काठमाडाैं । उच्च अदालत पाटनले फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको छ ।
निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि अदालतले आदेश दिएको अधिवक्ता सरोज अधिकारीले जानकारी दिए ।
प्रसाद-२ का निर्माता सुवास थापाबाट ठगिएका पीडितपक्षको माग सुनुवाइ नगरी फिल्म रिलिज गर्ने चलचित्र विकास बोर्डको प्रयासमा उच्च अदालत पाटनले रोक्न आदेश दिएको हाे ।
केशव पाण्डेले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले फिल्म प्रसाद २ को रिलिज रोक्न बोर्ड लगायतका विपक्षीको नाममा अन्तरिम आदेशसहित कारण देखाऊ आदेश समेत जारी गरेको छ ।
विकास बोर्ड, सेन्सर बोर्ड लगायतकाले पेलेर फिल्म रिलिज गर्न लागेको भन्दै पाण्डेले सोमबार उच्चमा रिट दायर गरेका थिए । आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म प्रसाद-२ मा १० प्रतिशत स्वामित्व रहेकाले विना अनुमति रिलिज गर्न लागेको भन्दै रिट हालेका थिए ।
पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए ।
अधिवक्ता अधिकारीका अनुसार अदालतले तत्काल फिल्म रिलिज नगर्न आदेश दिएको हो । प्रसाद २ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा पनि फिर्ता नदिएको र स्वामित्व पनि नदिएको पाण्डे पक्षको दाबी छ ।
पाण्डेको ६२ लाख ५० हजार सहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङ गाउँका स्थानीयको १७ लाख लगायतको पैसा नदिए पनि बोर्डका अध्यक्ष भुवन केसीले ठगीमा फरार थापाको पक्ष लागेर फिल्म सेन्सर गर्दै चैत २४ मा पेलेरै रिलिजको तयारी गरेका थिए ।
थापा बैङ्किङ कसुरमा पक्राउ आदेश जारी भएदेखि फरार छन् । उनको पक्षबाट वितरक गोपाल कायस्थले फिल्म रिलिज गराउन लबिङ गरेका थिए ।