
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा एमालेले शनिबार काठमाडौंमा आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा जोड दिए ।
उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए । उनले संविधान दिवसलाई जनताको दिवस मनाउनुपर्ने भन्दै लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा एमालेले देशलाई अगाडि बढाउने बताए ।
सङ्घर्ष र बलिदानबाट लामो यात्रा पार गरेर संविधान कार्यान्वयन भइरहेको उल्लेख गर्दै नेपालमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास गरिएको आरोप पनि उनले लगाए ।
पदयात्रा बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको थियो । पदयात्रामा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागी रहेको थियो ।