रजस्वला भएकी ऊ !

गाउँमा भएको राजदरबार सरह बाबुआमाको न्यानो काख छोडी बाध्यताले खुसी खोज्न सहर पसेको पनि दश वर्ष भएछ।

केही वर्षअघि घुम्दै जाँदा पश्चिमका केही ठाँउ पुग्ने अवसर पाएँ। घुम्ने क्रममा बैतडी पुगेँ जहाँ साना–साना घर, हिँड्ने साँघुरा बाटो, उकाली ओराली गर्दा गाइने देउडा भाका। आहा! हेरिरहुँ, सुनिरहुँ जस्तै।

त्यस दिन हामो बसाइ मिठु दाइको घरमा भयो। त्यहाँ मिठु दाइको दुई छोरीसहितको परिवार बस्थे। त्यहाँ एक घर र एक गोठ थियो। पर गोठमा गाई, भैँसी देखिन्थ्यो भने छेउनिर एउटा सुत्ने गुन्द्री पनि। बेलुकाको भलाकुसारी हुँदै गर्दा कान्छी छोरी इभासँग कुरा गर्ने मौका मिल्यो, ’नानी, दिदी खोइ त?’
इभाले त्यो परको गोठ देखाउँदै भनिन्, ’दिदी ऊ त्यहाँ हुनुहुन्छ।’

उनको कुराले मलाई आश्चय बनायो। जनावर बस्ने घरमा बित्दै गरेको काजलको कष्टकर जीवनशैली जहाँ टिलटिल मधुरो बत्ती बलिरहेको छ तर म जान सकिनँ। गोठ तिरै हेरिरहेँ। हेर्दाहेर्दै टोलाइसकेछु। यत्तिकैमा बाबुको मुखबाट आवाज आयो, ’यसलाई बैँस चढेको छ, अब बिहे गर्दिने हो, बाहिर सरेकी छ।’
यो दृश्य र बाबुको कुराले मलाई आजभन्दा दश वर्ष अघिको आफ्नै घर भित्रको लुकेर रहेको कथा झस्काइदियो।

त्यस दिन बुबाले गोठमा मकैको डाँठ र बाँसको सहायताले खुला भागलाई छोप्दै हुनुन्थ्यो। ’बुबा, के गर्नु भएको?’ मेरो प्रश्न थियो।’दिदीलाई घर बनाइदिएको, केही दिन दिदी अब यही बस्ने हो।’

त्यस दिनपछि न त मैले दिदीलाई देखेँ न दिदीले मलाई नै। नजरबन्दमा परेकी दिदीलाई भेट्न तलमाथि घरका दिदीबहिनीसँग म पनि जाने प्रयास गर्थें तर कहिल्यै पाइनँ। ’यसबेला तिमी दिदीसँग देखिएमा पाप लाग्छ’ भन्दै भेट्नबाट वञ्चित हुन्थेँ।

बिहानी पखको घामको किरणदेखि दाजुभाइ हेर्न बाहिर निस्कन पनि एक सामाजिक बन्धन लगाइएको थियो। हेर्दाहेर्दै वर्ष बिते, महिना बिते, चार दिन त गैहाल्छ, नजानु घर रिसाउँछन् छोरी, पित्री र देउता अछुतो रहँदा। महिनावारी भई नढोग्नु मन्दिर देउता भेटिन्न।

एकदिन स्कुलमा सर नआउनु भएको मौकामा हामी रमाइलो गर्दै थियौं। त्यत्तिकैमा मभन्दा अगाडि बस्ने एकजना साथी पीर मानेर बसिरहेकी थिई। उसलाई निकै गाह्रो अवस्था भएछ। ऊ जुरुक्क उठेर बाहिर गई। तर विडम्बना, सबै साथीहरू गलल्ल हाँसी आपसमा कानेखुसी गर्न लागे।

ऊ बसेको बेन्च र पाइन्ट रगतले भिजिसकेको थियो। त्यहाँ उसको दुःखमा साथ दिनेभन्दा खिल्ली उडाउने धेरै थिए। साथी लाज र डरले भुतुक्कै हुँदै आफ्नो झोलाले पाइन्टलाई छोप्दै त्यहाँबाट घरतर्फ लागिन्।

यो त एउटा घटनाका पात्र मात्र थिए। विडम्बना भनौँ आज म यति लेख्दै गर्दा पनि मलाई जन्म दिने मेरी आमा रगत्तामै भएको शरीरलाई घर भित्रकै ठूला चौकामा पवित्र मान्ने मेरो घर र समाज, तर महिनाको चार दिन सधैँ गाँस, बास, कपास अलग गराउनु परेको छ।

आमालाई पवित्र भगवान् मानिन्छ तर शब्दमा मात्र सीमित रहेछ। आमालाई महिनाको चार दिन भात अलग हुन्छ, व्यवहार फरक हुन्छ, सबै ठाँउमा अछुतो रहन्छ किनकि उहाँको पानी चल्दैन। आमाको शरीरबाट निस्कने आँसु, पसिना र रगत यी सबै पानी हुन्। रजस्वलाको रङ्ग पनि रातो नभइदिएको भए स्वीकार्य हुने थियो होला, सायद हामीलाई र काजलको परिवारलाई पनि।

मेरो मनमा काजलको कारुणीक दृश्य अवलोकल गर्नु नै थियो। नजर गोठतिर नै गयो। त्यस गोठलाई छाउगोठ वा यस अवधिमा गोठमा बस्ने प्रथालाई छाउपडी प्रथा भनिँदो रहेछ। छाउपडी भनेपछि कौतुहूलता बढेर आयो।

समाजको डर र त्रासलाई पन्छाउँदै म छाउगोठ निर पुगेर हेर्दा गुन्द्रीमाथि पछ्यौरी ओढेर, चिसोले आत्तिएझैँ गुट्मुट्टिएर सुतेकी काजललाई देखेँ। जहाँ उनी सुतेको गुन्द्री एउटा सिपाही रणमैदानमा लडिरहेको घाइतेजस्तै थियो। यो अवस्था र सामाजिक बन्धनलाई हेरेर काजलसँग कुरा गर्ने मेरो कुनै सामर्थ्य रहेन।
यो समयमा उनका बाबुलाई एउटा प्रश्न नसोधी मेरो मन मानेन, ’अङ्कल, छोरीको बैँस चढेको रजस्वला भएसँगै थाहा हुँदा छोराको बैँस चढेको कसरी थाहा पाउनु हुन्छ?’

उहाँसँग कुनै प्रश्नको जवाफ थिएन। स्याहारसुसार नहुनु, चिसोले कठ्याङ्ग्रिनु, रगत धेरै बग्नु, धेरै पेट दुख्नु, सरसफाईको कमीजस्ता कुराले त्यस राती काजल छाउपडीकै कारण हामी माझ रहन सकिनन्।

दुश्मनको नजर लागेर छोरी रगतको धारा चुहिन्छ
दूध दिदाँ खुसी हुने बाल्यापन सकिन्छ
जन्मेको घर छोडेर जान्छौ
दुःख हेर्ने दुनियाँ भेटिन्छ
फुलेकी थियौ फूल सरि तिमी, डुल्थे अनेक पुतली तिम्रै पातमा
आफै फूल सरि थियौ जब मातापिता काखमा।

बाबुआमाकै काखमा भए पनि तिमी बसेको गोठमा बगेको रगतलाई हेर्दा काजलकै शरीरबाट मात्र बगेको रगत हो भनेर ठम्याउन कठिन थियो। भगवान् को हुन? कस्ता छन्? भगवान छन्, छैनन्? यस्तै प्रश्नले भरिएको थियो मेरो मन।

रजस्वला भएकै कारण छाउगोठ बस्दा एउटी महिलाले ज्यान गुमाउँछे, मलाई यो समाजका मान्छेहरूसँग धेरै गुनासो छ। एउटी महिलाले संसारको सृष्टि गर्छिन्, भगवानले दिएको पुरुष र महिलाको उपहारलाई सहर्ष स्वीकार गर्छिन् तर मानिस भएर हामी मानिसकै पीडा र दुःख कष्टलाई बुझ्न नसक्दा आज छाउपडीकै कारण महिलाले ज्यान गुमाउनु परेको छ।

अहिलेका मानिसहरूले रजस्वला एक सन्तान उत्पादनको प्रकृया हो, बार्नु पर्दैन भन्ने चेतना भए पनि सामाजिक संस्कारलाई नकार्न नसक्दा उनीहरू पनि बार्न बाध्य भएका छन्। शिक्षाको अभावका कारण रजस्वलालाई पापसँग जोडेर छाउपडीलाई अङ्गाल्दा यस्ता घटना वर्षेनी धेरै घटिरहेका र घट्ने छन्। यस्ता प्राकृतिक वरदानको अन्धविश्वास हटाउन के भइरहेको छ त सरकार?

(–लेखक जिल्ला अस्पताल गुल्मीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत छन् ।)

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७