
सन् १९८५ सम्म नेपाल एक शान्त राष्ट्र थियो । सन् १९८५ भन्दा अघिका वर्षहरूमा नेपाल निर्वाहमुखी अर्थतन्त्रको साथ प्रायः कृषिप्रधान राष्ट्रको रूपमा रह्यो । राष्ट्रको अर्थतन्त्र कृषिमा निर्भर थियो । जसमा धान, मकै, गहुँ र अन्य बालीहरू प्रयोग गरिन्थ्यो । सन् १९८० काे दशकमा नेपाल आर्थिक आधारमा विविधतातर्फ धकेलियाे । कृषिकाे साथसाथै पर्यटन, उद्याेगलगायतका आर्थिक आधार विस्तारमा नेपाल अगाडि बढ्याे ।
तर, सन् २००६ देखि नेपालको राजनीतिक अवस्था जटिल र अस्थिर हुन थाल्याे । त्यसबेलादेखि मुलुक अहिलेसम्म राजनीतिक स्थायित्व र भ्रष्टाचारसँग जोडिएका समस्यासँग जुधिरहेको छ । राजनीतिज्ञहरू आफ्नो स्वार्थका लागि मात्र काम गरिरहेकाे देखिन्छ ।
राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धि र आर्थिक विकासमा नकारात्मक प्रभाव परिरहेको छ । वर्तमान संविधान जारी भएपछि राजनीतिक स्थिरताको अपेक्षा आम नागरिकले गरेका थिए, तर यो अवस्था हालका दिनमा झन् अधिक रूपमा बिग्रिन पुगेको छ । राजनीतिक स्थिरता हुने सम्भावनासमेत देखिएको छैन ।
नेपालमा उच्च शिक्षा हासिल गरेका व्यक्ति र दक्ष व्यक्तिहरूले देश छोडेर राम्रो सम्भावनाको खोजीमा विदेश पलायन हुने क्रम बढिरहेकाे छ । नेपालको ‘ब्रेन ड्रेन’को मुख्य कारण रोजगारीको अवसरको अभाव, न्यून ज्याला र उत्कृष्ट शिक्षा र तालिममा सीमित पहुँच हो । युवा पुस्तासँग महत्वपूर्ण सीप र जानकारी छ, जुन राष्ट्रमा व्यापार र रचनात्मकतालाई प्रोत्साहन गर्न प्रयोग गर्न सकिन्छ । तर, दक्ष जनशक्ति र शिक्षित युवालाई विदेश पलायन गराएर नेपालले नेपालले उनीहरूको योगदानको सम्भावित फाइदाहरू गुमाइरहेकाे छ र आगामी दिनमा पनि गुमाउने निश्चित छ ।
नेपालमा राजनीतिक दलहरू विविध र खण्डित छन्, जसका विभिन्न विचारधारा, चासाे र आफ्ना आफ्ना स्वार्थ छन् । नेपालका दुई प्रमुख दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुन् । नेपालमा अन्य केही साना दल र स्वतन्त्र राजनीतिज्ञ पनि छन् । हालको राजनीतिक प्रणाली भ्रष्ट र प्रभावहीन छ ।
राजतन्त्रले मुलुकका केही चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत पुग्ने स्थिर प्रभाव प्रदान गर्ने विश्वासका साथ केही व्यक्ति संवैधानिक राजतन्त्रमा विश्वास पनि गरिरहेका छन् । पछिल्लाे समयमा दलीय भागवण्डा र स्वार्थकेन्द्रीत नेपालकाे राजनीतिबाट दिक्क भएका केही जमात राष्ट्रमा राजाको पुन: स्थापना होस् भन्ने पनि चाहिरहेका छन् ।
राजनीतिक नेताहरूका गल्तीकाे परिणाम आम जनताले बेहोर्नुपर्छ । राजनीतिज्ञहरू प्रसिद्धि र सत्ताको पछि मात्र दौडिरहेका छन् । आम नागरिक भने सिटामाेलकाे अभावमा ज्यान गुमाइरहेका छन् । कृषिका लागि आवश्यक सामग्री जुटाउन सकिरहेका छैनन् । किताब कापी किन्न नसकेर अधिकांश बालबालिका शिक्षाकाे पहुँचबाट बञ्चित भइरहेका छन् । राजनीतिक खिचातानीका कारण राज्यका बहुमूल्य सम्पत्ति विदेशीका नाममा बेचिइरहेकाे छ । देशका जनता प्रतिदिन कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
नेपालमा दरबार हत्याकाण्ड भयाे । शाही नरसंहारकाे अपराधि अझै पत्ता लाग्न सकेकाे छैन । नेपालमा पुन: राजसंस्था फर्काउने चर्चा छ । पुन: राजाकाे राज्याभिषेकपछि दरबार हत्याकाण्ड दाेहाेरियाे भने, यसका लागि काे जिम्मेवार ? याे अपराधकाे दाेषी विदेशीहरु हुन् ? विरेन्द्रकाे वंश नाश हुनुमा परिवारकाे दाेष थियाे या विदेशीकाे ?

राजा विरेन्द्रकाे परिवार ।
मदन भण्डारीकाे हत्या किन र कसले गर्याे किन खाेजी भइरहेकाे छैन ? अहिलेका राजनीतिज्ञहरु यसकाे खाेजी गरिरहेका छैनन् । भण्डारीकी पत्नी विद्या भण्डारी दुई कार्यकाल राष्ट्रपति भइन् तर उनले याे विषयमा खाेजी गरिनन् । उनी पनी आफ्नाे लाभकाे लागिमात्र पदमा आसिन भइन् । उनले यस विषयमा खाेजी गर्नुपर्थ्याे । तर दूर्भाग्य त्याे हुन सकेन । सरकारी पद भर्ने र आफ्नाे लाभकाे राजनीतिभन्दा माथि नेपालका राजनीतिज्ञहरु उठ्न सकेका छैनन् । नागरिकका समस्या बुझ्न सकेका छैनन् । यी माथि उल्लेखित प्रश्नकाे जवाफ नखाेजी देशमा राजनीतिक स्थायित्व र राजाकाे पुनर्स्थापनाकाे कुनै अर्थ छैन ।
नेपालको वर्तमान अवस्था हेर्दा श्रीलंका, अफगानिस्तान वा युक्रेन जस्तो हुन समय लाग्दैन । आर्थिक अवस्थामा पछिल्लाे समय श्रीलंका खस्किरहँदा नेपाल पनि यही बाटाेमा रहेकाे हिँडिरहेकाे अभिव्यक्ति अहिलेका कतिपय राजनीतिज्ञले भनिरहेका छन् । अमेरिकाले सहयोगको वाहानामा नेपालले दिएको स्रोत साधनको फाइदा उठाउने र आर्थिक फाइदा लिन खोजिरहेको छ । चीनले अमेरिकामाथि आक्रमण गरे निर्दोष नेपाली नागरिकको बिनाकारण ज्यान जाने निश्चित छ ।
पछिल्लो परिस्थितिले हाम्रो छिमेक सम्बन्धमा गम्भीर पुनर्विचारको आवश्यकता देखाएकाे छ । हामी समान एवं सन्तुलिन छिमेकी नीति भनिरहेका छाैँ । तर हाम्रा छिमेकीको हामीप्रतिको व्यवहार उत्तिकै सन्तुलित, संयमित र समान नरहेको प्रस्ट छ । विश्वासवाद र विस्तारवादका परस्पर असमान चरित्र यदाकदा सतहसम्म खुलिरहेकाे देखिन्छ । आत्मीयता र अहमताका छालहरू छचल्किरहेका छन् ।
कतिपय युद्धहरूमा शक्ति केन्द्रहरूले अविकसित देशहरूबाट सैन्यदस्ता करार गराई अरूका नागरिक हताहती गरेको नजिर छ । प्रथम र दोस्रो विश्वयुद्धलगायत अन्य युद्धमा नेपालीहरू यसैगरी कत्लेआम गरिएका छन् । अहिले पनि संसारका थुप्रै देशमा विभिन्न रेजिमेन्टको नाममा नेपाली युवालाई सेनामा भर्ती गराइन्छ । उनीहरूको प्रयोग हुन सक्नेमा चनाखो बन्नु जरुरी छ ।
विदेशी देशसँगकाे सम्बन्धमा सरकारले सम्पादन गरेका कतिपय व्यवहार अनि विचारका कारण संकटको भुँमरी प्रष्ट देखिएकाे छ । ताइवानको विषयलाई आवरणमा राखेर चीन र अमेरिकाको भिडन्त हुन सक्ने अनुमान पनि गरिन्छ । नेपाल त्यस्तो संग्राम मैदान बन्ने खतरामा रहेको भन्नेहरू पनि छन् । त्यसमा सरकार पूर्णरुपमा चनाखाे रहन अत्यन्त आवश्यक छ ।

अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)काे विराेधमा नयाँ बानेश्वर क्षेत्रमा भएकाे विराेध प्रदर्शन ।
तर, बिडम्बना नेपालका राजनीतिज्ञहरु सत्ताका लागि देश बेच्न पनि तयार छन् । उनीहरुकाे विगत र वर्तमानकाे क्रियाकलाप हेर्दा त्याे देखिन्छ पनि । पछिल्लाे समय नेपालमाथि अमेरिकाकाे चासाे बढिरहेकाे छ । अमेरिकीहरूले विगतमा धेरै राष्ट्रहरूसँग सहकार्य गरेकाे छ । अमेरिकाले सहकार्य गरेका देश, अमेरिकी सहयाेग प्राप्त देशहरु डरलाग्दाे अवस्थामा समाप्त भएकाे विगत पनि हामीलाई थाहा छ । गरिब देशहरूले अमेरिकाले गरेको आर्थिक प्रस्तावलाई स्वीकार गर्छन् र गहिरो दलदलमा फस्छन् ।
नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित देश हो, जसको सीमा दुई शक्तिशाली राष्ट्रहरू- दक्षिण, पूर्व र पश्चिममा भारत र उत्तरमा चीन छन् । अमेरिकाले चीनलाई आर्थिक रूपमा आफूभन्दा शक्तिशाली देख्न सक्दैन । चीनमाथि प्रत्यक्ष आक्रमण गर्न नसकेर नेपाललाई सजिलै आफ्नो पक्षमा पार्न सक्ने भएकाले नेपालको अवस्था युक्रेनजस्तो हुने अवस्था आउन सक्छ । यसको एउटा प्रमुख कारण भनेको नेपालको राजनीतिज्ञ जेलेन्स्कीजस्ता छन्, जो पश्चिमाहरूबाट सजिलै प्रभावित हुन्छन् । समग्र देशकाे प्रणालीमा सजिलै प्रभाव पार्नको लागि अमेरिकाले राष्ट्रलाई राजनीतिक रूपमा कमजोर पारी आफूमाथि अति निर्भर बनाउँदैछ । यसलाई युनाइटेड किङडमद्वारा ‘व्यापारिक उद्देश्यका लागि’ भारतमा स्थापना भएको ब्रिटिश कम्पनीसँग तुलना गर्न सकिन्छ ।
नेपाल आफ्नो मौलिक लक्ष्यबाट भड्केको र अहिले गलत दिशामा गइरहेको महसुस म स्वयमले गरिरहेकाे छु । राजनीतिक दलहरूले जे गरे पनि स्वार्थबाट प्रेरित हुन्छन् । उनीहरुले देशकाे विकास र नागरिककाे चहानाभन्दा पनि आफ्नो आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेका छन् । सरकारी कामको नाममा गोजी भर्ने र सिट तातो राख्ने काम मात्रै गरिरहेका छन् । उच्च पदका लागि राष्ट्रको सार्वभौमसत्ता बेच्न तयार छन् । नेपालका राजनीतिज्ञहरूले पदमा नहुँदा ठूला-ठूला कुरा गर्ने तर सत्तामा पुगेपछि उस्तै व्यवहार देखाउने गरिरहेका छन् ।
नेपालका राजनीतिज्ञ, उच्च पदस्थ कर्मचारी र आम नागरिक सबैले बुझ्नुपर्ने कुरा के हाे भने, मृत्यु अपरिहार्य छ । कुनै व्यक्तिले देशका लागि के याेगदान गर्याे, समाजमा के योगदान गर्याे, भन्ने कुरा आफ्नाे माैलिक पहिचान जाेगिएपछिमात्र थाहा हुन्छ । भविष्यमा तपाईंलाई तपाईंको पदको लागिभन्दा तपाईंले गरेको कामको लागि मानिसहरुले धेरै सम्झनेछन् । तसर्थ, सबैले अलिकति कम आत्मकेन्द्रित भएर आफ्नो व्यक्तिगत उन्नति भन्दा राष्ट्रको विकासमा लाग्ने प्रयास गर्नु अहिलेकाे आवश्यकता छ । समृद्ध नेपालकाे परिकल्पना भएकाे जुझारु राजनीतिज्ञ खाँचाे नेपालकाे राजनीतिमा देखिएकाे छ ।

कीभमा भत्किएको अपार्टमेन्ट भवनको भग्नावशेषको निरीक्षणमा युक्रेनका सैनिक । Photo:Fadel Senna|Afp|Getty Images