दाेलखामा ३० वर्षपछि शाख फर्काएका कांग्रेसका कुन्दन काफ्लेकाे मुख्यमन्त्री चर्चा

दाेलखा । दोलखा प्रेदश सभा ‘क’ बाट बागमती प्रदेश सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भारी मतसहित निर्वाचित भएका छन् ।

काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई आठ हजार ४२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २२ हजार ७ सय ९७ मत पाएका छन् ।

नेकपा एमालेका श्रेष्ठले मत १४ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । विसं. २०५२ सालको उप—निर्वाचनमा स्व. नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

दोलखाबाट काफ्ले निर्वाचित भएसँगै बागमती प्रदेशमा अब बन्ने प्रदेश सरकारमा काफ्लेको मुख्यमन्त्रीमा बलियो दावेदारी रहने चर्चा सुरु भएको छ ।

मुख्यमन्त्रीका लागि अहिलेसम्म इन्द्र बानियाँ र बहादुर सिंह लामाको पनि चर्चा छ । तर, दुवैजना केन्द्रमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर निकट नेताबीच आपसमा रस्साकस्सी भइरहँदा कांग्रेस भित्रै काफ्लेकाे पनि चर्चा हुन थालेकाे हाे ।

कृष्ण सिटौला र प्रदीप पौडेल निकट मानिने काफ्ले महामन्त्री गगन थापासँग पनि निकटस्त मानिन्छन् । सिटौला, पौडेल दुवै जनका साथमा काफ्ले मुख्यमन्त्री बन्ने सम्भावना बढेको देउवा निकटका नेताहरु नै बताउँछन् ।

अहिले चर्चामा आएका नामहरुमध्ये काफ्ले युवा उमेरमा राम्रो राजनीतिक छवि बनाएका नेता भित्र पर्छन् । केन्द्र सरकारमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुले प्रभाव जमाइरहँदा प्रदेशमा काफ्लेको चर्चा चुलिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१