अनिल परियार हत्याको दोषीलाई पक्राउ गरी कारबाही गर्न चितवन कांग्रेसको माग

चितवन । नेपाली कांग्रेस चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

कांग्रेस चितवन सभापति राजेश्वर खनालले सोमबार विज्ञप्ति निकालेर आइतबार राति करिब साढे ७ बजे भरतपुर–७ कृष्णखेल मैदान नजिक अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मृत्यु भएका परियारको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

परियारको हत्या घटनाप्रति कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस बागमती प्रदेश प्रतिनिधि श्री अनिल परियारको मिति २०७९ बैशाख २५ गते साँझ अन्दाजी ७.३० बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समूहबाट धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाप्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

निर्वाचनको प्रचारप्रसारका बेला परियारमाथि भएको सुनियोजित सांघातिक आक्रमणले स्तब्ध बनाएको भन्दै कांग्रेसले घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

‘निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ । उक्त घटनाप्रति नेपाली कांग्रेस चितवन खेद प्रकट गर्दै यस घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ । अन्यथा यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयम प्रशासन हुने छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘दिवंगत आत्माप्रति चिरशान्तिको कामना एवम् भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तव्ध परिवारजनमा गहिरो समवेदन ब्यक्त गर्दछौं ।’

यसैबीच कांग्रेस भरतपुर महानगरले पनि घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१