारीले पहिले ओली सरकारले त्यही कुरा समेटिएको अध्यादेश ल्याउँदा स्वीकार गरेको, तर अहिले सार्वभौम संसद्ले पास गरेको विधेयक भने रोक्ने प्रयास गरेको बताए ।

उनले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनः संसद्बाट पारित भइसकेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास
पनि व्यक्त गरे ।

उनले भने, ‘उहाँले फिर्ता गरेर विधेयकमा ठूलै त्रुटि रहेछ भनेझैँ गरी भ्रम सिर्जना गर्ने काम भएको छ । वास्तवमा नागरिकता विधेयकमा नयाँ कुरा केही छैन । यदि संविधानमै बाझिने गरी संसद्ले कानुन बनाएको भए उहाँले प्रश्न उठाउनु ठीकै हुने थियो । तर, खाली भ्रम सिर्जना गर्ने र राजनीतिक स्वार्थ पुर्ति गर्ने प्रयास भएको देखिन्छ । उहाँले किन त्यस्तो गर्नुभयो ? मलाई थाहा छैन ।’

प्रवक्ता महतले नागरिकता विधेयक पुनः संसद्बाटै पास भइसकेकाले अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नभएको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१