Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • महानगरमा सेवाग्राही सर्वेक्षण : ६६ प्रतिशत अनलाइन सेवाको पक्षमा

    महानगरमा सेवाग्राही सर्वेक्षण : ६६ प्रतिशत अनलाइन सेवाको पक्षमा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राही सर्वेक्षणमा सहभागी ५१७ जना उत्तरदातामध्ये ३३९ जना (६६प्रतिशत) ले अनलाइन सेवा होस् भन्ने धारणा व्यक्त गरेका छन् । ३२७ जना अर्थात् ६३ प्रतिशतलाई महानगरपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्सबारे थाहा पाएको बताए ।

    ४७ प्रतिशतले निःशुल्क टोल फ्री टेलिफोन सुविधा छ भन्ने थाहा पाएको बताए । ६२ प्रतिशतले नगरसभा र कार्यपालिकाको बैठक लाइभ आउँछ भन्ने थाहा पाएको बताए ।

    महानगरपालिकामा सेवा लिएर फर्किएपछि गरिएको सर्वेक्षणका क्रममा इच्छा राख्ने सेवाग्राहीलाई फाराम भर्न दिइएको थियो । गएको साउन ३ गते सुरु भएको सर्वेक्षण १७ गतेसम्म चलेको थियो । सर्वेक्षणमा सहभागी ५१७ जनामध्ये १३४ जना अर्थात् २६ प्रतिशत महिला र ३८३ जना पुरुष थिए ।

    यसैगरी १०६ जना अर्थात् २१ प्रतिशत काठमाडौँ महानगरपालिकाको मतदाता थिए । गैरमतदाता ६३ जिल्लाका व्यक्तिहरू थिए । यसमा सबैभन्दा बढी रौतहटबाट ३२ जना अर्थात् ६ प्रतिशत थिए । शैक्षिक योग्यताका हिसाबले सबैभन्दा बढी स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता भएका १८६ जना (३६प्रतिशत) सहभागी भएका थिए । संलग्नताका दृष्टिले सबैभन्दा धेरै विद्यार्थी २२३ जना (४३ प्रतिशत)) थिए । सबैभन्दा कम दैनिक ज्यालादारी, मजदुरी गर्ने १३ जना (३ प्रतिशत) थिए ।

    सर्वेक्षणमा सहभागी भएका मध्ये १३० जना (२५ प्रतिशत) ले मात्र काठमाडौं महानगरपालिकाको वेबसाइट प्रायः हेर्ने कुरा बताए । २६ प्रतिशतले अहिलेसम्म नहेरेको कुरा बताए । ३५९ जना अर्थात् ६९ प्रतिशतले वेबसाइट हेर्नुको मुख्य कारणमा सूचना प्राप्त गर्न भन्ने जवाफ दिएका थिए ।

    २९ प्रतिशत सेवाग्राही वेबसाइटबाट आफू अति नै सन्तुष्ट रहेको बताए । २२८ जना (४४ प्रतिशत ) ले केही मात्रामा सन्तुष्ट रहेको विचार राखे । ४० जना (८ प्रतिशत)ले असन्तुष्टि व्यक्त गरे ।

    सेवा प्राप्त गर्न लागेको समयका विषयमा गरिएको सर्वेक्षणमा ३२१ जना (६२ प्रतिशत) ले सेवाग्राहीले समयमै काम सकिएको बताए । २९६ (५७ प्रतिशत ) जनाले एक घण्टा भित्रै काम सकिएको बताए ।

    २८९ जना (५६ प्रतिशत) सेवाग्राहीले सेवा लिन बढीमा दुई जना कर्मचारी भेट्नु परेको थियो । सेवाको गुणस्तरमा ३१६ जनाले राम्रो लागेको बताए । जुन कूल सहभागीको ६१ प्रतिशत हो । महानगरपालिकाका राम्रा सेवा बारे अरुलाई पनि जानकारी गराउँछु भन्ने ४६२ जना अर्थात् ८९ प्रतिशत थिए । ३३१ जना अर्थात् ६४ प्रतिशतले कार्यालयको भौतिक स्वरूप राम्रो लागेको बताए ।

    १०८ जना (२१ प्रतिशत ) ले खोजेको जस्तो सेवा नपाएकोले सेवा चित्त नबुझेको बताए । ४७ जना (९ प्रतिशत) ले कर्मचारीले राम्रो व्यवहार नगरेको बताए । १६३ जना (३२) ले सेवा चित्त नबुझेका सम्बन्धमा उजुरी गर्न चाहने कुरा बताए ।

    पछिल्लो समयमा लिएको सेवाका विषयमा ५१७ मध्ये १८४ जना (३६ प्रतिशत) ले पछिल्लो १२ महिनाभित्र सेवा लिएको बताएका थिए । सेवामा आएको फरकपनका सम्बन्धमा १३९ जना (२७ प्रतिशत) ले धेरै नै सुधार आएको बताएका थिए भने १५ जना (३ प्रतिशत) ले झन बिग्रेर गएको विचार व्यक्त गरे ।

    १९७ जना (३८%) ले सेवाको पहुँचलाई सरल बनाउने, ९७ जना (१९ प्रतिशत) ले अनलाइन सेवाहरूमा सुधार वा विकास गर्ने, ६८ जना (१३ प्रतिशत ) ले कर्मचारीको व्यवहार सुधार्ने, ४५ जना (९ प्रतिशत) ले सेवाको गुणस्तर अभिवृद्धि गर्ने, ३४ जना (७ प्रतिशत) ले सेवा लिन लाग्ने समय घटाउने, १० जना (२ प्रतिशत) ले सेवाको लागत घटाउने र ४८ जना (९ प्रतिशत ) ले अन्य सुझाव दिएका थिए ।

    सर्वेक्षणले देखाएको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्छन्, ‘सर्वेक्षणले देखाएको सबल पक्षहरूलाई संस्थागत गर्दै सेवाग्राहीहरुबाट व्यक्त विचारहरूका आधारमा सुधार गर्नुपर्ने कुरालाई नीतिगत तथा क्रमिक तवरले सम्बोधन गर्दै लगिनेछ ।’

    आगामी वर्ष यही समयमा एउटै विधिबाट सेवाग्राही सर्वेक्षण गरी सेवाप्रवाहको स्थितिको तुलना गरिने उनको भनाइ छ । सर्वेक्षण कार्यको संयोजन गरेका निर्देशक प्रह्लाद घिमिरेका अनुसार तीन जना कर्मचारी र तीन जना प्रशिक्षार्थी विद्यार्थीको परिचालन गरेर सर्वेक्षण कार्य सम्पन्न गरिएको हो ।

     

  • राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यथिति : विरामी र स्थानीयले गुहारे अख्तियार

    राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यथिति : विरामी र स्थानीयले गुहारे अख्तियार

    काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंलाहरु बाहिर आउन थालेका हुन् ।

    नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा.पुकारचन्द्र श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीय विगत एक वर्षदेखि संघर्षरत छन् । यसअघि पनि अस्पताल व्यवस्थापनविरुद्ध कर्मचारी र स्थानीयले पटक पटक आन्दोलन गरेका थिए ।

    उक्त केन्द्रको पहिलो कार्यकारी निर्देशक भएर प्रत्यारोपण सेवा विस्तार गर्न प्रभावकारी भूमिका निर्वाह गरेर स्थानीय र विरामीहरुको मन जितेका उनी पछिल्लो समय आफ्नै कार्यशैली र हठका कारण आलोचित बनेको स्थानीयबासी बताउँछन् ।

    विश्व अंगदान दिवसका अवसरमा साउन २९ गते मंगलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेपछि डा.श्रेष्ठको कार्यशैली र अस्पतालको प्रशासकीय व्यवस्थापनमाथि प्रश्न उठेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अथिति रहेको कार्यक्रममा स्थानीयले कालो व्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेपछि विवाद थप चर्किएको छ ।

    अस्पतालमा भएको व्यथिति र अनियमितता बढेको भन्दै स्थानीयले ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु’, ‘म मुटु रोग पीडित, मेरो उपचार भएन’, ‘भ्रष्टाचारमुक्त अस्पताल बनाउ’, ‘म कलेजो रोग पीडित, मेरो उपचार भएन’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि मन्त्री पौडेलले घट्नाको नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए ।

    प्रदर्शनपछि स्थानीयसँगको संवादमा मन्त्री पौडेलले गलत गर्ने जोसुकैलाई निलम्बन गर्न कुनै कठिनाइ नहुने दावी गरे । तर कार्यकारी निर्देशक डा.श्रेष्ठले संचारकर्मीको जिज्ञासामा आन्दोलनकारीलाई ‘अराजक समूह’को सज्ञा दिए । उनले आन्दोलनकारीले उठाएका मुद्दाबारे बोल्न चाहेनन् ।

    शक्ति र पैसाको आडमा डा.श्रेष्ठले अस्पतालका चिकित्सक र कर्मचारीलाई दुःख दिने गरेको मात्र होइन उपकरण खरिदमा अनियमितता गरेको आरोप समेत लाग्दै आएको छ । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको साथै अस्पताल विकास समितिको उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै स्थानीयबासी एवम कर्मचारीहरु आन्दोलित छन् ।

    आन्दोलनको नेतृत्व गरिरहेका नविन विष्टका अनुसार अस्पतालमा पाउनुपर्ने सुविधा नपाएको, करोडौं रुपैंयाँमा खरिद गरिएको अत्याधुनिक उपकरण किनेर थन्क्याइएको, विशेषज्ञ डाक्टरहरुलाई जवरजस्ती वर्खास्त गरिएकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको हो ।

    ‘शहीद धर्मभक्तका नाममा अस्पताल खोल्दा जुन उद्देश्य थियो वा जुन किसिमको सुविधा दिने भनियो त्यो केहीपनि पाउन सकिदैन् । विशेषज्ञ डाक्टरहरु विधि र प्रक्रियामार्फत भर्ना भएर अस्पतालमा कार्यरत छन् तर उनीहरुलाई गठन आदेश संशोधन वा समितिको विधान हेरफेर गरेर समेत हटाउने काम भयो । जनतालाई गुमराहमा राखेर सेवा किड्नीको मात्र सेवा दिने अनि कलेजो र मुटुको सेवा दिइरहेको छु भनेर गलत प्रचार गरियो,’ उनले भने,‘हाम्रो एकजना डाक्टरले नेपालमै दुर्लभ मानिएको हर्ट सर्जरी गरेर सफलता पाउनुभएछ । भएको उपकरणलाई प्रयोग गरेर दुर्लभ सर्जरी सफल हुँदा कार्यकारी निर्देशक आफैं ओझेलमा पर्ने डरले विशेषज्ञ डाक्टरलाई नै वर्खास्त गर्ने काम भयो । तर अहिले उपकरण नै थन्क्याएर सेवा बन्द गरिएको छ । व्यथिति अतिनै हुन थालेपछि संघर्ष गर्नुपरेको हो ।’

    भएका डाक्टरलाई दुर्व्यवहार र वर्खास्त गरेर सेवा बन्द गर्ने, भारतीय डाक्टरलाई मोटो रकम बुझाएर भित्र्याउने र अस्पतालको उद्देश्य एवम गठन आदेशमा उल्लेख भएको व्यवस्थालाई लत्याएर अस्पतालमा प्रशासनलले मनपरी गरिरहेको उनले जानकारी दिए । ‘अस्पताल प्रशासनले त मनपरी गरिरहेकै छ तर मन्त्रालयका सचिव नै लेनदेनमा आकर्षित भएर अस्पतालमा प्राप्त हुने सेवा बन्द गराउन त पाइँदैन नि । भएको उपकरण प्रयोग नहुँदा यहाँ आएका चारपाँच जना विरामीको मृत्यु नै भइसक्यो । यो त अति भयो नि,’ विष्टले भने ।

    स्थानीयबासीका अनुसार भएका उपकरण प्रयोग गर्नसक्ने दक्ष सर्जन वा चिकित्सकहरुलाई हटाउने, मंहगो उपकरण थन्क्याउने र विरामीलाई उपचारबाट बन्चित गर्ने गरिएको छ । तीन थरीका मानव अंग प्रत्यारोपण सेवा उपलब्ध छ भनेर प्रचार गर्ने तर स्थान, दक्ष जनशक्ति र स्रोत साधनको अभाव रहेको भन्दै विरामीलाई फर्काउने गरिएको स्थानीयको दाबी छ ।

    जसका कारण लामो समयदेखि कलेजो, फोक्सो, मुटुका विरामी अस्पतालमा आउँदा पनि उपचारबाट बन्चित हुनुपरेको भन्दै स्थानीयबासीले पटक पटक मन्त्रालयसम्मै पुगेर गुनासो गर्दा पनि सुनुवाइ नभएको स्थानीय नागरिक समाजका अगुवा राजेन्द्र पुरीले बताए ।

    ‘कलेजो, फोक्सो, मुटुको उपचार गर्नुपर्ने प्रावधान छ तर यहाँ किड्नीको मात्र उपचार हुन्छ । डा.पुकारचन्द्र श्रेष्ठ आफू किड्नीको डाक्टर भएकाले किड्नीको मात्र उपचार गरेर बस्नुभएको छ । उहाँलाई धन्यवाद भन्नैपर्छ तर अस्पतालले दिने सुविधा र उपकरण उपयोगविहीन बनाउनु त भएन नि,’ उनले अगाडि भने,‘सबै सेवा सुविधा र उपकरण हुँदाहुँदै ठाउँ एवम दक्ष जनशक्ति अभाव देखाएर समाचार लेखाउने र सरकारका माथिल्ला निकायमा दुखेसो सुनाएर आफू चोखो बन्ने काम भएको छ ।’

    भएका डाक्टरलाई कारवाहीका नाममा हटाउने अनि मंहगा डाक्टरहरु झिकाएर विरामीको ढाड सेक्ने काम भएको उनले बताए । ‘यहाँ तीनचार वटा कोठामा उपकरण थन्क्याइएको छ । सम्बन्धित उपकरण चलाउन सक्ने दक्ष डाक्टरहरु हटाइएको छ । लोक सेवा लडेर आएका डाक्टरलाई अनेक वहानामा दुःख दिने काम भएको छ, मुद्दा मामिला गरेर दुव्र्यवहार गर्ने काम अब सहन सकिदैन,’ उनले भने ।

    यसअघि तीन जना स्वास्थ्यमन्त्रीलाई भेटेर समस्या सुनाइसकेको भएपनि सुनुवाइ नभएको उनले दुखेसो गरे । ‘हामीले समस्या सुनाएको प्रदिप पौडेल चौथो मन्त्री हुनुहुन्छ । उहाँसँग ठूलो आशा छ । अस्पतालमा नेपाल सरकारले दिएको सुविधा डा.पुकारचन्द्र श्रेष्ठकै कारण बन्द भएको जानकारी गराइसकेका छौं । अस्पतालमा उपकरण पनि छ, मुटु, कलेजो र फोक्सोको शिर्षकमा बेग्लावेग्लै बजेट आउँछ तर काम नभएपछि बजेट कहाँ गइरहेको छ ?’ उनको प्रश्न छ ।

    विरामीको अप्रेसन गर्नुपर्दा बाहिरका डाक्टर बोलाएर विरामीको ढाड सेक्ने, आएका विरामीलाई अन्य अस्पतालमा रिफर गरेर डा.पुकार आफै वा आफू निकटका डाक्टरलाई अप्रेसन गर्न लगाउने, स्थायी डाक्टरहरुलाई काम गर्ने अवसर नदिने र स्थानीयलाई तुच्छ नागरिक सम्झिने डा.पुकारचन्द्र श्रेष्ठको रवैया अब धेरै सहन नसकिने पुरीले बताए ।

    उपकरण थन्काइयो

    राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आवश्यक उपकरण, जनशक्ति र भौतिक पूर्वाधारको अभाव भनेर प्रचार गरिएपनि भएकै उपकरण प्रयोगमा नआएको स्थानीयको भनाइ छ । हप्तामा करिब १० वटा भस्कुलर सर्जरी गर्न सकिने सामान बिग्रेको भनि सो सेवा बन्द गराइएको, हप्ताको १० वटासम्म हुने कलेजोको अप्रेसन बन्द गराइएको स्थानीयको भनाइ छ । मुटु र फोक्सोको उपचारको लागि ल्याएको सामान पनि उपयोग नै नगरी थन्काइएको अस्पतालकै कर्मचारीहरुले बताउने गरेका छन् ।

    नेपालमा विरलै अस्पतालमा उपलब्ध हुने इक्मो मेसिन समेत थन्क्याएर राखिएको, इन्डोस्कोपि मेसिन सुचारु हुँदाहुँदै नयाँ मेसिन खरिद गर्न प्रक्रिया अगाडि बढाइएपछि अस्पताल कर्मचारीहरु नै असन्तुष्ट देखिएका छन् ।

    भेन्टिलेटरबाट पनि बाँच्न नसकेको विरामीलाई अति विशिष्ट उपचारबाट बचाउन सकिने इक्मो मेसिन, हर्टअट्याक भएका विरामीलाई तुरुन्तै बचाउन सक्ने अति संवेदनशील क्याथ ल्याब मेसिन, मुटुको वाइपास अप्रेसनलगायत जटिल अप्रेसनहरुमा प्रयोग गरिने हर्ट लंग मेसिन साथै आइएबिपी जस्ता करोडौं मूल्यका उपकरण चलाउँदै नचलाइन थन्काइएको सोही अस्पतालका कार्डियोभास्कूलर सर्जन डाक्टर संजित कुमार शाहको भनाइ छ ।

    ‘खरिद गरिएका उपकरणहरु प्रयोग गर्ने हो भने स्थानीय नागरिकले बुझ्नुपर्छ । किन प्रयोग भइरहेको छैन् खोजविन गर्नुपर्छ । करोड होइन अर्बौंको उपकरण थन्क्याएर अस्पताल अर्थात सरकारले के गरिरहेको भन्ने कुरा विरामी एवम स्थानीय नागरिकले बुझ्न र खोज्नसक्नुपर्छ,’ डा.शाहले अगाडि भने,‘राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएका उपकरण संचालनमा ल्याएर अस्पताललाई सुविधा सम्पन्न बनाउनुको साटो व्यवस्थापन र समिति अग्रसर नहुनुको पछाडि केही रहस्य लुकेको छ भनेर स्थानीयले खोज्नुपर्छ । सिमित व्यक्तिको एकाधिकारका कारण विरामी र स्थानीयलाई गुमराहमा राख्न पाइँदैन ।’

    अख्तियारमा पुग्यो मुद्दा

    प्रत्यारोपण केन्द्रमा कार्यरत केही चिकित्सकहरुले अन्य अस्पतालमा गएर पार्ट टाइम काम गर्ने गरेको, करोडौंको उपकरण थन्क्याएर राज्यको सम्पत्ति उपयोगवीहिन बनाइएको साथै गैर कानुनी रुपमा अंक प्रत्यारोपण गरेकोलगायतका विषयलाई लिएर अस्पताल भित्रकै कर्मचारी, विरामी र स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गएका छन् ।

    २०८१ साउन २७ गते सि ००८५६९ र २०८० चैत्र १२ गते सि ६५२३४३ मा अख्तियारमा मुद्दा दर्ता गराइएको छ । त्यसबाहेक आधा दर्जन मुद्दा अख्तियारमा दर्ता छन् । साउन २७ गते दर्ता भएको मुद्दामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नै तीन जना कलेजोका विरामीको कानुन विपरित प्रत्यारोपण गरेको भन्दै मुद्दा परेको छ ।

    नेपाल सरकार (खण्ड ६६) अतिरिक्ताङ्क १४ क नेपाल राजपत्र भाग ३ मिति २०७३।०८।१६ मा प्रकाशित कलेजो प्रत्यारोपणका लागि डकम्पेनसैटेड सिरोसीस भएका विरामीहरुले कलेजो प्रत्यारोपणका लागि चाहिने मापदण्ड श्रेणी मिडल फर इन्ड स्टेज लिभर डिजिज तालिका ए प्राप्ताङ्क १५ भन्दा माथि हुनुपर्ने व्यवस्था स्पष्ट हुँदाहुँदै डा. पुकारले १५ भन्दा कम अंक भएको एमइएलडी १० को एकजना, एमइएलडी १२ का दुई जना विरामीको कानुनमा व्यवस्था भएको एमइएलडी तालिका विपरित प्रत्यारोपण गरेको भन्दै डा.पुकारमाथि गम्भीर छानविन हुनुपर्ने माग राखिएको छ । यसअघि पनि उनीमाथि नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोप लागेको थियो भने उमेर हद नाघेर र विभिन्न काण्डमा उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो । (नेपाल न्यूज बैंक)

  • सौर्य एअर दुर्घटना: पाइलट शाक्य ‘प्रोफेशनल इथिक्स’मा चुक्दा आमा छोराको गयो ज्यान !

    सौर्य एअर दुर्घटना: पाइलट शाक्य ‘प्रोफेशनल इथिक्स’मा चुक्दा आमा छोराको गयो ज्यान !

    काठमाडाैं । बुधबार बिहान साैर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । विमान ‘सी चेक’का लागि पाेखरा जान लागेकाे थियाे ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको आफ्नै ‘ह्यांगर’ छैन । एयरलाइन्सका अनुसार यो विमान सी–चेकका क्रममा पोखराको नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा लैजान लागिएकाे थियाे ।

    के हाे ‘सी चेक’ ?

    विमानको ‘सी–चेक’ एक प्रकारको उन्नत किसिमको परीक्षण हो जसमा विमानका धेरै प्रणालीहरु र अवस्थाहरुको बारेमा विस्तृत जाँच गरिन्छ । विमान व्यवसायिक उडानका लागि तयार छ वा छैन भनेर जाँच गर्न यो परीक्षण गरिन्छ र यसमा धेरै विस्तृत किसिमको जाँच हुन्छ ।

    यो परीक्षणमा विमानको इन्जिन, बडी, भित्री र बाहिरी प्रणाली, ल्याण्डिङ गियर लगायत विमानको बाहिरी र भित्री प्रणालीको विस्तृत परीक्षण हुन्छ । विमानमा संचारका लागि पाइलटले प्रयोग गर्ने उपकरणहरु लगायत यात्रुहरुका लागि राखिने अक्सिजन आपूर्ति प्रणालीलगायत अन्य कुराहरुको पनि सी–चेकमा परीक्षण हुन्छ ।

    विमानको सबै प्रणालीको परीक्षण गरिसकेपछि मात्रै विमान व्यवसायिक उडानको लागि योग्य छ वा छैन भन्ने निर्धारण हुन्छ । विमानको सी–चेक सामान्यतया १८ देखि २४ महिनामा वा निश्चित घण्टा उडान गरिसकेपछि गरिन्छ । सी चेकका लागि एक देखि चार हप्तासम्मकाे समय लाग्छ ।

    विमानको परीक्षण गर्नका लागि ‘ए–चेक’, ‘बी–चेक’ र ‘डी–चेक’ नामका अन्य परीक्षण पनि हुन्छन् तर ‘सी–चेक’ ती परीक्षणभन्दा पनि विस्तृत र व्यापक हुन्छ । ‘सी–चेक’मा ए, बी, र डी चेकमा गरिने सबै परीक्षणहरु पनि समावेश हुन्छन् । यो विमानको सबैभन्दा विस्तृत र उन्नत परीक्षण हो ।

    सी चेकमा विशेषज्ञहरुले विमानको इन्जिन, हाइड्रोलिक, इलेक्ट्रिकल सिस्टम, एभियोनिक्स र फ्लाइट कन्ट्रोलको निगरानी गर्छन् ।

    एअरलाइन्स र क्याप्टेनले गरेकाे गम्भीर लापरवाही !

    बुधबार पाेखरामा ‘सी चेक’का लागि जान लागेकाे विमानमा क्याप्टेनकाे पनि गम्भीर लापरवाही देखिएकाे छ । सामान्यतया, सी चेकमा जान लागेकाे विमानले कमर्सियल उडान गर्दैन । ठूला जहाजमा पनि प्राविधिक र क्रु मेम्बर गरेर १०–१५ जना हुन सक्छन् । साना जहाजमा आवश्यकीय मात्रामा प्रावधिकहरुमात्र लैजान सकिन्छ ।

    जाँचका लागि लैजान लागिएकाे विमानमा सौर्य एयरमै प्राविधिकका रूपमा कार्यरत मनुराज शर्माले उर्जा मन्त्रालयमा कार्यरत आफ्नी श्रीमती प्रिज्मा खतिवडा र छोरा अधिराज शर्मासमेत लगेका थिए । जाँचका लागि लैजान लागिएकाे विमानमा प्राविधिकका छाेरासमेत श्रीमती राखिएपछि जहाजका क्याप्टेनले राेक्नुपर्थ्याे । जहाजका क्याप्टेन मनिषरत्न शाक्यले ‘सी जाँच’ उडानकाे सामान्य अनुशासन पालना गरेकाे भए प्रिजा खतिवडा र उनका छाेरा अधिराज शर्मा काठमाडाैंमा राेकिन्थे ।

    जाँचका लागि लैजान लागिएकाे विमानमा कति यात्रु राख्ने भन्ने निर्धारण क्याप्टेनले गर्न सक्थे । बुधबार दुर्घटनाग्रस्त विमानका क्याप्टेन साैर्य एअरलाइन्सका चिफ अफ अपरेशन पनि हुन् । यसकारण उनी जहाज चालकमात्र नभएर समग्र साैर्य एअरलाइन्सकाे व्यवस्थापनकाे जिम्मेवारी लिएका व्यक्ति पनि हुन् । उनले सी जाँचका लागि लैजान लागेकाे विमानमा यति धेरै मानिस राख्नु त्रुटीपूर्ण नै छ ।

    धेरै मात्रामा प्राविधिक लैजाँदा चेकजाँचकाे काम छिटाे हुने एउटा तर्क त छँदैछ यदि यस्ताे अवस्थामा थाेरै प्राविधिकमात्र विमानमा राखेर अन्य जनशक्ति अर्काे विमानमार्फत पनि लैजान सकिन्थ्याे । तर साैर्य एअरलाइन्सले त्यसाे नगरेर जाँचका लागि जान लागेकाे विमानमा १९ जना यात्रु राखेर उडान भर्‍याे ।

    दुर्घटनामा १८ जनाले ज्यान गुमाए । जहाजमा सवार एयरलाइन्सका सेफ्टी चिफ सागर आचार्य, सीए एमओ म्यानेजर अश्विनकुमार निरौला, मेन्टिनेन्स म्यानेजर यज्ञप्रसाद पौड्याल, जहाजका क्याप्टेन समेत रहेका चिफ अफ अपरेसन्स मनिषरत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिसर) दिलिप बर्मामध्ये क्याप्टेन शाक्यलाई मात्र जीवित उद्धार गरियाे ।

    दुर्घटनामा परी अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुलीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडाको निधन भएको छ ।

  • ‘जापानकाण्ड’ सानिमाका सीईओ निश्चलराज पाण्डेसमेत संलग्न, तीन करोड ठगी २१९ जना विचल्ली !

    ‘जापानकाण्ड’ सानिमाका सीईओ निश्चलराज पाण्डेसमेत संलग्न, तीन करोड ठगी २१९ जना विचल्ली !

    काठमाडौं । भेट्टाएको नागरिकताबाट कम्पनी खोलेर तीन करोड रुपैयाँ ठगीको घटना सानिमा बैंकसँगको मिलिभगतमा भएको पाइएको छ । उदयपुरका नारायणबहादुर राई र बाजुराका पर्वराज पाण्डेको हराएको नागरिकता भेट्टाएर रामेछापका राजन श्रेष्ठ र झापाका इश्वरी पाण्डेले कन्सल्टेन्सी दर्ता गरी ठगी गरेका थिए । उनीहरुले त्यही भेट्टाएको नागरिकता प्रयोग गरेर काठमाडौंको पुतलीसडकमा रहेको सानिमा बैंकको शाखामा खाता खोलेका थिए ।

    खाता खोल्ने व्यक्तिको फोटो र नागरिकता फरक–फरक हुँदा पनि बैंकले खाता खोलिदिएको थियो । यसरी खाता खोलिनुमा बैंकका सीईओ निश्चलराज पाण्डेकै संलग्नता रहेको पाइएको छ ।

    ठगीमा संलग्न इश्वरी पाण्डे र सानिमा बैंककाे शाखा प्रबन्धक पोषण पाण्डे साथी हुन् । उनीहरुको आपसी चिनजान र साथीको सम्बन्धका कारण राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता र आफ्नै फोटो प्रयोग गरी बैंकमा खाता खोलेका थिए ।

    श्रेष्ठ र पाण्डेले वैदेशिक रोजगारमा जापान पठाइदिने भनेर २ सय १९ जनाबाट पैसा लिएका थिए । यसमा सानिमा बैंकको शाखाले उनीहरुलाई पूर्ण रुपमा सहयोग गरेको प्रष्टै देखिन्छ ।

    बैंकले भेरिफाइमा लापरबाही गर्दा सर्वसाधारणहरु ठगिएकाले यो प्रकरणमा बैंकमाथि पनि अनुसन्धान गर्नुपर्ने प्रहरी प्रतिवेदनको निष्कर्ष छ । तर यहाँ बैंकले भेरिफाइमा लापरवाही गरेको भन्दा पनि बैंकका सिईओदेखि शाखा प्रबन्धकसम्मको मिलेमतोमा नै यो ठगी भइरहेको देखिन्छ ।

    नागरिकता एक जनाको र फोटो अर्कैको प्रयोग गर्दा पनि सजिलै खाता खोलिनुमा बैंकमाथि आशंका स्वभाविक रुपमा नै गर्न सकिन्छ । त्यसमाथि पनि यहाँ ठगीमा संलग्न व्यक्ति, बैंक शाखाका शाखा प्रबन्धक र बैंकको सीईओको कनेक्सन र साथीको सम्बन्धबारे मुख्य अभियुक्त राजन श्रेष्ठले प्रारम्भिक बयानमा नै बताएको स्रोतले जनाएको छ ।

    भेरिफाइमामात्र लापरवाही भएको भए शाखामा कार्यरत पोषण पाण्डे कारबाहीमा पर्थे तर उनको बचाउमा बैंकका सिईओ निश्चलराज पाण्डे लागेका छन् । यसबाट पनि सानिमा बैंक आर्थिक अपराधको मतियार बनिरहेको प्रष्ट देखिन्छ ।

    यही विषयमा राष्ट्र बैंकले पनि चासो राखेर सानिमा बैंकलाई कारबाही हुनसक्ने बताएको थियो तर हालसम्म कारबाही भने भएको छैन ।

    सानिमा बैंकलाई कारवाही गर्न अर्थ समितिमा सांसदको ध्यानाकर्षण, गभर्नर भन्छन्– कसैलाई छोड्दिन

    आर्थिक अपराधको मतियार सानीमा बैंकमाथि अनुगमन गर्दै राष्ट्र बैंक, हुनसक्छ लाइसेन्स खारेजीसम्मको कारबाही !

    यसरी सुरु भएको थियो अपराधको शृंखला

    उदयपुरका नारायणबहादुर राई करिब एक दशकअघि ज्यामी काम गर्थे । भैंसेपाटीबाट नारायणस्थानमा काम गर्न साइकलमा जाँदा उनको नागरिकतासहितको पर्स हराएको थियो ।

    अहिले पठाओ चलाएर दैनिक गुजारा चलाइरहेका उनै राईविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको थियो । करिब ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका राईमाथि प्रहरीले अनुसन्धान अघि बढायो ।

    नगरेको अपराधमा संलग्न भएको पाइएपछि नारायण राई अचम्ममा परे । यअसघि बाजुराका पर्वराज पाण्डेलाई प्रहरीले पक्राउ गरेर एक दिन हिरासतमा राखिसकेको थियो ।

    उनीहरुको नागरिकता प्रयोग भएर बैंक खाता खोलिएको र जापान जानेहरुले सोही बैंक खातामा रकम जम्मा गरेका थिए । तर अनुसन्धानका क्रममा भने पर्वराजको पनि हराएको नागकिरता प्रयोग गरेर बैंक खाता खोलेर ठगी गरेको र नारायण राईको पनि हराएको नागरिकता दूरुपयोग भएको खुलेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो ।

    भेट्टाएको नागरिकताबाट पुतलीसडकमा नियोनी एडुकेशन कन्सल्टेन्सी खोलेर केहीलाई विद्यार्थी भिसामा र केहीलाई कामदार भिसामा जापान पठाउने भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका–१ घर भइ ललितपुरको भैसेपाटी बस्ने ४६ वर्षीय ईश्वरी पाण्डेले ठगी गरेका थिए ।

    उनीहरुले भेट्टाएको नागरिकता अनुसार नै आफूहरुलाई चिनाएका थिए । रामेछापका राजन श्रेष्ठले आफूलाई उदयपुरका नारायण राई भन्थे भने झापाका इश्वरी पाण्डेले आफूलाई बझाङका पर्वराज पाण्डे भन्थे ।

    वैदेशिक रोजगारीका नाममा आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

    वैदेशिक रोजगार विभागमा उजुरी परेपछि विभागले अनुसन्धान नै नगरी बैंक खाताको विवरण अनुसार र कन्सल्टेन्सी कसको नाममा छ उसैको नाममा पक्राउ पूर्जी जारी गरेपछि ठगीमा सम्बन्धित नै नभएका पर्वराज पाण्डे र नारायण राईले केही समय सास्ती खेपेका थिए ।

    प्रहरीले अनुसन्धान गरेपछि बल्ल बैंक खाता खोल्दा पाण्डे र राईको नागरिकता प्रयोग भएको तर फोटोमा भने अर्कै व्यक्तिको फोटो टाँस गरेर ठगी भएको खुलेको थियो ।

    भेट्टाएको नागरिकताबाट कन्सल्टेन्सीदेखि बैंक खातासम्म खोलेर ठगी गरेको खुलेपछि पर्वराज र नारायणबहादुरले छुटकारा पाएका थिए ।

    वैदेशिक रोजगार विभागद्वारा अभियोगपत्र दायर

    आफूलाई नारायण राई बताउने राजन श्रेष्ठ र पर्वराज पाण्डे बताउने इश्वरी पाण्डेसहित अर्का एक फरार व्यक्ति ओखलढुंगाका ५१ वर्षीय मानबहादुर तामाङ विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेको छ ।

    तीनजना विरुद्ध दर्ता गरेको अभियोग पत्रमा १ करोड ५६ लाख ८२ हजार रकम ठगी भएको भनी उल्लेख गरिएको छ ।

    दीपबहादुर तामाङ, सुमन घिमिरेसहित ४९ जनाले उनीहरुविरुद्ध ठगीको उजुरी दिएका छन् । वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ मा इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजायको व्यवस्था गरेको छ ।

    इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ भने विदेश पठाइ नसकेको भए सो सजायको आधा सजाय हुने व्यवस्था छ ।

    सम्बन्धित समाचारहरु :

    आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !

    हराएको नागरिकता प्रयोगगरी करोडौं ठगी, मतियार बन्दै बैंक [भिडियो सहित]

  • संविधान शंसोधनका लागि वौद्धिक वहस शुरु

    संविधान शंसोधनका लागि वौद्धिक वहस शुरु

    काठमाडौं । गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशीता र संघीयता नेपालको संविधानको मुल मर्म हो । तर संविधान कार्यान्वयनमा समस्या आउँदा यसको पुनरावलोकनको वहस चर्किएको छ । संविधानबारे जानकारहरु संविधान संशोधन गर्नुपर्नेमा अडिक देखिएका छन् ।

    यसका लागि औपचारिक रुपमा बौद्धिक क्षेत्रबाट बहस सुरु भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाको अग्रसरतामा आजदेखि औपचारिक रुपमा बौद्धिक बहस सुरु भएको हो । संसद् दिवसको अवसर पारेर आजदेखि सुरु भएको बहस निरन्तर रुपमा सञ्चालन गर्ने संस्थापनाका उपाध्यक्ष तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार दलका शीर्ष नेता, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, सांसद, पूर्व सांसद, विज्ञ, कानुन विद्, सरोकारवालालगायतसँग श्रीङखलाबद्ध रुपमा छलफल चलाउने तयारी भएको छ । संस्थापनाले आयोजना गरेको पहिलो कार्यक्रममा सहभागी सबैले संविधानको पुनरावलोकन आवश्यक रहेकोमा ऐक्यबद्धता जनाउँदै प्रक्रियाका बारेमा भने फरक फरक सुझाव तथा रायहरू राखेका थिए ।

    कार्यक्रमको सुरुमा संविधान सभा सदस्य तथा वरिष्ठ संविधानविद् राधेश्याम अधिकारीले पुनरावलोकनको आवश्यकता रहेका संवैधानिक व्यवस्थाहरूको सूची प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा पूर्वकानुनमन्त्री तथा संविधान सभा सदस्य एमाले नेता अग्नि खरेल, संविधान सभा सदस्य किरण यादव, पूर्व सांसद रामनारायण विडारी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, काँग्रेस सांसद उदय शमसेर राणा, राप्रपा नेता निरञ्जन थापा, प्राध्यापक कपिल श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, रामकृष्ण निराला, रक्षा बस्याललगायतले संविधान संशोधनको आवश्यकता रहेकोमै जोड दिए ।

    अधिकांशले संविधानका मूल विषयहरू लोकतन्त्र, गणतन्त्र, समानुपातिक र संघीयतालाई चलाउन नहुने र त्यसलाई थप प्रभावकारी बनाउने उपायहरू थप्नुपर्ने राय राखे । सहभागी सबैको एउटै स्वर थियो, ‘संविधानमा केही समस्या छन्, तर त्यो भन्दा बढी समस्या यसको कार्यान्वयनकर्ताहरूमा छ ।, त्यसैले कार्यान्वयनकर्ताहरूलाई नै जिम्मेवार बनाउने गरी संशोधन गरिनु पर्दछ ।’

    कार्यक्रममा काँग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, एमाले सांसद रघुजी पन्त, पूर्व निर्वाचन आयुक्त वीरेन्द्र मिश्र, पूर्वराजदूत सनिल नेपाललगायतको पनि सहभागिता रहेको थियो ।

  • ब्राजिलमा बालेनले भने: ठूला सहरमा जनसंख्याको चाप घटाऔँ

    ब्राजिलमा बालेनले भने: ठूला सहरमा जनसंख्याको चाप घटाऔँ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् ।

    ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मेट्रोपोलिस नीति वहस’ शीर्षकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त जानकारी दिँदै बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीतिको खाँचो औंल्याएका हुन् ।

    ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो,’ बालेनले भनेका छन् ।

    निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते सञ्चालन भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयर राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा सहभागी बनेका थिए ।

    उनले सो बहसमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरु नजिक रहेका सहरहरुमा पुर्‍याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्नेमा जोड दिएका थिए ।

    ‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन, गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ ।’ उनले भनेका थिए ।

    नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो ।

    बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी शाहले गराएका थिए ।

    प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

    बैठकमा भाग लिन प्रमुख शाह असार ३ गते ब्राजिल गएका थिए ।

  • पूर्व मुख्यमन्त्रीमाथि बौद्धिक चोरीको आरोप, प्रदेश सांसद सुवेदी र अधिकारीको जुहारी !

    पूर्व मुख्यमन्त्रीमाथि बौद्धिक चोरीको आरोप, प्रदेश सांसद सुवेदी र अधिकारीको जुहारी !

    कास्की । गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले खगराज अधिकारी नेतृत्वको सरकारमाथि बौद्धिक चोरीको आरोप लगाएका छन् ।

    प्रदेश सभामा चलिरहेको नीति तथा कार्यक्रमको छलफलमा सुवेदीले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले ल्याएको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्रमा केही नारा र फोटो फेरेर जस्ताको तस्तै उतारेर पुनः प्रकाशन गरी अधिकारी सरकारले बौद्धिक चोरी गरेको बताए ।

    यसअघि बजेटको सिद्धान्त र छलफलका क्रममा सुवेदीले सरकार अविछिन्न उत्तराधिकारी संस्था भए पनि केही नारा र फोटो फेर्नकै लागि अधिकारी सरकारले आधारपत्र परिमार्जन गरेको बताएका थिए ।

    त्यसको जवाफ बिहीबार संसदको रोस्ट्रमबाट दिँदै पूर्वमुख्यमन्त्री खगराज अधिकारीले निष्ठाको राजनीतिमा लागिरहेको आफूलाई फोटोको कुनै मोह नभएको बताएका थिए । अध्ययनशील मानिएका प्रदेश सभा सदस्यबाट तुच्छखालका शब्दहरु प्रयोग गरिनु संसदकै मर्यादा विपरीत रहेको अधिकारीको भनाइ थियो ।

    प्रदेश सभा सदस्य सुवेदीले शुक्रबारको छलफलमा पहिलो आधारपत्रको नक्कल गरी दोस्रो सार्वजनिक गर्दा पहिलोलाई आभार समेत व्यक्त नगरिएको भनेर गुनासो गरे ।

    उनले भने ‘२०५१ सालदेखि फोटो टाँस्दै आउनुभएको माननीयलाई फोटो टाँस्ने रहर नभए पनि योजना आयोगमा नियुक्त भएकाहरुको फोटो टाँस्ने रहरलाई रोक्न सक्नुपथ्र्यो ।’ रुपान्तरणका १४ वटा क्षेत्र परिमार्जन नगरी केबल फोटो र नारामात्र परिवर्तन गरिएको उनको भनाइ छ ।

    बिहीबार करिब एक घण्टासम्म बोलेका अधिकारीले नीति तथा कार्यक्रम समाजवादतर्फ उन्मुख गराउने नभएकाले एमालेको तर्फबाट समर्थन योग्य नरहेको बताएका थिए ।

    यसक्रममा नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा अधिकारीले गम्भीर आपत्ति जनाए । उनले भने ‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त मसिहा ठान्छ आफूलाई । मैले चस्मा खोलेर पनि हेरेँ, लाएर पनि हेरेँ, त्यो विषय कहीँ पनि उल्लेख छैन । किन यस्तो पर्न गयो ? यथेष्टै पुगेको हो त ? अज्ञानतावस होइन, ज्ञान नभएको भनौँ भने न्याय इन्साफ नगरेको भन्नु होला ।’

    यसको जवाफमा पनि अधिकारीलाई लक्षित गरी सुवेदीले दृष्टिमा समस्या देखिएकाले चश्मा फेर्न अथवा सन्दुक रुइतसँग जँचाउन पनि सुझाव दिए ।

  • ‘निम्सदाई’बारे संसदमा माननीय: झण्डामा झुक्किए कि नियतमै खोट !

    ‘निम्सदाई’बारे संसदमा माननीय: झण्डामा झुक्किए कि नियतमै खोट !

    काठमाडाैं । सन् २०१९ काे नाेभेम्बरमा अमादब्लम हिमालमा कुवेतको झण्डा राखिएको विवाद यतिबेला नेपालको संसदमा चर्चामा छ । गोरखाबाट निर्वाचित सांसद राजेन्द्र बजगाईँले कीर्तिमानी आरोही निर्मल पूर्जा अर्थात् निम्सदाई माथि आरोप लगाएर उनीमाथि नेपालमा प्रतिबन्ध नै लगाउनुपर्ने माग राख्दै आएका छन् । उनले यतिमात्र नभएर पूर्जामाथि हिमाल आरोहणका क्रममा भएका विविध अपुष्ट आरोप पनि लगाइरहेका छन् ।

    यद्यपी, उनको आरोप प्रतिशोधपूर्ण भएको पूर्जाको प्रतिक्रिया छ । सांसद बजगाईँ पर्यटन व्यवसायीसमेत भएकाले उनले प्रतिशोधपूर्ण आरोप लगाइरहेको पूर्जा बताउँछन् ।

    सन् २०१९ को नोभेम्बरमा नेपालको आमादब्लम हिमालको चुचुरोको एउटा ठूलो हिस्सा ढाकिने गरी कुवेतको झण्डा राखिएपछि विवाद उत्पन्न भएको थियो । सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि बौद्धिक जगतबाट आलोचना भएको थियो ।

    ‘सेभेन समिट’ मार्फत अमादब्लम गएका कुवेती टोलीले उक्त झण्डा त्यहाँ फहराएको थियो । उक्त टोलीलाई पूर्जाको टोलीले सहयोगमात्र गरेको थियो । करिब १५० किलोग्राम तौल भएको उक्त झण्डा त्यहाँ फहराउनका लागि निकै कठीन भएकाले आफूले सहयोगमात्र गरेको पूर्जा बताउँछन् । तर सांसद बजगाईँले उक्त झण्डा पूर्जाले लगेजसरी उनीमाथि प्रतिबन्धको माग उठाइरहेका छन् ।

    वास्तवमा पूर्जा सहयोगी स्वभावका छन् । आरोहणमा छँदा उनी र उनका सहयोगी समस्यामा परेका अन्य पर्वतारोहीलाई उद्धार गर्छन् । उनले आफ्नो रेकर्ड ब्रेकको अवस्थामा पनि समस्यामा परेका कयौँ मानिसहरुलाई उद्धार गरेको दृष्टान्त छन् ।

    कुवेतको सबैभन्दा ठूलो आकारको झण्डा दाबी गरेर ‘असम्भव काम सम्भव’ गराइएको भनिए पनि त्यसलाई एउटा जोखिमपूर्ण कामको रूपमा धेरैले औँल्याएपछि पर्यटन मन्त्रालयले झण्डा जफत गरेको थियो । पछि उक्त झण्डा कुवेत फिर्ता पठाइयो ।

    उक्त झण्डासहित कुवेती टोली सेभेन समिटमार्फत आएका थिए । पछि कुटनीतिक तहबाट झण्डा फिर्ता पठाउने निर्णय भएपछि सेभेन समिटमार्फत नै झण्डा पठाइएको थियो ।

    १ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको करिब १ सय ५० किलोग्रामको झण्डा जफत गरिएपछि डेढवर्षसम्म भृकुटीमण्डपस्थित पर्यटन विभागको स्टोरमा राखिएको थियो । २०७७ माघ १८ गते तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयबाट उक्त झण्डा नेपाल पर्वतारोहण संघ (एनएमए) मातहको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सजाउने निर्णय गरेका थिए । त्यसपछि झण्डा पोखरास्थित संग्रहालयमा पठाइएको थियो । तर लगत्तै पर्यटन मन्त्रायलये झण्डा फिर्ता मागेर सेभेन समिटलाई झण्डा फिर्ता गर्न भनेको थियो ।

  • ‘निम्सदाई’ माथि प्रतिबन्ध लगाउन माग गर्ने कांग्रेस सांसद बजगाईँको गृहजिल्लामै विरोध

    ‘निम्सदाई’ माथि प्रतिबन्ध लगाउन माग गर्ने कांग्रेस सांसद बजगाईँको गृहजिल्लामै विरोध

    काठमाडौं। कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’ माथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्तिको उनकै गृहजिल्ला गोरखामा बिरोध भएको छ। गोरखाबाट निर्वाचित सांसद बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण भएको भन्दै युवाहरुले प्लेकार्डसहित बिरोध प्रदर्शन गरेका हुन्।

    बिरोध प्रदर्शनको क्रममा युवाहरुले “राजेन्द्र बजगाईँ माफी माग”, “माननीय ज्यु गोरखाको जनताको कुरा बोलौं, आफ्नो ब्यापारको ईगो नासाधौँ”, “निम्स दाई संगको प्रतिशोध बन्द गर” जस्ता नाराहरु लगाएका थिए।

    गत जेठ २२ गते प्रतिनिधिसभामा बजगाईंले व्यावसायिक पर्वतारोही तथा पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टामाथि यौन दुव्र्यवहारदेखि सगरमाथा चढ्ने डोरी काटेको भनेर अफवाह फैलाएका कारण पूर्जालाई नेपाल प्रवेशमा बन्देज लगाउन माग गरेका थिए ।

    बजगाईँले मंगलबारको बैठकमा पनि फेरि यही कुरा दोहो¥याएका थिए ।

    अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले पनि पर्वतारोही पूर्जामाथि प्रतिबन्ध लगाउने नेपाली कांग्रेसका सांसद बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन् ।

    प्रवक्ता पौडेलले सामाजिक सञ्जालमार्फत सांसद बजगाईँले आफूले खोलेको होटलमा ग्राहक सहयोग नगरेको आधारमा पूर्जालाई खेद्ने दुस्साहस गरेको उल्लेख गरेका हुन् ।

    उनले बजगाईँसँग सदनमा बोल्ने कुनै कुरा नभएकाले यही विषय पटक–पटक उठाइरहेको हो ? भनेर प्रश्न पनि गरेका छन् । पौडेलले सांसद बजगाईँमाथि पनि छानविन हुनुपर्ने उल्लेख गरेका छन् । उनले बजगाईँमाथि ‘टाइगर प्यालेस कसले ल्यायो, कसले भगायो ? नेपालबाट २२५ मिलियन पैसा युके कसले लग्यो ? टुकुचामाथि होटल कसले बनायो ?’ भनेर प्रश्न गरेका छन् ।

  • ‘निम्स दाई’माथि प्रतिबन्ध लगाउने कांग्रेस सांसद बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण

    ‘निम्स दाई’माथि प्रतिबन्ध लगाउने कांग्रेस सांसद बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण

    काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’माथि प्रतिबन्ध लगाउने नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण भएको आरोप अनेरास्ववियुका प्रवक्ताले लगाएका छन् ।

    अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले सामाजिक सञ्जालमार्फत सांसद बजगाईँले आफूले खोलेको होटलमा ग्राहक सहयोग नगरेको आधारमा पूर्जालाई खेद्ने दुस्साहस गरेको उल्लेख गरेका हुन् ।

    उनले बजगाईँसँग सदनमा बोल्ने कुनै कुरा नभएकाले यही विषय पटक–पटक उठाइरहेको हो ? भनेर प्रश्न पनि गरेका छन् । गत जेठ २२ गते प्रतिनिधिसभामा बजगाईंले व्यावसायिक पर्वतारोही तथा पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टामाथि यौन दुव्र्यवहारदेखि सगरमाथा चढ्ने डोरी काटेको भनेर अफवाह फैलाएका कारण पूर्जालाई नेपाल प्रवेशमा बन्देज लगाउन माग गरेका थिए ।

    बजगाईँले मंगलबारको बैठकमा पनि फेरि यही कुरा दोहो¥याएका थिए । त्यसको प्रतिकार गर्दै पौडेलले सांसद बजगाईँमाथि पनि छानविन हुनुपर्ने उल्लेख गरेका छन् । उनले बजगाईँमाथि ‘टाइगर प्यालेस कसले ल्यायो, कसले भगायो ? नेपालबाट २२५ मिलियन पैसा युके कसले लग्यो ? टुकुचामाथि होटल कसले बनायो ?’ भनेर प्रश्न गरेका छन् ।

    यसबारे बजगाईँमाथि छानविन हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

    बजगाईँले गत जेठ २२ मा प्रतिनिधिसभामा पूर्जालाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन माग गरेपछि पूर्जाको समर्थनमा गत बिहीबार अनेरास्ववियुले म्याग्दीको बेनीमा प्रदर्शन गरेको थियो ।