यो सरकारलाई तलमाथि पार्न कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैन : ओली

  • कांग्रेसमाथि गरे यस्तो ब्यंग्य
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न खोज्नु जनताको पक्षमा नहुने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशमा कुनै वैकल्पिक शक्ति नभएको जिकिर पनि गरे ।

    ओलीले भने, ‘देशको विकास र सुशासन चाहिएको छ । त्यही काम अहिलेको सरकारले गर्छ । सकारात्मक सरकार बनेको छ । यो सरकारलाई तलमाथि पार्न कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा छैन ।’

    उनले राम्रो काम गरेको दृष्टान्त भएको कुनै वैकल्पिक शक्ति अहिले देशमा नभएको दाबी गरे ।

    ओलीले भने, ‘हामीले यो गरेका छौं । हाम्रो नीति र व्यवहार यो छ । यसमा हामी उत्कृष्ट छौं भन्ने अर्को कुनै दल छैन ।’

    बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री र राष्ट्रपतिमा आफूबाहेक अरुको नेतृत्वलाई स्वीकार्न नसकेर प्रतिपक्षमा पुगिसकेको कांग्रेसले सरकार गठन भइसकेपछि हठात् रूपमा विश्वासको मत दिएको बताए ।

    उनले भने, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचोला खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ ।’

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१