गगनको गगनचुम्बी यात्रा, राजनलाई फेरि अन्तर्घात

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट पुनः निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै अब मुलुकलाई गति दिन नयाँ पाइला चाल्ने उद्घोष गरे ।

थापाले यसअघि नै ड्राइभिङ सिटमा बस्ने भनिसकेकाले उनले प्रधानमन्त्रीका लागि अब संसदीय दलको नेता बन्न प्रयास गर्नेछन् ।

थापाले काठमाडौं ४ मा जित निकाल्नुको पछाडी गगनको व्यक्तित्व र प्रभाव मात्र नभइ प्रतिष्पर्धी नेता डा. राजन भट्टराईमाथि भएको अन्तर्घात पनि हो । राजनमाथि एमालेबाट यसपटक पनि अन्तर्घात भएको छ । अन्तर्घातकै कारण गगनले राजनलाई सहजै पराजित गर्न सफल भए ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

काठमाडौं ४ मुख्यतः एमालेको बलियो पकड भएको क्षेत्र हो । स्थानीय तह निर्वाचनमा ८ तहमा त एमालेकै नेतृत्व छ । तर, एमालेकै पकड भएका वडामा गगनले बढी मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् ।

मतगणनाको प्रारम्भदेखि नै कांग्रेस उम्मेदवार थापाले अग्रता लिएका १, २, ८, ९, १०, ११, १२ र १३ सहित काठमाडौं महानगरका १ र ७ वडा नम्बरको गणना सकिँदा त्यसलाई कायमै राख्न सफल भए । यी वडा एमालेको पकड भएका क्षेत्र हुन् ।

काठमाडौं ४ मा मत गणनाको सुरुवात बुढानीलकण्ठको १ नम्बर वडाबाट गरिएको थियो । कांग्रेसभित्र यो वडामा पछि परिन्छ कि भन्ने आशंका थियो । किनकी स्थानीय निर्वाचनमा यो वडामा एमालेले ८४५ मतका साथ वडाध्यक्ष जितेको थियो । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ४७२ मत पाएका थिए ।
तर यही वडामा थापाले अग्रता लिए । कूल खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए ।

बुढानीलकण्ठ–२ को मतगणना सकिँदा थापाले अग्रता झनै बढाए । यो वडामा कूल खसेको २७०५ मतमा थापाको पक्षमा १३५८ र भट्टराईको पक्षमा ९४७ मत खसेको थियो । यहाँ दुई उम्मेदवारको मतान्तर ४११ रह्यो । गत स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारले ७७ मत अन्तरले कांग्रेसलाई यहाँ हराएका थिए ।

बुढानीलकण्ठ–८ मा थापाले मतान्तर झनै बढाए । ३३५५ खसेको मतमा थापाले यस वडामा १४६४ ल्याउँदा भट्टराईलाई ११३१ मत खस्यो । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार यस वडामा ४५४ मतले पछि परेर पराजित भएका थिए ।

बुढानीलकण्ठकै वडा नम्बर ९ मा एमालेको पक्षमा गएको गत स्थानीय तहको मतलाई थापाले आफ्नो पक्षमा बहुमत ल्याए । यस वडामा थापाको पक्षमा १२३६ मत ल्याउँदा भट्टराईले ७७६ मत पाए ।

बुढानीलकण्ठका प्रायः सबै क्षेत्रमा राजनमाथि अन्तर्घात भएको छ । राजनलाई जानुपर्ने मत गगनलाई परेको छ ।

३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी कांग्रेस महामन्त्री छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१