श्री रामको जीवन समाजले स्वीकार गरेको आदर्श आचरण

हाम्रो भारतको इतिहास विगत डेढ हजार वर्षदेखि आक्रमणकारी विरुद्धको निरन्तर संघर्षको इतिहास हो । प्रारम्भमा यस्ता आक्रमणहरूको उद्देश्य लुट्ने र कहिलेकाहीँ (जस्तै :अलेक्जेन्डरको आक्रमण) आफ्नो राज्य स्थापना गर्न यस्तो आक्रमण हुन्थे । तर इस्लामको नाममा पश्चिमाहरूले गरेको आक्रमणले समाजको पूर्ण विनाश गरेर समाजलाई एक्ल्यायो । देश र समाजलाई निरुत्साहित गर्नका लागि धार्मिकस्थल भत्काउन आवश्यक थियो, त्यसैले विदेशी आक्रमणकारीले भारतका मन्दिरहरू भत्काए । यो काम उनले एकपटक होइन बारम्बार गरे । तिनीहरूको उद्देश्य भारतीय समाजलाई निराश पार्नु थियो ताकि भारतीयहरू सदैव कमजोर बनुन र उनीहरुमाथि निर्बाध शासन गर्न सकियोस् । अयोध्याको श्रीराम मन्दिर भत्काउने काम पनि यही नियत र सोही उद्देश्यका    लागि गरिएको थियो । आक्रमणकारीहरूको यो नीति अयोध्या वा कुनै एउटा मन्दिरमा मात्र सीमित थिएन, सम्पूर्ण विश्वका लागि थियो।

भारतीय शासकहरूले कहिल्यै कसैमाथि आक्रमण गरेनन् तर विश्वका शासकहरूले आफ्नो राज्य विस्तारका लागि आक्रामक भएर यस्ता कु–कर्म गरेका छन् । तर भारतमा उनीहरुले अपेक्षा गरे अनुसारको असर भने परेको छैन । यसको ठिक विपरित भारतमा उनीहरुको आक्रमणका वावजुद भारतीय समाजको आस्था, निष्ठा र मनोबल कहिल्यै घटेको छैन, समाज झुकेको छैन । भारतीय समाजको प्रतिरोध संघर्ष जारी छ । यसै कारणले जन्मस्थल कब्जामा लिएर त्यहाँ मन्दिर निर्माण गर्ने निरन्तर प्रयास भएको थियो । उनको लागि धेरै युद्ध, संघर्ष र बलिदानहरू गरिए । र राम जन्मभूमिको मुद्दा हिन्दूहरूको मस्तिष्कमा सदा रह्यो ।

सन् १८५७ मा विदेशी शक्ति अर्थात् ब्रिटिस शक्ति विरुद्ध युद्धको योजना बन्न थालेपछि हिन्दू र मुस्लिम मिलेर ब्रिटिसविरुद्ध लड्ने तयारी गरे । यसैका लागि हिन्दु र मुस्लिमबिच विचार आदानप्रदान भयो । त्यसबेला गौ हत्या निषेध गर्ने र श्री रामजन्मभूमि मुक्तिको विषयमा मेलमिलाप हुने अवस्था सिर्जना भयो । बहादुर शाह जफरले आफ्नो घोषणापत्रमा गौ हत्यामा प्रतिबन्धको विषय पनि राखेका थिए । त्यसैले सबै समाज एकजुट भएर ब्रिटिस विरुद्ध लडे । त्यस युद्धमा भारतीयहरूले बहादुरी देखाए । तर दुर्भाग्यवश यो युद्ध असफल भयो र भारतले स्वतन्त्रता पाएन, ब्रिटिश शासन अविरल रह्यो तर राम मन्दिरको संघर्ष रोकिएन ।

अङ्ग्रेजको पहिल्यैदेखि चलिआएको ‘डिभाइड एण्ड रुल’ नीति अनुसार हिन्दू मुस्लिमहरूबीच फाटो ल्याउन खोजियो, र यो देशको प्रकृति अनुसार यो विषय झन् झन् कडा हुँदै गयो । एकता तोड्नका लागि अंग्रेजहरूले संघर्षका नायकहरूलाई अयोध्यामा फाँसी दिए र रामजन्मभूमिको मुक्तिको प्रश्न उस्तै रह्यो । राम मन्दिरको लागि संघर्ष जारी रह्यो ।
सन् १९४७ मा देश स्वतन्त्र भएपछि सोमनाथ मन्दिरको सर्वसम्मतिले जीर्णोद्धार भएपछि त्यस्ता अरु मन्दिरको चर्चा सुरु भयो । रामजन्मभूमि मुक्तिको सन्दर्भमा यस्तै सर्वसम्मती हुन सक्थ्यो तर राजनीतिको दिशा बदलियो । भेदभाव र तुष्टीकरण जस्ता स्वार्थी राजनीति प्रचलनमा आउन थालेपछि रामजन्मभूमि मुक्तिको प्रश्न यथावत रह्यो ।
सरकारले यस विषयमा हिन्दू समाजको चाहना र भावनालाई पनि ध्यान दिएन । बरु, समाजले गरेको पहललाई ध्वस्त पार्न खोज्यो । स्वतन्त्रतापूर्वदेखि नै चल्दै आएको यस विषयका सम्बन्धमा कानुनी लडाइँ जारी रह्यो । रामजन्मभूमि मुक्तिको जनआन्दोलन सन् १९८० को दशकमा सुरु भएको थियो र तीस वर्षसम्म चलेको थियो ।

सन् १९४९ मा रामजन्मभूमिमा भगवान श्री रामचन्द्रको मूर्ति देखापरेको थियो । सन् १९८६ मा अदालतको आदेशमा मन्दिरको ताला खोलिएको थियो । त्यसपछिका वर्षमा पनि हिन्दू समाजको निरन्तर सङ्घर्ष अनेक अभियान र कारसेवाद्वारा रामजन्मभूमि मुक्तिको काम जारी रह्यो । २०१० मा, स्पष्ट रुपमा इलाहाबाद उच्च अदालतको निर्णय समाजको अगाडि आयो । त्यसपछि जतिसक्दो चाँडो अन्तिम निर्णय गरेर यो समस्या समाधान गर्न थप जोड दिनुप¥यो । १३४ वर्षको कानुनी संघर्षपछि २०१९ नोभेम्बर ९ मा सर्वोच्च अदालतले सत्यतथ्य छानबिन गरी सन्तुलित निर्णय ग¥यो । सर्वोच्च अदालतको निर्णयमा दुवै पक्षको भावना र तथ्यलाई पनि विचार गरिएको छ । अदालतमा सबै पक्षको बहस सुनेपछि यो निर्णय गरिएको हो । यही निर्णयअनुसार मन्दिर निर्माणका लागि ट्रस्टीको बोर्ड गठन गरियो । मन्दिरको भूमिपूजन ५ अगस्ट २०२० मा भएको थियो र अहिले पौष शुक्ल द्वादशी युगाब्द ५१२५ तदानुसार २२ जनवरी २०२४ मा श्री रामललाको मूर्तिको स्थापना र प्राण प्रतिष्ठा समारोह आयोजना गरिएको छ ।

धार्मिक दृष्टिकोणले श्री राम बहुसंख्यक समाजका पूजनीय देवता हुन् र श्री रामचन्द्रको जीवन आज पनि सम्पूर्ण समाजले स्वीकार गरेको आचरणको आदर्श हो ।
त्यसैले अब प्रतिपक्ष र दलहरूबीच उठेको अनावश्यक विवादको अन्त्य हुनुपर्छ । यसबीचमा उत्पन्न भएको तिक्तता पनि अन्त्य हुनुपर्छ । समाजका विवेकशील व्यक्तिहरूले विवाद पूर्ण रूपमा समाप्त भएको देख्नुपर्छ । अयोध्याको अर्थ ‘जहाँ युद्ध छैन’, ‘द्वन्द्वमुक्त ठाउँ’, हो । यस कारणले गर्दा अयोध्याको पुनर्निर्माण सम्पूर्ण देशको आजको आवश्यकता हो र यो हामी सबैको कर्तव्य पनि हो ।

अयोध्यामा श्री राम मन्दिर निर्माणको अवसर राष्ट्रिय गौरवको पुनर्जागरण हो । यो आधुनिक भारतीय समाजद्धारा भारतीय दृष्टिकोण, सम्मान, जीवनको स्वीकृति हो । भगवान श्रीरामको मन्दिरमा ‘पत्रम् पुष्पम फलम् तोयम्’ विधिले पूजा गर्ने र मनमा रामको स्थापना गरी मन्दिरको प्रकाशमा आदर्श आचरण अपनाएर भगवान श्रीरामको पूजा गर्नुपर्छ किनभने “शिवो भूत्वा शिवम् भजेत् रामो भूत्वा राम भजेत् ।’’ अर्थात यसैलाई साँचो पूजा भनिन्छ ।

यस दृष्टिकोणबाट सोच्ने हो भने भारतीय संस्कृतिको सामाजिक प्रकृति अनुसार –
मातृवत् परदारेषु, परद्रव्येषु लोष्ठत्व् ।
आत्मवत् सर्वभूतेषु, यः पश्यति सह पण्डितः।
हामी पनि श्रीरामको मार्गमा लाग्नुपर्छ ।
जीवनमा इमानदारी, शक्ति र बहादुरी सहित क्षमा, विनम्रता र नम्रता, र कर्तव्य पालनमा आफूप्रति कठोरता जस्तो श्रीरामका गुणहरू सबैले आफ्नो जीवन र परिवारमा अनुकरण गर्नुपर्छ । यसलाई सबैको जीवनमा ल्याउन इमानदारी, समर्पण र मेहनतका साथ लाग्नुपर्छ ।

हाम्रो राष्ट्रिय जीवनलाई ध्यानमा राखेर सामाजिक जीवनमा पनि अनुशासन कायम गर्नुपर्छ । हामी जान्दछौं कि श्रीराम–लक्ष्मणले आफ्नो १२ वर्षको वनवास पूरा गरेका थिए र शक्तिशाली रावणसँग अनुशासनको बलमा सफल युद्ध गरेका थिए । श्रीरामको चरित्रमा झल्किने न्याय, करुणा, सद्भाव, निष्पक्षता,सामाजिक सद्गुणहरूले, शोषणरहित समान न्यायमा आधारित पुरुषार्थी समाजको निर्माण गर्न सकिन्छ । यही नै श्रीरामको चरित्र हो । हामीले यसो गर्न सकेमा यही नै श्री रामको पूजा हुनेछ।

अहंकार, स्वार्थ र भेदभावका कारण यो संसार विनाशको उन्मादमा छ । आफैंमा अनन्त विपत्तिहरू ल्याइरहेको छ । सद्भाव, एकता, प्रगति र शान्तिको मार्ग देखाउने जगदाभिराम भारतवर्षको पुनर्निर्माणको सर्वोपकारी र ‘सर्वश्राम अविरोधी’ अभियान रामजन्मभूमिमा श्रीराम लल्लाको प्रवेश र उहाँको जीवन अभिषेकसँगै शुरु हुन लागेको हो ।
हामी यो अभियानको सक्रिय कार्यान्वयनकर्ता हौं । २२ जनवरीको भक्तिमय पर्वमा हामी सबैले मन्दिरको पुनर्निर्माणका साथै भारतको पुनर्निर्माणलाई पूरा गर्ने संकल्प गरेका छौं । यो भावनालाई हृदयमा स्थापित गरेर अगाडि बढ्नुहोस्…..

जय सियाराम ।

डा. मोहन भागवत –सरसंघचालक, राष्ट्रिय स्वयंसेवक संघ
(राष्ट्रिय स्वयं सेवक संघको वेवसाईटमा प्रकाशित यो समाग्रि भुपेन्द्र क्षेत्रीले नेपाली भाषामा अनुवाद गरेका हुन् । )

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१