• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एपस्टीन फाइल्सको धक्का : ८० शक्तिशाली व्यक्तिमाथि अनुसन्धान सुरु

अमेरिकाको ट्रम्प प्रशासनले कुख्यात यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित गोप्य दस्तावेजहरू (एपस्टीन फाइल्स) सार्वजनिक गरेपछि विश्वभर तरंग पैदा भएको छ। अमेरिकी न्याय विभाग (जस्टिस डिपार्टमेन्ट) ले करिब ३० लाख पृष्ठका कागजात सार्वजनिक गरेपछि विश्वका १० देशका १५ भन्दा बढी उच्च अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् भने ८० भन्दा बढी शक्तिशाली व्यक्तिहरूमाथि गम्भीर अनुसन्धान सुरु भएको छ।

यी दस्तावेजहरूमा विश्वका चर्चित राजनीतिज्ञ, राजदूत, अर्बपति र शाही परिवारका सदस्यहरूको नाम उल्लेख छ। इमेल, फ्लाइट लग र सम्पर्क रेकर्डहरूमा ७०० देखि १००० सम्म प्रभावशाली व्यक्तिहरूको विवरण फेला परेको छ।

दस्तावेजहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन, हिलेरी क्लिन्टन र अर्बपति बिल गेट्स जस्ता हाई–प्रोफाइल नामहरू विभिन्न सन्दर्भमा जोडिएका छन्।

एपस्टीनको खुलासाबाट युरोप सबैभन्दा बढी प्रभावित भएको छ । लगभग १० देशहरूमा राजीनामाको लहर सुरु भएको छ । बेलायतमा सबैभन्दा धेरै राजीनामा देखिएको छ, जसमा तीन अधिकारीहरूले राजीनामा दिएका छन् । पूर्व राजदूत पिटर म्यान्डेलसन, सल्लाहकार एडम पेरी र प्रधानमन्त्री केयर स्टारमरका प्रमुख कर्मचारी मोर्गन म्याकस्विनीले राजीनामा दिएका छन् ।

वरिष्ठ स्वीडिश कूटनीतिज्ञ जोआना रुबिनस्टाइनले राजीनामा दिए भने नर्वेजियन राजदूत मोना जुल, अमेरिकी श्रममन्त्री एलेक्स अकोस्टा र एमआईटी प्रयोगशाला प्रमुख जोइची इटोको राजीनामा आएको छ ।

एपस्टीन फाइलहरूले धेरै देशका सरकारहरूलाई कूटनीतिक र राजनीतिकरुपमा लाजमर्दो बनाएको छ ।

बेलायती प्रधानमन्त्री स्टारमरलाई यस प्रकरणमा माफी माग्न बाध्य पारिएको थियो, उनले बेलायतको संसदमा माफी मागेका थिए । जबकि बेलायती प्रहरीले नयाँ फाइलहरूको आधारमा राजकुमार एन्ड्रयूविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

नर्वेमा, राजदूत मोना जुललाई निलम्बन गरिएको थियो र पूर्व प्रधानमन्त्री थोरबजर्न जगल्याण्डविरुद्ध भ्रष्टाचार अनुसन्धान सुरु गरिएको छ । वरिष्ठ कूटनीतिज्ञ तेर्जे रोड-लार्सन पनि अनुसन्धानको घेरामा छन् ।

त्यस्तै, फ्रान्समा पूर्व मन्त्री ज्याक लाङलाई आधिकारिक रूपमा बयानका लागि बोलाइएको छ । पोल्याण्ड, लाटभिया र टर्कीले मानव बेचबिखनमा आधिकारिक संलग्नताको अनुसन्धान गर्न विशेष टोलीहरू गठन गरेका छन् ।

केही प्रमुख नामहरू बाहिर आएपछि, उनीहरू र उनीहरूका परिवारहरूलाई सार्वजनिक रूपमा माफी माग्न वा पछुतो व्यक्त गर्न बाध्य पारियो ।

नर्वेको युवराज राजकुमारी मेट्टे-मारिटबाट इमेल र सञ्चारको खुलासाले राज दरबारले कडा आलोचनाको सामना गर्नु परिरहेको छ र राजकुमारीले सार्वजनिक रूपमा माफी मागेकी छन् ।

त्यस्तै, माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले एपस्टीनसँगको आफ्नो भेटघाट र सञ्चारमा पछुतो व्यक्त गरे र फाउन्डेसनको बोर्डबाट राजीनामा दिए ।

इजरायली पूर्व प्रधानमन्त्री एहुद बाराकको नाम एपस्टीनको न्यूयोर्क अपार्टमेन्टमा उनको बसाइ र भेटघाटको रेकर्डमा देखा पर्‍यो, जसले गर्दा उनलाई स्पष्टीकरण दिन बाध्य पारियो ।

एपस्टीन फाइलहरूमा ट्रम्पको नाम ३८ हजार भन्दा बढी पटक देखा परेको छ । रेकर्डहरूमा १९९० को दशकमा एपस्टीनको निजी विमानमा ७-८ यात्राहरू उल्लेख गरिएको छ । उनी ट्रम्पको मार-ए-लागो क्लबमा पाहुनाहरूको सूचीमा पनि समावेश छन् । अनुसन्धानले यौन शोषण नेटवर्क संयुक्त राज्य अमेरिकामा मात्र सीमित नभएको खुलासा गरेको छ ।

एपस्टीनले एक संगठित बेचबिखन नेटवर्क सिर्जना गरेको यी फाइल्सबाट सजिलै बुझ्न सकिन्छ । अहिलेसम्म, १५ देशका धनी व्यक्तिहरू, राजनीतिज्ञहरू र अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको नाम खुलासा गरिएको छ ।

दस्तावेजमा भारतीय उद्योगपति अनिल अम्बानीको नाम पनि मुछिएको छ। सन् २०१७ देखि २०१९ को बीचमा अम्बानी र एपस्टीनबीच व्यापारिक मुद्दा र महिलाका विषयमा कुराकानी भएको दाबी गरिएको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार, एपस्टीनले अम्बानीलाई एक स्वीडिस महिलाका बारेमा प्रस्ताव गरेको र अम्बानीले त्यसको व्यवस्था गर्न भनेको च्याटमा उल्लेख छ।

को थिए जेफ्री एपस्टीन?

जेफ्री एपस्टीन न्युयोर्कका करोडपति फाइनान्सर थिए, जसको पहुँच विश्वका शक्तिशाली नेता र सेलिब्रेटीहरूसम्म थियो। उनीमाथि नाबालिगहरूको यौन शोषण र मानव तस्करी (सेक्स ट्राफिकिङ) को गम्भीर आरोप लागेको थियो। सन् २०१९ मा जेलमा मुद्दाको सुनुवाइ हुनुअघि नै उनले रहस्यमय ढंगले आत्महत्या गरेका थिए।

अहिले अमेरिकी अदालतको आदेश र ‘एपस्टीन फाइल्स ट्रान्सपरेन्सी एक्ट’ अन्तर्गत यी दस्तावेजहरू सार्वजनिक भइरहेका छन्, जसले आगामी दिनमा अझै धेरै ठूला नामहरू सार्वजनिक हुने संकेत गरेको छ।

यो पनि पढ्नुहोस्

एपस्टिन सेक्स स्क्यान्डल: ट्रम्प र मेलानियाको तस्बिर फाइलबाट गायब, अमेरिकामा राजनीतिक हलचल

कुख्यात यौन तस्करको फाइलमा कैयौँ रहस्य: डोनाल्ड ट्रम्प, बिल क्लिटनसहित चर्चित व्यक्ति संलग्न ! (एपस्टिन प्रकरणको टाइमलाइनसहित)