
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।
ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको दाबी पनि गरे । ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो पर्यो मलाई के-के पर्यो दबाब पर्यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार नै हामीलाई भोट हाल्नुहुन्छ भन्ने लगभग यकिन छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ,’ उनले भने ।
नेकपा एमालेले पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ ।