
आगामी कार्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको चर्चा चुलीँदै गर्दा नयाँ-नयाँ आकांक्षी देखा पर्न थालेका छन् । औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । यतिबेलासम्म औपचारिकरूपमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।
राजनीतिक दलहरु उम्मेदवार खोज्न व्यस्त रहँदा केही ‘स्वतन्त्र’ अनुहार पनि दौडमा मिसिने तर्खर गर्दैछन्, जसमध्ये एक हुन् सन्तोष गिरी । विगतमा एमालेको पृष्ठभूमि भए पनि अहिले ‘बालेननिकट’ उम्मेदवारका रुपमा चुनावमा होमिन लागेका हुन् । यदि अहिले प्रचार गरिएजस्तै बालेनले खुलेर समर्थन गरेको खण्डमा उनको दावेदारी सशक्त हुन सक्छ ।
उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका सन्तोष गिरी यतिबेला निर्वाचन क्षेत्रमा स्थानीयसँग भेटघाट तथा छलफलमा सक्रिय छन्।
सन्तोष गिरी पछिल्लो समय मतदाताको घरघरमै पुगेर आफ्नो अभियानलाई तीव्रता दिइरहेका छन् ।
गिरीले आफ्नो अभियानका क्रममा उद्योगी–व्यवसायी, विभिन्न दलका स्थानीय नेता, सामाजिक अगुवा, खेलाडी र आम सर्वसाधारणसँग भेटेर उनीहरूका समस्या, गुनासा र सुझावहरू संकलन गरिरहेका छन् । विगत केहिदिन यता उनको मुख्य रणनीति भनेकै जनताका कुरा शान्तपूर्वक सुन्ने र त्यसलाई गम्भीरताका साथ टिपोट गर्ने रहेको छ ।
संघसंस्था भेट्ने क्रममा नव टिकुलीगढ युवा क्लबद्वारा आयोजित यु-१८ नकआउट फुटबल प्रतियोगिताको उद्घाटनसमेत गिरीले गरेका छन्। उद्घाटनमा उनले नेपालमा खेलकुदको अपार सम्भावना रहेको, संरचना, लगानी र दीर्घकालीन योजना अभावले खेल क्षेत्रमा समस्या देखिएको उल्लेख गरे। खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
नेपालमा खेलकुदको अपार सम्भावना छ । हामीकहाँ प्रतिभाको कमी छैन, अभाव छ त केवल उचित संरचना, लगानी र दीर्घकालीन योजनाको’, उनले भने ।
कुनै बेला राष्ट्रिय टिममा रुपन्देहीबाट ५ जनाले एकै पटक प्रतिनिधित्व गरेको इतिहास रहेको उनले स्मरण गरे । ‘विश्वका धेरै देशहरूले खेल क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाएका छन्, अब नेपालले पनि त्यो बाटो लिनैपर्छ । यस्ता प्रतियोगिताहरूले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने जग तयार गर्छन् । खेलमा लगानी गरौँ, खेलाडीलाई सम्मान गरौँ, राष्ट्रलाई गौरव दिलाऔँ’, उनले भने ।
यो बाहेक गिरीले अन्य खेलकुद हुने स्थान र मैदानमा पुगेर पनि त्यहाँका स्थानीय तथा राष्ट्रिय खेलाडीहरुसंग परामर्ष गरिरहेका छन् । स्थानीय ब्याडमिन्डन तथा कभर्डहलमा खेलिने खेल हुने ठाउँमा पुगेर पनि उनले आफ्ना कुराहरु राखिरहेका छन् । साथै आगामी दिनमा आफुले के-के गर्न सक्छु भनेर पनि बताइरहेका छन् ।
गिरीले शुद्धोधन गाउँपालिका–६ को गुरौली र रवडा नम्बर १, बेलवा जोड्ने पुलको निरीक्षण गर्दै त्यहाँको समस्या उजागर गरेका छन्। १३ वर्षअघि करोडौंको लगानीमा बनेको उक्त पुल अहिलेसम्म प्रयोगमा आएको छैन ।
एक स्थानीय बासिन्दाले बताएअनुसार, उक्त पुलमा दुई पाङ्ग्रे सवारी साधन बाहेक अन्य कुनै पनि ढुवानीका सवारी चल्न सकेका छैनन् । पुलको दुवैतर्फ पक्की सडक नबन्दा अस्थायी र जिर्ण बाटो मात्रै रहेको र त्यसले सवारी चलाउन अयोग्य बनाएको उनको भनाइ छ । “पुल यति अग्लो छ कि सवारीसाधन सजिलै चढ्न सक्दैनन् । बिरलै चलेका दुई पाङ्ग्रे सवारी साधन पनि पटक–पटक दुर्घटनामा परेका छन्,” उनले भने ।
स्थानीयहरूका अनुसार यो समस्या पुलको डिजाइन गल्तीका कारण भएको हो । उनीहरूले दाबी गरेका छन् कि उक्त पुलको डिजाइन अर्को स्थानको डिजाइनसँग साटिएको र त्यसले गर्दा पुल अहिलेको स्थानभन्दा ४–५ सय मिटर दक्षिणतिर बनाइएको भए सडकसँग सहजै जोडिन सक्ने थियो । “यो केवल एक पुल निर्माणको समस्या होइन, हाम्रो प्रणालीमै रहेको गहिरो अव्यवस्थाको उदाहरण हो,”पुलको सन्दर्भ गिरीले यसरी टिप्पणी गरेका छन् ।
गिरी पछिल्ला केही सातादेखी आफू स्थानीय अग्रज मतदातासँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनका अनुसार, स्थानीय बासिन्दाको भावना, समस्या र अपेक्षालाई नजिकबाट बुझ्न गाउँबस्ती, चोकचौतारीमै पुगेर प्रत्यक्ष संवाद गरिरहेको बताएका छन् । “हामी जनताका अनुभव, गुनासो र सुझावहरूलाई गम्भीरतापूर्वक सुन्दैछौं,” उनले भने, “अहिलेको आवश्यकता केवल खोक्रा आश्वासन होइन, जनजीविकामा प्रत्यक्ष असर पार्ने ठोस नीति, योजना र निर्णयहरू हुन् ।”
उनले जनताको आवाजलाई नै आफ्नो प्रमुख मार्गदर्शक मान्ने विश्वास व्यक्त गर्दै, “हामी जनताको चाहना र आवश्यकता अनुसार आगामी कार्ययोजना तयार पार्दैछौं,” भनेका छन् । गिरीका अनुसार, जनतासँग प्रत्यक्ष संवादबाट प्राप्त दृष्टिकोणलाई आत्मसात गर्दै रुपान्तरणको यात्रामा अघि बढ्ने अठोट लिएको बताएका छन् । यसैका लागि उनि अहीले चिया पसल , पाटी , चौेतारी , र मन्दिर पुगेर प्रत्यक्ष रुपमा जनताका गुनासाहरु सुनिरहेका छन् ।
गाउँबस्ती, चोकचौतारीदेखि मन्दिर–आखडा र मेलापातसम्म पुगेर जनताको पीडा, अपेक्षा र सुझाव सुन्ने क्रम उनी निरन्तर राखिरहेका छन् । “हामी जनतासँगै बसेर उनीहरूको समस्या बुझ्ने प्रयासमा छौं । मन्दिर परिसरमा पनि स्थानीय अगुवा र आम नागरिकसँग गफगाफ गर्ने क्रममा जनताले उठाएका आवाजलाई गहिरिएर सुन्दैछौं,” गिरीले भने ।
रूपन्देही क्षेत्र नम्बर ३ मा सन्तोष गिरीको सक्रियता बढ्दै जाँदा उनी मतदातामाझ क्रमशः आफ्नो प्रभाव जमाउँदै गएका छन् । गाउँघर दौडाहामा रहेका गिरीले किसानदेखि व्यवसायी र सर्वसाधारणसम्मका समस्या नजिकबाट सुन्दै आएका छन् । उनका अनुसार, किसानहरूले मल र सिँचाइको अभाव, पर्यटन व्यवसायीहरूले उचित नीति र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, उद्योगीहरू व्यवसायमैत्री नीति र राज्यबाट अपेक्षित संरक्षण नपाएको गुनासो गरिरहेका छन् । सर्वसाधारण भने रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयमा चिन्तित देखिन्छन् ।
ठूला राजनीतिक दलहरूबाट जनता निराश भइरहेका बेला गिरीको सम्भावित स्वतन्त्र उम्मेदवारीले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वापा, राप्रपा र मधेश केन्द्रित दलहरूमा समेत चनाखो बनाएको छ । गिरीको बढ्दो सक्रियता र जनसम्पर्कले उनीहरूमाथि दबाब सिर्जना भइरहेको स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीका स्थायी बासिन्दा ३३ वर्षीय गिरीको जन्मस्थान पनि रुपन्देही क्षेत्र नं. ३ मै पर्ने भएकाले उनले ‘स्थानीयको भावना र आवश्यकतालाई नजिकबाट बुझ्न’ सहज हुने विश्वास व्यक्त गरेका छन् । हाल उनी ‘ग्राउन्ड जिरो’ लेवलको मूल्याङ्कन गर्दै, समाजका विभिन्न वर्गसँग अन्तर्क्रिया गरिरहेका छन्।
बालेन शाहको सचिवालयमा सल्लाहकारको भूमिकामा रहँदै उनले स्थानीय शासन, नीति निर्माण, र नवप्रवर्तनमा प्रत्यक्ष अनुभव बटुलेका छन्। स्रोतका अनुसार गिरीको उम्मेदवारीलाई नयाँ पुस्ताको सहभागिता र वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्वको रूपमा हेरिएको छ।