
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।
मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको आराेप लगाए ।
स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावीसमेत गरे ।
अध्यक्ष ओलीले भने, ‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो । जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय ।’
अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए । ओलीले भने, ‘यो एउटा बुहतै खतरनाक कुरा हो । अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसराम छैन ।’
ओलीले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए । उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।