‘शिक्षकहरुको सहयोगबिना हामी सांसद बन्न सक्दैनौं’

नेपालका विद्यालयमा सबभन्दा ठूलाे समस्या पूर्वाधारका छन् । विद्यालय पूर्वाधारको कुरामा म २०७४ सालदेखि २०७९ सालसम्म गण्डकी प्रदेशको तनहुँ १ पहाडी क्षेत्रबाट प्रतिनिधित्व गर्थेँ । अहिले म मधेश प्रदेशको बारा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यको रुपमा छु । दुवैतिरकाे स्थिति हेर्दा म गाउँ–गाउँमा जाँदा मधेशको गाउँमा यस्तो विजोग छ कि पूर्वाधार नै छैन । कक्षा कोठामा एउटा विद्यार्थीलाई कति स्क्वाइर फिट चाहिने हो ? त्यस अनुसारकाे पूर्वाधारमा हामीकाेमा छैन ।

शिक्षा सुधार गर्नका लागि सबैभन्दा पहिले आरामले विद्यार्थीहरु पढ्ने वातावरण बन्नुपर्छ । अहिले पनि विद्यार्थीहरु कतै आँपको बगैँचामा पढ्या छन् कतै खरको छानामुनि पढ्या छन् । यो विशेषगरि मन्त्री ज्यूलाई अनुरोध गर्न चाहान्छु । हुन त अहिले ठ्याक्कै विद्यालय भवन बनाउन, पूर्वाधार बनाउन बजेट छ जस्तो लाग्दैन । तै पनि अहिले नयाँ सरकार बनेको छ । मागेरै भए पनि यो पूर्वाधारको विषयमा गम्भीर रुपले लाग्नका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।

विशेषगरी पहाडी क्षेत्रमा अहिले बसाइँसराइ बढ्दाे छ । वैदेशिक यात्रामा युवा–युवतीहरु व्यापक गएका छन् । विदेश गइसकेपछि दुई चार पैसा कमाउने भए, बालबच्चा पढाउने निहुँले बजार केन्द्रित बसाइँसराइ भइरहेकाे छ ।
गाउँमा खेतीपाति पनि गर्न छाडे । यसले विकृती पनि भएको छ । अन्यथा मैले भन्न खोजेको हैन । गाउँ रित्तिँदो छ । अनि गाउँका भवनहरु अल्पत्र छन् । बजारमा निजी विद्यालयदेखि बजारका सरकारी विद्यालयहरुमा चाप बढेको छ । त्यसकारणले यसमा पनि विशेष ध्यान दिन म अनुरोध गर्न चाहन्छु ।

अर्काे कुरा, एउटा नेपाल अधिराज्यभरिमा एउटा बुढानिलकण्ठ स्कुल छ । बुढानिलकण्ठ स्कुलमा पढ्ने भनेपछि असाध्यै राम्रो भयो। तर हामीले यो पनि हेरौँ, बुढानिलकण्ठ स्कुलमा पढाउने शिक्षक शिक्षिकाकाकाे सेवासुविधा कति छ ? त्यहाँ लाखौँ रुपैयाँसम्म तलब खान्छन् । भनेपछि त्यस्तै विद्यालय कमसेकम नमुनाको रुपमा हाम्रो सबै नेपालभरिको सबै जिल्लामा कम्तीमा एक–एक वटा सुरुवात गरिहालौँ । बुढानिलकण्ठ विद्यालय जस्तो प्रत्येक जिल्लामा नमुनाको रुपमा सुरुवात गर्नुपर्छ जस्तो लाग्छ । यो शैक्षिक क्षेत्र सुधार्नका लागि । यो सरकारले गरोस् समितिले पनि निर्देशन दिओस् ।

अब यहाँ अर्काे के समस्या छ भने प्राइभेट भनम बोर्डिङ् स्कुलमा पढ्ने इङ्लिस अलिकति पढ्न जानेपछि इङ्लिस राम्रो बोलेपछि एकदमै विद्धान हुने । तर हाम्रो बुवा बाजेहरु चार कक्षामा पढेको र हामी अहिलेको पुस्ताले डिग्री पढेको हिसावले हेर्ने हो भने सामाजिक हिसावलेलगायत अरु हिसावले हेर्ने हो भने त्यो चार कक्षामा पढेको हाम्रो बुवा बाजेहरु धेरै वुद्धिमानी हो कि भन्ने देखिएकाे छ ।

हुन त अहिले संसदमा इङ्लिस र विदेशी उदाहरण दिएपछि विद्धान सांसद भएको देखिया छ हामीले । इङ्लिस बोलेपछि एकदमै राम्रो हुने जस्तो एउटा फेशनकै रुपमा गा’काे छ । र अर्काे कुरा विशेषगरी, यो अहिले राजनीतिक दलमा आवद्ध हुन नहुने या भनाैँ न राजनीति गर्न नपाउने शिक्षकहरुले भनेर हामीले ठूल्ठुला कुरा गरेका छौँ । अब यहाँ शिक्षकहरुले राजनीति गर्न नपाउने र अलि कडाइ गर्ने कुरा गर्ने हाे भने अर्काे पटक चुनाव लड्न नगए हुन्छ । शिक्षकको सहयोग नलिइकन हामी सांसद हुनै सक्दैनौँ । त्यस्तो स्थिति छ ।

राजनीति गर्न पाउने कुरा शिक्षकहरुकाे स्वतन्त्रतासँग पनि जाेडिन्छ तर त्यसाे भन्दैमा शिक्षकले राजनीतिमात्र गर्नुपर्छ भन्ने हाेइन । पढाउने समय र शिक्षकले आफू काे हुँ ? के हुँ ? भन्ने पहिला अनुभूति गरेर पेशा मर्यादित बनाउँदै राजनीति पनि गर्दा केही समस्या हुन्छ जस्ताे मलाई लाग्दैन । याे भन्दा अघिकाे मन्त्रीज्यूले निकै ठूल्ठूला कुरो गर्नुभयो शिक्षकहरुलाई राजनीति गर्नै दिन्न भनेर । शिक्षकहरुलाई यति धेरै पनि अपमान नगरौँ । त्यही शिक्षकहरुले पढाएर आज हामी सांसद भएका छौँ । यो स्थितिमा पुग्या छौँ । शिक्षकहरुको सम्मान गर्न पनि जरुरी छ भन्ने मैले बुझेको छु । अर्काे, शिक्षकहरुको सेवा र सुविधा विशिष्ट श्रेणीसहित राखेर बरु उहाँहरुलाई सेवा र सुविधा दिउँ । तर दण्ड र सजायँ पनि त्यही अनुसार दिऔँ । केही मान्यज्यूहरुले ६० प्रतिशतसम्मको कुरा निकाल्नुभएको छ । बरु सेवा र सुविधा पनि चित्त बुझ्ने दिऔँ र दण्ड र सजाय पनि चित्त बुझ्ने नै दिऔँ ।

र, यो अर्काे कुरा यो अहिले म विशेष गरि मधेशमा धेरै गइरहेकाे छु । म हिजो मात्रै आएँ । यो मदर्शाको विषयमा पनि भनाैँ न, हिन्दू होस् मुस्लिम होस् क्रिश्चियन होस् बुद्धिस्ट होस् सबै नेपाली नै हौँ । तर मदर्शामा पठनपाठन गर्ने र मदर्शाको बेहाल देख्या छु मैले । बौद्ध गुम्बाहरुमा पनि पढाउने काम गरिएका छन् । गुम्बामा पढाउने होस् या चर्चमा पढाउने होस् या देवघाट जस्तो गुरुकुलमा पढाउने होस् हैन् । उहाँहरुलाई पनि एउटा व्यवस्थित गरेर कसरी मान्यता दिने हो ? यो विधेयकले त्यस विषयमा पनि बोलोस् भन्न चाहन्छु म ।

यो पूर्वाधार मैले पुनः पनि दोहोर्‍याएर भन्न चाहेँ मधेशलगायत विभिन्न ठाउँमा पूर्वाधार नभएको कारणले रजश्वला हुने विद्यार्थी बहिनीहरु स्कुल जान सक्दैनन् । त्यो किन जान सक्दैनन् भने एउटा शाैचालय नभएका कारणले । यस्ता कुराहरुमा दिल खोलेर सरकारले काम गर्नुपर्छ ।

यहाँ त अहिले के छ भन्दा तँपाई सोध्नुस् बजारमा गएर विद्यार्थीहरु प्लसटू सकेपछि कहाँ जाने भन्दा विदेश जाने भन्ने छ । ५–६ कक्षा पढेका विद्यार्थी भाइबहिनीहरुलाई सोध्ने हो भने प्लस टु गरेपछि विदेश हिँडिहाल्ने याेजना छ । त्यो प्रथालाई हामीले रोक्नुपर्‍यो । यहाँ समस्या के छ भने नेपाल के हो ? नेपाली के हो ? मातृत्व के हो ? भुमि के हो ? आफ्नो देश के हो ? भन्ने कुरा बुझाउने हिसाबले नैतिक शिक्षा पढाउनुपर्‍यो । यहीँ बसेर पनि गर्न सकिन्छ नेपालमै पनि गर्न सकिन्छ भन्ने नानी बाबुहरुलाई विश्वास दिलाउन सक्नुपर्‍यो ।

– प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले शिक्षा समितिकाे बैठकमा राखेकाे विचारकाे संशाेधित अंश

हेर्नुहाेस् भिडिओ : 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१