
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन सम्भव रहेको बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव हुने बताए ।
उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’
बिहीबार निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नुपर्ने बताए ।
यसअघिका राष्ट्रपतिहरु डा. रामवरण यादव र विद्या भण्डारी दुवैले राम्रो काम गरेको ओलीले बताए ।