काठमाडौं । आइतबार बिहान बसेको गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजान आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ ।
स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन् ‘अध्यक्ष कमरेडले, यदि तपाईं टेबल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्रीज्यू भने टेबल गरेर प्रक्रियामा लैजाने अडानमा रहनुभएको छ ।’
उनले भनेकी छन्,‘अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएता पनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो ।’
यसका बाजदुद सदनमा आ-आफ्नो विचार अनुसार छलफल गर्ने सहमति भएको प्रचण्डको सचिवालयको भनाइ छ ।
काठमाडाैं । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको छ ।
रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ ।
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले झुक्याएर सिन्दुर हालेजस्तो गरी आफ्ना कार्यकर्ताहरूलाई लैजाने गरेको आरोप लगाएका छन् ।
भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्ने क्रममा शनिबार ओलीले यस्ताे आराेप लगाएका हुन् । उनले पूर्वतिर लाग्ने मेलाकाे सन्दर्भ स्मरण गरी भने- ‘पहिले पहिले पूर्वतिर मेला लाग्थ्यो । एकथरी उरन्ठेउलाहरु हुल बाँधेर जान्थे । सिन्दुर चाँही खल्तीमा हालेर जुम्सो जस्तो भएर जाने । अनि राम्री केटी देखेपछि छ्वास्स टाउँकोमा सिन्दुर र्याँकी दिएर गुटुटु भाग्ने । के भो, के भो भन्दाभन्दै कहाँ पुगिहाल्ने । माईतीहरु सिन्दुर हालिहाल्यो भनेर सिन्दुर लाउने उरेन्ठेउलालाई खोज्न थाल्थे । त्यस्तै छ अहिले ।’
उनले प्रचण्ड र माधव नेपालहरुले पनि त्यसै गर्ने गरेको भन्दै आक्रोशसमेत पोखे । उनले भने, ‘कहिले माकुनले झुक्याएर सिन्दुर हालिदिएको छ । कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ । कहिले काँग्रेसले सिन्दुर हालिदिएको छ । आजको जवानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ ? हामी माइतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होइन । आउनुस्, तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस् । यहाँ आउनुस् लक साबुनले नुहाउनुस् । नेकपा एमालेमा आउनुस्, देश बनाउने अभियानमा लागौँ ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाए । उनले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको दावी पनि गरे ।
ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने पनि बताए । गठबन्धनमा आगामी निर्वाचनमा पानीमा गए पनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिए ।
प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह पनि गरे । उनले भने, ‘अब एक वर्षभित्र चुनाव हुनैपर्छ । कहाँ बच्ला र यो स्वार्थी गठबन्धन ? बच्न सक्दैन । त्यसकारण अब त बढीमा एक वर्ष हो यिनको आयु । संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ– बढीमा एक वर्ष हो, आयु । यो सरकारको आयु ।’
काठमाडाैं । नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिइरहेको दबाबका सम्बन्धमा अमेरिकाले चासो व्यक्त गरेको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले नेपालमा अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएका चीनकाे सरकारी समाचार पत्रिका ग्लाेबल टाइम्सले जनाएकाे छ ।
नेपालसँग सहकार्य गर्न, नेपालको आर्थिक विकासमा योगदान गर्न र नेपालीको जीवनस्तर सुधार्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने वाङको भनाइ छ ।
अमेरिकाका सहायक विदेशमन्त्री डोनल्ड लुले नेपालका शीर्ष नेताहरूसँगको टेलिफोन कुराकानीमा फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता अनुमोदन नगरेमा नेपालसँग अमेरिकाको सम्बन्धमा पुनर्विचार गर्ने भनी आएको समाचारमा वाङले टिप्पणी गरेका हुन् ।
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अनुदान सहयाेग नलिए नेपाललाई ऋण कसले दिन्छ ?’ भनि प्रश्न गरेका छन् । उनले अनुदानमा प्राप्त एमसीसी नलिए नेपालले पूर्वाधार विकास गर्न कसैसँग पैसा लिन नसक्ने अवस्था आउनेसमेत बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, ‘पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वाधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन ।’
अनुदान समेत चाहिँदैन भनेपछि ऋण लिने अवस्था नै नआउने उनकाे भनाइ थियाे । ‘अब अनुदान कतैबाट लिनुभएन । ऋण कतैबाट लिनुभएन । अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्ने चाहिँ कसरी हो ? कसैले बताइदिनुपर्यो,’ उनले भने ।
उनले आफू संसदमा बहसको प्रतीक्षामा रहेको पनि बताए । ‘म त संसद्को ‘डिबेट’ कुरिरहेको हो । एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो । ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो । ‘हामी सबै जवाफदेही हुनुपर्छ’ थापाले भने ।
सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामपूर्ण व्यवहार गरेको पनि थापाले आराेप लगाए ।
उनले भने- ‘एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौँला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन ।’
उनले एमसीसीमा कुरा नमिले गठबन्धन भत्किने पनि बताए ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने बताएका हुन् । गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको जिकीर गरे ।
एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्धा भएकाले जनताको भावनाकाे कदर गरी टुङ्गोमा पुर्याउनुपर्ने धारणा खनालले राखे । उनले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वभाविक रहेकाले कुनै पनि किसिमका आंशका नगर्ने पनि बताए ।
एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने उल्लेख गरे ।
यसअघि कांग्रेस महामन्त्री गगन कुमार थापाले माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, प्रचण्ड, केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भनी छिटाे सदनमा पेश गर्नुपर्ने बताएका थिए । उनले कुनै पनि विषयमा कुरा मिल्न नसके गठबन्धनलाई जोगाइराख्न आवश्यक नहुने पनि बताएका थिए ।
त्यस्तै, नेकपा एमालेका नेता यागेश भट्टराईले अहिले एमालेको प्राथमिकता सरकार नभएर आउने निर्वाचन भएको बताए । उनले अहिलेको सत्तागठबन्धनको जग बलियो नभएकाले यो टुट्नु अनिवार्य रहेको धारणा राखे । भट्टराईले एमसीसीका बारेमा आवश्यक समयमा धारणा राख्ने पनि जानकारी गराए ।
काठमाडाैं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसाे १ बजेका लागि तय भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका छन् ।
तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।
सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले शुक्रबारकाे बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु भने शुक्रबारकाे बैठकमा एमसीसी टेबल हुने बताउँछन् ।
यसअघि नेपाली कांग्रेसले बुधबार नै एमसीसी टेबल गर्ने बताएकाे भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा शुक्रबारसम्मका लागि पर्खिएका थिए । यही कारण पनि शुक्रबारकाे बैठकमा एमसीसी टेबल हुने उनकाे कतिपय कांग्रेस नेताहरुकाे तर्क छ ।
संसद् बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । तर, संसद् बैठकअघि बस्ने बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले अन्तिम कार्यसूची तय गर्ने छ ।
काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ ।
आयोगका अनुसार पछिल्लो पाँच दिनमा जनता प्रगतिशील सामाजिक एकता र नागरिक उन्मुक्ति पार्टी दर्ता भएका हुन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दल दर्ता प्रक्रिया, निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति परिचालन, मतपत्र छपाइ, प्रचार सामग्री तयारीलगायतका निर्णय गरिएको छ ।
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकारहरुसँग भेट गरेका छन् । भेटका क्रममा एमसीसीबारे पनि कुराकानी भएकाे छ ।
गायक राजेश पायल राईले राखेकाे एमसीसीबारेकाे प्रश्नमा प्रचण्डले हाँस्दै भने- पैसा दिनेले खुरुखुरु दिए हुने नि ! यसाे गर्, त्यसाे गर् भन्नपर्छ ? उनले एमसीसी देशकाे हितमा नभएकाे जिकीर पनि गरे ।
उनले सुरुवातमा एमसीसी सम्झाैता संसदबाट अनुमाेदन हुनुपर्ने व्यवस्था नभएकाे तर पछि केपी शर्मा ओली नेतृत्वकाे सरकारले याे व्यवस्था गरेकाे पनि बताए ।
एमसीसीबारे गठबन्धनमा व्यस्त बनेका प्रचण्डलाई बिहीबार कलाकारहरु भेट्न पुगेका थिए । गायक राजेशपायल राई, गायिका कल्पना दाहाल, रीता सिवाकोटी, करिश्मा ढकाल, चेतन सापकोटालगायतका कलाकारहरु खुमलटार पुगेका थिए ।
उनीहरुले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रचण्डसँगकाे भेटबारे कमेडियन सन्दीप क्षेत्रीले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । क्षेत्रीले प्रचण्डलाई भेटेर खुसी लागेको बताएका छन् ।
‘पूर्वप्रधानमन्त्री प्रचण्डसँग बिहानको भेट,’ क्षेत्रीले फेसबुकमा लेखेका छन्,‘उनी पनि मिस्टर ह्याप्पीलाई भेटेर खुसी छन् ।’
काठमाडाैं । स्थानीय तहको निर्वाचन सार्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्चकाे उक्त आदेशपछि ३० वैशाखमा स्थानीय तह चुनाव गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा सर्वोच्चमा सुनुवाइ हुने भएको छ ।
महोत्तरीको भंगवा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले स्थानीय चुनाव रोक्न माग गरी सर्वोच्चमा निवेदन दिएका थिए । त्यसलाई २६ माघमा सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गर्ने आदेश दिएका थिए ।
दरपीठको आदेश विरुद्ध मेयर साह सर्वोच्च अदालत पुगेका थिए । उनले रिट दर्ता गर्न परमादेशको माग गरेका थिए ।
बुधबार त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दरपीठको आदेश बदर गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदन दरपीठ गरेको यस अदालतका रजिस्ट्रारको मिति २०७८/१०/२६ को आदेश बदर गरिएको छ। अरू कुराको रीत पुगेको भए पेश हुन आएको रिट निवेदन दर्ता गरी अरू नियमानुसार गर्नू ।’