सन्दीप जेल मुक्त

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट निकालेर जिल्ला अदालत काठमाडौं लगिएको छ।

आज दिउँसो उनलाई केन्द्रीय कारागार सुन्धाराबाट कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको हो। अदालतमा तारेख बुझेपछि उनलाई कैदमुक्त गर्न फेरि कारागार ल्याइने जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए।

उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

पाटन उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरूद्ध परेको मुद्दामा थुनछेक बहस सुरू भएको थियो। लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए।

लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो।

लामिछानेले भने आफूविरूद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१