
आम जनतामा असन्तुष्टि बढेको छ । यसका अनेकन् कारणहरू छन् । प्रमुख सुशासनको अभाव हो । ठूला–ठूला सपनाका कुरा गर्दै गर्दा यथार्थमा जनताले सामान्य प्रशासनिक सेवा पनि सहज तवरले पाउन सकेका छैनन् । यही प्रशासनलाई सुधार गर्न सके ठूलो कुरा हुन्थ्यो । यस सँगसँगै अर्को भनेको महँगीको समस्या हो । पहिलेभन्दा आम्दानी बढेको त छ तर विश्व बजारको तुलनामा हाम्रो आयआर्जन न्यून छ । आयात गरेर उपभोग गर्नु पर्ने छ । झन् पछिल्लो समयमा सबै कुरा महँगो भएको छ । सुलभ र गुणस्तरीय शिक्षा तथा स्वास्थ्यमाथिको पहुँचका सन्दर्भमा निराशाजनक अवस्था छ । सन्तानको भविष्यका बारेमा समेत आशावादी हुन सक्ने स्थिति छैन । यसै कारण विदेश जान सक्ने जति प्रायः सबै आफ्नो क्षमता र अवसर अनुसार जान तयार छ । एक अर्थमा विदेश जान पाउने अवसरका कारण नै अहिले राज्य चलेको देखिन्छ । यद्यपि, यसको उत्पन्न गरेको मानव श्रोतको अभाव तथा सामाजिक मनोविज्ञानमाथिको नकारात्मक प्रभावका कारण समाज असन्तुष्ट बनेको छ ।
अहिलेसम्मको आन्तरिक राजनीति पूर्णतः निराशाजनक होइन । यद्यपि, सत्ता सञ्चालकहरूप्रति बढ्दै गएको अविश्वासका कारण व्यवस्था विरोधी शक्तिहरूले यस सङ्कटलाई आफू अनुकूल बनाउन सक्रिय प्रयास थालेका छन् । अवश्य पनि व्यवस्था ढलाए पछि उनीहरू नै आपसमा लड्न सुरु गर्ने छन् । उनीहरूको चरित्र इतिहासमा हामी सबैले देखेको, भोगेको, पढेको कुरा हो तर अहिले संविधानको विरोध गर्ने स्वार्थका कारण नै एकबद्ध भएका छन् । अनेक अवैज्ञानिक, रूढीगत तथा पहिचानवादका भ्रमहरू समाजमा फैलाउने प्रयासहरू भएका छन् । धार्मिक, जातीय तथा क्षेत्रीय अन्धतालाई बढवा दिँदै समाजमा भय सिर्जना गर्ने कामहरू पनि भएका छन् । उनीहरूसँग जनतालाई आकर्षित गर्ने कुनै मुद्दा नभए पनि दक्षिणतिरबाट जोडतोडले बहेको मध्य युगीन अन्धता र हाम्रो मुलुकको आफ्नै विशिष्ट भूराजनीतिका कारण पनि लोकतान्त्रिक व्यवस्थालाई अप्ठेरो पर्न सक्ने प्रस्ट सङ्केतहरू देखिएका छन् ।
लोकतन्त्रको नाममा चलिरहेको दल तन्त्र वा दलीय सिन्डिकेटले लोकतन्त्रलाई नै बदनाम गराएको छ । यो सिन्डिकेट तोडेर लोकतन्त्रको अभ्यास गर्न देशले नसक्दा जनतामा आक्रोश पनि उत्पन्न भएको छ । सत्ता सञ्चालकहरूबाट वाक्क भएका जनताले चुनावबाट पनि उनीहरूलाई हटाउन नसके पछि व्यवस्था नै हटाउन समेत तयार हुने राजनीतिक मनोविज्ञान निर्माण भएको छ । दलहरूले आफ्ना लागि मात्र लोकतन्त्र तर अरूका लागि पुरानै हुकुमी तन्त्रको रवैया सच्चाउन नसक्दा आम मानिसलाई सामन्ती व्यवस्था र यस व्यवस्थामा अन्तर नै नरहेको जस्तो अनुभूति भएको छ । यो अनुभूतिलाई विवेकले भन्दा बढी आक्रोशले प्रभावित गरेको किन नहोस् यसले राजनीतिक शक्ति प्राप्त गर्दै गएको छ । निराशामा जनताले पनि होस गुमाउन सक्ने खतरा बढ्दै गएको छ ।
केही व्यक्तिले दल कब्जा गर्ने र तिनै व्यक्तिले बहुदलका नाममा सत्ता कब्जा गर्ने परिस्थितिको अन्त्य गर्न सकिएको छैन । भ्रष्टाचार व्यवस्थाको अभिन्न अङ्ग भएको छ । यस अवस्थाले लोकतान्त्रिक संस्कारको निर्माण गर्न नसकिएको हो कि भन्ने प्रश्न उब्जाएको छ । यसका साथसाथै पुरानो ‘राजा’, ‘महामानव’ अथवा ‘हिरो’ खोज्ने सामाजिक मानसिकताले बल पाएको छ । यो मानसिकताले प्रणालीको महत्वलाई नजरअन्दाज गर्दै व्यक्तिको सर्वोच्चतालाई नै स्थापित गर्दछ । हो, प्रणाली स्थापना गर्नका लागि मात्रै होइन त्यो सञ्चालन गर्नका लागि पनि नेतृत्व त चाहिन्छ नै । यसको मतलब ल नेतृत्वको गतिशीलता र जनसहभागिताको सुनिश्चिततामा सम्झौता गर्नु होइन । लोकतन्त्र भनेकै यी मूल्य र मान्यताद्वारा सञ्चालन गरिने राजनीतिक परिपाटी हो ।
अहिले देशमा नयाँ राजनीतिक शक्तिहरू पनि उदाएका छन् । पुराना पार्टीहरूभित्र पनि नयाँले महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । दक्षिण पन्थले पनि नयाँ नेतृत्वलाई स्वीकार गरेको छ । यसको मतलब हो जनताले नेतृत्व परिवर्तन खोजेका छन्, व्यवस्था होइन । मौजुदा नेतृत्वले मौका पायो । आफ्नो ठाउँबाट गर्यो अब गर्ने अपेक्षा छैन । अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार नयाँ गर्ने हो भन्दा कसैले पत्याएका छैनन् । उनी प्रधानमन्त्री बनी राख्नका लागि कार्यकालको महत्त्वपूर्ण समय बिताए । बाँकी समयमा पनि कहीँ उल्लेखनीय हुने सङ्केत देखिँदैन । त्यस कारण पुरानो पुस्ताले वैधता नै गुमाएको अवस्था छ । उनीहरू पार्टीको सिन्डिकेटका बलमा मात्रै टिकिरहेका छन् । यो अब केही वर्ष मात्रै हो । वास्तवमा राजनीति नयाँ पुस्ताको काँधमा पुगिसकेको छ ।
आम सञ्चार माध्यममा हेर्दा पनि थाहा हुन्छ मानिसको रुचि नयाँ नेतृत्वमा सरेको छ । काँग्रेस महामन्त्री गगन थापाले उप–निर्वाचन जिताउने जिम्मेवारी पाए । तनहुँ गएर चुनावी भाषणमा हामी ढुङ्गा खाएर लोकतन्त्रका लागि लडेको हो भने । स्वर्णिम वाग्लेप्रति सङ्केत गर्दै पार्टी सुधार गर्न नसकेर गएको भने । उनले सैद्धान्तिक रूपमा वाग्लेको वा राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गर्नु पर्ने थियो । वाग्ले नेपाली काँग्रेसमा के कारण बसेनन् ? उनी जस्ता व्यक्तिलाई पार्टीमा अवसर दिन किन सकिएन ? अथवा, वाग्ले लागेको पार्टीमा लोकतन्त्रको कस्तो अभ्यास भएको छ ? यतातर्फ थापाको भाषणले बहसको सिर्जना गर्नु पर्ने तर गरेन । वास्तवमा उनको प्रस्तुतिले न त नेपाली काँग्रेसमा रहेको तदर्थतावादमाथि दबाब सिर्जना गर्यो न त ‘रविको पार्टी’ सुधार गर्नका लागि आलोचनात्मक भूमिका नै खेल्यो । मात्र वाग्ले अवसरवादी हुन् भन्ने कुरा थापाले स्थापित गर्न खोजे भने रास्वपा समर्थकले थापाले ढुङ्गा हानेको ब्याज खान खोजे भन्ने व्याख्या गरे । वाग्लेको प्रतिरक्षात्मक उत्तर पनि सकारात्मक छैन । उनले नेपाली काँग्रेसले अवसर दिएन त भनेका छन् तर कसरी पार्टीलाई सुधार गर्ने भन्ने विचार दिन सकेनन् । त्यो विचार त रास्वपालाई पनि जरुरी देखिइसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजूलाई दोष लगाएर गए । उनले रास्वपाको लोकतन्त्र मन परेर आएको भन्न पनि सकेनन् । मात्र रविको प्रशंसा गरे । थापाले टुरिस्ट उम्मेदवार भनेर निम्छरो आलोचना गरे भने वाग्ले आफूले संविधानले दिएको अधिकार प्रयोग गरेको हो भन्दै गिज्याउने काम भयो भने ।
समयले यस लोकतान्त्रिक व्यवस्था बचाउने र त्यसका लागि नेतृत्वदायी भूमिका खेल्ने स्थानमा थापा र लामिछानेलाई पुर्याएको छ । अरू नयाँ अनुहारहरू पनि छन् । उदाउँदै पनि छन् । यद्यपि, कम्तीमा अर्को चुनावसम्मका लागि यी दुईको भूमिका महत्त्वपूर्ण छ । उनीहरूका बीचमा हुनु पर्ने सहकार्य नै हो । त्यो सहकार्य एक अर्काले चुनाव जित्नका लागि मात्रै होइन भ्रष्टाचार तथा महँगी नियन्त्रणजस्ता मुद्दाहरूमा हुनुपर्ने हो । मुद्दामा आधारित प्रतिस्पर्धा झनै स्वागतयोग्य कुरा हो । त्यसको विपरीत उनीहरूमा देखिएको भय र एक अर्कालाई सहकर्मीभन्दा पनि सत्ताको प्रतिस्पर्धीका रूपमा मात्रै हेर्दा समस्या उत्पन्न हुने देखिएको छ । यो पछिल्लो परिस्थितिसँगै रास्वपा समर्थक तथा गगन थापा समर्थकहरू बीचमा अनर्गल प्रचार गर्ने, एक अर्कालाई विवादित गर्ने र बदनामीका अभियान नै चलाउने गैर लोकतान्त्रिक कामहरू भइरहेका छन् । यो कुरा बुझ्न जरुरी छ कि व्यवस्था विरोधीहरू यही चाहन्छन् । थापा र लामिछानेमा अधिकांशको आशा जीवित छ । अबको लोकतन्त्र तथा विकासको आन्दोलनमा यी नेताहरू हातेमालो गरून् वा सिर्जनात्मक प्रतिस्पर्धा गरून् त्यो देशका लागि आवश्यक छ । यदि सुधार गर्न नसके राजनीतिलाई अझै विकृत बनाउने दिशामा पक्कै पनि लग्ने छैनन् भन्ने अपेक्षा छ ।