• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भन्सार विभाग भन्छ- साइमेक्सले गडबडी गरेको देखिन्छ, कागजात मगाएका छौँ

काठमाडौँ । भन्सार विभागले साइमेक्स इंकले बीवाइडी गाडीको आयात गर्दा भन्सारमाा गडबडी गरेको देखिएको बताएको छ । विभागका निर्देशक एवं प्रवक्ता किशोर बर्तौलाले साइमेक्सले बीवाइडी आयात गर्दा कम मोटर पिक पावर देखाएर भन्सार छली गरेको आशंकामा थप कागजात माग गरिएको बताएका हुन् ।

बर्तौलाले महालेखाले नै यस विषयमा प्रश्न उठाएपछि विभागले महालेखा परीक्षकको कार्यालय र अर्थ मन्त्रालयसँग छलफल गरिरहेको समेत जानकारी दिए ।

बर्तौलाले भने, “महालेखाले समेत प्रश्न उठाएपछि हामीले अर्थ मन्त्रालय र महालेखासँग छलफल गरिरहेका छौँ । भन्सार छलीको विषयलाई गम्भीरतापूर्वक लिएका छौँ ।”

बर्तौलाले साइमेक्स लगायतका विद्युतीय सवारी साधन आयात गर्ने कम्पनीहरुसँग मोटर पिक पावर सम्बन्धी प्रमाण पुग्ने थप कागजात माग गरिएको समेत बताए ।

“हामीले उनीहरुलाई (साइमेक्स लगायतका कम्पनीहरु) प्रमाणसहितका डकुमेन्ट पेश गर्न भनेका छौँ । डकुमेन्ट पाएपछि उनीहरुलाई के गर्ने भन्ने निर्णयमा पुग्छौँ,” उनले भने ।

बर्तौलाले महालेखाले भन्सार छली गरिएको भनेर बेरुजु नै देखाएकाले त्यो रकम छल्नेहरुबाट उठाएरै छाडिने समेत दाबी गरे ।

“राज्यलाई ढाँट्न छल्ने कसैलाई पनि छाडिने छैन् । प्रक्रिया पुर्‍याएर सबै काम गर्छौँ,” बर्तौलाले भने ।

साइमेक्सले भन्सार छल्नका लागि बीवाइडी गाडीको आयातकर्ता कम्पनी साइमेक्स इंकले २७२५ वटा गाडी भित्र्याउँदा १०० किलोवाट मोटर पिक पावर माथिको २ वटा मात्रै देखाएको थियो । आर्थिक वर्ष २०८१/८२ मा साइमेक्सले रसुवा भन्सार नाकाबाट २ हजार ७२५ वटा गाडी भित्र्याएको थियो । तर आश्चर्यजनक रुपमा ती मध्ये जम्मा २ वटा गाडीको मात्र मोटर पिक पावर क्षमता १०० किलोवाट वा त्यो भन्दा माथि रहेको देखाइएको छ ।

हाल नेपालमा बीवाइडीका ७ वटा मोडलका गाडीहरु विक्री भइरहेका छन् । यीमध्ये बीवाईडी सिलबाहेक सबै मोडलका मोटर पावर १०० किलोवाट वा त्यो भन्दा कम देखाइएको छ । जबकि, बीवाईडीका यी गाडीहरुको मूल निर्माता चीन र अन्य देशहरुमा मोटर पिक पावर १०० किलोवाट माथि छ ।

आर्थिक ऐन, २०८० ले विद्युतीय सवारीसाधनहरूको मोटर पिक पावरको आधारमा पैठारी भएका सवारीसाधनको मोटर पिक पावर ५० देखि १०० किलोवाटसम्म भएमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (अन्य) ८७०३.८०.२१ (अनएसेम्बल), ८७०३.८०.२९ (अन्य) बाट जाँचपास गरी १५ प्रतिशत भन्सार महसुल, १० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर तथा मोटर क्षमता १०० देखि २०० किलोवाट भएमा भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरी २० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था गरेको छ ।

ऐनले यो व्यवस्था गरेपनि रसुवा र तातोपानी भन्सार कार्यालयमा गाडीको वास्तविक मोटर पावर जाँच्ने उपकरण छैन् ।

यही अभावको फाइदा उठाउँदै साइमेक्सले १०० किलोवाट मोटर पिक पावर भएका गाडीको समेत त्यो भन्दा कम किलोवाट मोटर पिक देखाएर भन्सार छली गरेको हो ।

महालेखाको प्रतिवेदनले साइमेक्ससहितका कम्पनीबाट ३ अर्ब ७७ करोड रुपैयाँ बढी भन्सार छली भएको औँल्याएको छ ।

महालेखाको प्रतिवेदन र भन्सार कार्यालयको तथ्यांक हेर्दा साइमेक्सले करौडौँ रुपैयाँ भन्सार छली गरेको देखिन्छ ।