
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो ।
यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।
गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।
यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार १ सय ७ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ६५ हजार २ सय ८४ रहेको छ ।
परीक्षा वोर्डका अनुसार २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका संख्या १० हजार ९ सय र १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ३५ मात्रै छ ।
यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।
परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ ।
यसरी हेर्न सकिन्छ नतिजा–
वेबसाइट:
राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट : www.neb.gov.np
नेपाल टेलिकमकाे वेबसाइट : www.neb.ntc.net.np
एसएमएस सेवा:
नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB <space> Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने ।
आईभीआर सेवा:
नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।