हारपछि झन् जोखिममा गगन थापा

काठमाडाैं । ठूलै जोखिम मोलेर कांग्रेस महामन्त्री गगन थापा संसदीय दलको उम्मेदवार बनेका थिए । उम्मेदवार बन्न उनले डा. शेखर कोइरालालाई मनाउन ठूलै कसरत गर्नुपरेको थियो । उनले शेखरसँग केही गोप्य सहमति पनि गरेका छन् । केही दिनमा ती सहमतिका बुँदा पनि सार्वजनिक होलान् ।

बुझिएअनुसार पार्टीको १५औं महाधिवेशनमा थापाले शेखरलाई निशर्त समर्थन गर्नुपर्नेछ । यसको साक्षीकारुपमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा लगायत छन् ।

दलको निर्वाचनमा गगनले पाएको २५ मत निकै कम हो । उनको उम्मेदवारी दर्ता गर्नेबेला नै ३७ सांसदको समर्थन थियो । अहिले १२ मत कम आयो । यसको अर्थ गगनलाई आफनै समूहबाट भोट आएको देखिन्न । उनलाई सफाट अन्तर्घात भएको छ । गगनलाई उम्मेदवार बन्न हौस्याउनेहरुले नै उनलाई मत दिएको देखिँदैन ।

चुनावमा पराजित भएपछि थापाले दलको नेता परिवर्तनको मुद्दा बोकेर हिँडिरहने प्रतिक्रिया दिएका छन् । कुनै न कुनै दिन सांसदहरुलाई आफू कुरा बुझाउन सफल हुने र त्यसका लागि निरन्तर प्रयास गरिरहने उनको भनाइ छ । यसको अर्थ उनले हार स्वीकारको देखिँदैन । यतिमात्र होइन उनले राष्ट्रपति चयनलगायतका विषयमा एकल निर्णय गरिए त्यो नमान्ने चेतावनी समेत दिएका छन् । यो उनी झन कडारुपमा प्रस्तुत हुने संकेतका रुपमा लिइएको छ ।

निर्वाचनको परिणामसँगै गगनको राजनीतिक यात्राका सम्बन्धमा समेत विश्लेषण हुन थालेको छ । कतिपयले उनको राजनीतिक यात्रा अब ओरालो लाग्ने अनुमान गरेका छन् । यदि गगनले शेखरसंग १५औं महाधिवेशनबारे सहमति गरेका हुन भने उनी सभापतिको उम्मेदवार हुने छैनन् । त्यो अवस्थामा शेखरलाई धोका दिने नैतिकता उनीसँग हुने छैन ।

अहिलेको सरकारमा पनि गगन सहभागी हुने छैनन् । वास्तवमा गगन गठबन्धनका विरोधी हुन् । चुनावमा गठबन्धन गर्न नहुने पक्षमा थिए उनी । तर, अहिले कांग्रेसको जे परिणाम आएको छ त्यो गठबन्धनबाट आएको हो । गठबन्धनको पक्षपाती शेरबहादुर देउवा हुन् । पार्टी नेतृत्व र सरकारको नेतृत्वमा पनि देउवाको स्वभाविक हक लाग्छ । सैद्धान्तिकरुपमा भन्ने हो भने गगनलाई संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुन्छु भन्ने पनि नैतिक हक थिएन ।

गगनले देउवासँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहसमेतलाई पन्छाउन खोजेकाले भोलिको दिन उनका लागि झनै चुनौतीपूर्ण हुनेछ । यी सबै नेताहरु देउवाको पक्षमा भएकाले उनीहरुले गगनलाई कुनै पनि हालतमा माथि उठ्न दिने छैनन् ।

कुरा गगनको मात्र होइन । गगनसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको राजनीतिक भविष्य पनि जोखिममा परेको छ । गगनको महत्वकांक्षालाई साथ दिनेमा शर्मा र पौडेल अग्रपङ्तीमा रहेका छन् ।

नेपालको राजनीतिक चरित्र गठबन्धनमा आधारित भएकाले अन्य राजनीतिक दलहरुले पनि गगनको समूहलाई विश्वास गरेको देखिँदैन । गगनमाथि चुनावमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धनमा घात गरेको आरोप छ । उनीमाथि पार्टीमा उजुरीका उजुरी परेका छन् ।

गठबन्धनमा आबद्ध दलका नेताहरु प्रचण्ड र माधव नेपाल लगायतले गगनलाई विश्वास गर्दैनन् । पार्टीमा गगनमाथि परेका उजुरीमाथि छानबिन गर्नुपर्ने मत मोहनबहादुर बस्नेत, शंकर भण्डारी, प्रकाशशरण महतल लगायतले राखिरहेका छन् ।

यो सबै अवस्था हेर्दा पार्टी भित्र गगनलाई सहयोग मिल्ने देखिँदैन । आफ्नै समूहबाट भोट नआएकाले उनका आगामी दिन झन चुनौतीपूर्ण हुनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१