चिरन पुनले ल्याए ‘दरम खोला फनफनी घुम्यो’ (भिडिओसहित)

काठमाडाैं । वरिष्ठ जनवादी गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुन (सी) काे रचना तथा सङ्गीतमा ‘दरम खोला फनफनी घुम्यो’ निकै मार्मिक गीत शनिबार थानेश्वर गौतमको अफिसिएल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीत पश्चिम नेपालको लोक शैलीमा आधारित छ ।

विशेषत बागलुङ जिल्ला गल्कोटमा बग्ने दरम खोला, ढोरपाटनमा बग्ने उत्तरगङ्गा, म्याग्दीमा बग्ने म्याग्दी खोला, पर्वतमा बग्ने मोदी खोला, गुल्मी – शान्तिपुर बजारमा बग्ने हुग्दीखोला र बाग्लुङ सुखौरामा बग्ने तम्मुखोलाको परिवेशलाई गीतमा उतारिएको छ ।

गीतले रोजगारीको सिलसिलामा नेपाली युवाहरुले विश्वको कुना काप्चामा पुगेर गरेका दु:ख, पीर, मर्का र वेदनालाई उतारेको छ । उमेरले नेटो काटेका बुढा, बुढी बा आमाले बाटो तर्फ आँखा लगाउँदै परदेशिएका आफ्ना छोरा, छोरीलाई कुरेर बस्ने नेपालको सान्दर्भिक परिवेश हो ।

बहुचर्चित एवम् सुप्रसिद्ध गजल गायक थानेश्वर गौतम, चर्चित जनवादी गायीका केशरी घर्तिमगर ‘एलिना’ र गायिका सविता बस्नेतले गीतमा मिठो र न्यायपूर्ण आवाज दिएका छन् । गीतको सङ्गीत संयोजन, मिक्सिङ एबम् मास्टरिङ कुशल एरेन्जर नरेन्द्र वियोगीले गरेका छन् भने गीतको अडियो वेव स्टुडियो, अनामनगरमा तयार पारिएको छ ।

गीतको भिडियोमा पश्चिम नेपालको बागलुङ, म्याग्दी, पर्वत, गुल्मी जिल्लाहरुको सुन्दर र मनोरम दृष्यहरु कैद गरिएको छ । गीतको भिडियोमा मोडल निर्मल क्षेत्री एवम् कुशुम थापाको मुख्य भुमिका देखाइएको छ । क्यामरा तर्फ भुवन केसीले गीतलाई छायाँङ्कन गरेका छन् । भिडियो सम्पादन मिलन विश्वकर्मा गरेका छन् भने गीतको निर्देशन गायक थानेश्वर गौतमका रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१