
काठमाडौं गोल्यान ग्रुपले सञ्चालन गरेको पाँचतारे सिटी होटल लिमिटेड फेरि सर्वसाधारण सेयरधनीको ढाडमा चढ्दैछ। होटलको अग्लो भवन, अन्तर्राष्ट्रिय ब्रान्ड र चिल्लो गाडी देखाएर लगानीकर्तालाई ‘पाँचतारे सपना’ बेच्न सफल यो होटलले अहिले आएर फेरि ऋणकै भार घटाउन हकप्रद सेयर ल्याउन लागेको छ। होटलले आफैं सार्वजनिक गरेको तथ्याङ्क नै हेर्ने हो भने, यसको ऋण संरचना र घाटा अवस्था देखेर यो हकप्रदलाई नाफा कमाउने अवसर भन्दा पनि ‘पुरानो ऋण तिर्ने बहाना मात्रै’ भन्ने थाहा पाउन गाह्रो पर्दैन।
नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई अहिलेको चुक्ता पुँजीको ८० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ६७ करोड रुपैयाँभन्दा बढी छ। हकप्रदपछि पुँजी तीन अर्ब नाघ्नेछ। तर यसले ऋणको चाङ घटाउने हो कि लाभांश ल्याउने भन्ने सवालमा कम्पनीको आफ्नै तथ्याङ्कले नकारात्मक जवाफ दिएको छ।
ऋणले बाँधेको पाँचतारे होटेल
सिटी होटल हायात प्लेसबाट अपग्रेड भएर अहिले हायात सेन्ट्रिक ब्रान्डमा पुगेको भनिए पनि यो चम्किलो ब्रान्डको पछाडि कम्पनीले लुकाउन नसकेको तथ्य हो होटल सञ्चालन गर्दा करिब साढे चार अर्ब रुपैयाँ लगानी गरिएको थियो र त्यसको अधिकांश हिस्सा बैंक र वित्तीय संस्थाबाट लिइएको ऋणबाट उठाइएको थियो। कम्पनीले नै आफ्नो पछिल्लो वित्तीय विवरणमा उल्लेख गरेअनुसार अहिले पनि दीर्घकालीन ऋण तीन अर्ब २५ करोड रुपैयाँभन्दा बढी छ। होटल सञ्चालनमा ल्याएको डेढ वर्षमै तीन अर्बभन्दा बढी ऋण बाँकी हुनु आफैंमा ठूलो खतरा हो।
यस होटलमा NIC Asia Bank प्रमुख ऋणदाता हो। त्यससँगै Global IME Bank, NMB Bank र नेपाल इन्भेस्टमेन्ट मेगा जस्ता ठूला बैंकहरूले ऋण दिएका छन्। यति धेरै बैंकहरूको ऋण एकैसाथ सिन्डिकेट गरेर होटल निर्माण गरिएको थियो। होटलको व्यापारिक मोडल नै ऋणबाट बाँच्ने संरचनामा आधारित छ भन्ने कुरा यहींबाट पुष्टि हुन्छ। होटल सञ्चालन भएपछि ग्राहक आउँछ, कोठा भाडा उठ्छ भन्ने आसमा ऋण उठाइएको हो। तर सञ्चालनमा आएको छोटो अवधिमा आम्दानीले ब्याज र किस्ता धान्नै नसक्ने स्थिति बनेको छ।
कागजमा करोडौंको आम्दानी, तर घाटा झनै बढ्दो
सिटी होटलले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा ३७ करोड रुपैयाँ आम्दानी गरेको भनेर आफ्नो वित्तीय विवरणमा देखाएको छ। तर यो रकम कागजमा मात्रै हो यो होटेलले कोठा भाडा, रेष्टुरेन्ट, इभेन्ट हल आदिबाट उठाएको कुल बिलिङ मात्र हो। यसबाट कर्मचारीको तलब, मर्मत सम्भार, बिजुली पानी, विदेशी ब्रान्डलाई तिर्नुपर्ने रोयल्टी, कर, सेवा शुल्क जस्ता सबै खर्च घटाउँदा बाँकी रकमले बैंकको ब्याज तिर्न पनि पुग्दैन भन्ने कुरा आफैंमा कम्पनीको घाटा विवरणले प्रमाणित गरिरहेको छ।
पछिल्लो सार्वजनिक वित्तीय विवरणमा सिटी होटल १७ करोड ३८ लाख रुपैयाँ नोक्सानमा गएको छ। अघिल्लो वर्ष पनि १५ करोडभन्दा बढी घाटा थियो। सञ्चालनमा आएको समयदेखि हालसम्म यो होटल लगातार घाटामै छ। कम्पनीले देखाएको प्रतिसेयर आम्दानी माइनस १० रुपैयाँ भन्दा तल झरेको छ। प्रतिसेयर नेटवर्थ पनि ८० रुपैयाँभन्दा तल छ। यति ठूलो पुँजी र पाँचतारे होटलको नाम सुन्दा पनि वास्तविक नाफा शून्य छ भन्ने कुरा लगानीकर्ताका लागि चेतावनी हुन पर्याप्त छ।
सर्वसाधारणको गोजी रित्याउने आईडिया
अब प्रश्न उठ्छ यस्तो घाटामा गएको, ऋणले च्यापेको कम्पनीले फेरि हकप्रद किन ल्यायो ? जवाफ सीधै छ ऋण तिर्नकै लागि। कम्पनीले AGM बाट हकप्रद प्रस्ताव पास गर्दा नै स्पष्ट लेखेको छ हकप्रदबाट उठेको पैसा पुरानो ऋण घटाउन र केही चालू खर्च धान्न प्रयोग गरिनेछ। कुनै नयाँ योजना, विस्तार, फाइदा बढाउने योजना छैन। यो सीधै बैंकको ऋण तिर्न सर्वसाधारणबाट पैसा उठाउने धन्दा हो।
कम्पनीका सञ्चालकहरूले आफैंले लगानी गरेर ऋण घटाउनुपर्ने स्थिति थियो भने उनीहरूले पेस्कीबापत आफैंले हालिदिन्थे। तर अहिले सञ्चालकहरूसँग पेस्कीको नाममा झन्डै ५३ करोडभन्दा बढी रकम तिर्न बाँकी देखिएको छ। यसको अर्थ सञ्चालकले ऋण धान्न आफ्नो गोजी खोल्नुभन्दा पनि सर्वसाधारण लगानीकर्ताको गोजी खोल्न लगाएका छन्। यसलाई सजिलो भाषामा भन्नुपर्दा, संस्थापक सञ्चालकको नीति नै ‘नाफा आयो भने आफ्नै हिस्सा, घाटा आयो भने सर्वसाधारणको हिस्सा’ भन्ने आईडिया दोहोर्याइएको छ।
पाँचतारे नाममा ‘ठगि धन्दा’
सिटी होटल जस्तो ठूला घराना र विदेशी ब्रान्ड भएका होटेलहरूले सुरुमा भव्य विज्ञापन, सुन्दर भवन र ठूलो अन्तर्राष्ट्रिय नाम देखाएर सर्वसाधारणलाई सेयरमा पैसा हाल्न उक्साउँछन्। जब ऋणको भार धान्न सकिन्न, घाटा चुलिन्छ र बैंकले restructuring को दबाब दिन्छ, तब हकप्रद ल्याएर साना सेयरधनीलाई फेरि पैसा हाल्न बाध्य पारिन्छ। बैंकहरूले आफ्ना ऋण सुरक्षित राख्न चाहन्छन्, सञ्चालकहरूले आफ्नो पेस्की फिर्ता गर्न चाहन्छन्, तर सर्वसाधारणले के पाउँछन्? ऋण घटाउन पैसा त हाल्छन्, नाफा चाहिँ न आउँछ, न लाभांश।
यस्तोमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड पनि AGM र कागजी प्रक्रिया पूरा भयो भनेर अनुमति दिन्छ तर यस्तो हकप्रदले लगानीकर्ताको ढाड भाँचिरहेको छ कि छैन भन्ने नियामकको चासो देखिँदैन। पाँचतारे ब्रान्ड होटेलका पर्खालभित्र करोडौंको ऋण र घाटा लुकेको हुन्छ, तर बाहिर सर्वसाधारणले चम्किलो नाम मात्रै देख्छन्।
कुन कुरा बुझ्नैपर्छ ?
कम्पनीले ऋण घटाउनका लागि हकप्रद ल्याएको हो भने यसको अर्थ के हो भने होटल सञ्चालनको आफ्नै आम्दानीले ऋण तिर्ने क्षमता छैन। यसको मतलब सञ्चालन घाटा झनै बढ्न सक्छ। ऋण घटाएर ब्याज भार केही समयको लागि कम भए पनि होटलको occupancy र नाफा बढेन भने अर्को हकप्रद ल्याउन अझै समय लाग्दैन। लगानीकर्ताले सम्झिनैपर्छ होटलको कोठा, भित्ताको चित्र वा विदेशी ब्रान्डले ऋणको चाङ पगाल्दैन। नाफा छैन भने चम्किलो नामले केही गर्दैन।
‘पाँचतारे सपना’ होइन, कागजी ऋण र घाटा हेरेर निर्णय गर
सिटी होटल लिमिटेडको पछिल्लो हकप्रद सेयर निष्कासनले फेरि एकपटक देखाएको छ नेपालमा ठूला व्यवसायिक घराना र बैंकको ऋण बचाउने सबैभन्दा सहज बाटो सर्वसाधारणको गोजी नै हो। चम्किलो पाँचतारे नाम देखेर लगानीकर्ताले रकम हाल्दा उनीहरूलाई तत्काल नाफा होइन, कम्पनीको पुरानो ऋणको ब्याज घटाउन मात्रै फाइदा पुग्छ। नाफा कमाउन कम्पनीले बजारमा सस्तो ऋण होइन, भरपर्दो सञ्चालन र नियमित आम्दानी देखाउनै पर्छ — त्यो देखिएको छैन।त्यसैले हकप्रद सेयर किन्नुअघि लगानीकर्ताले एकपटक पर्खेर सोध्नै पर्छ यो सेयर किन्दैमा तपाईंले के पाउनुहुन्छ? नाफा, लाभांश र मूल्य वृद्धिको सपना, कि केवल पुरानो ऋण घटाउन खर्चिने अर्को बोझ ?