
काठमाडौ । सर्लाही प्रहरीले लागुऔषध ओनेरेक्स र आरजेई–एससिइएनको दुई सय बोटल सहित दुई जनालाई पक्राउ गरेको छ ।
पर्सा गाउँपालिका वडा नम्वर ६ मङराहा पोखरी स्थित हुलाकी सडकमा प्रहरी चौकी पर्साबाट खटिएको चेकजाँच टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।पर्सा गाउँपालिकाको मङराहा पोखरी स्थित हुलाकी सडकबाट प्रहरीले लागुऔषध सहित सर्लाही लालबन्दी ११ का २६ बर्षीय मुकेश यादव र सोही मोटरसाइकलमा पछाडी सवार १९ बर्षीय संजिव महतोलाई पक्राउ गरेको सर्लाही प्रहरीद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख छ ।
भारतबाट नेपाल तर्फ आउँदै गर्दा ना.४२ प. ४२७० नम्वरको मोटरसाइकलमा आउँदै गरेका अवस्थामा ओनेरेक्स–१०० एमएलको १७० बोटल र आरजेई–एससिइएन–१०० एमएलको २४ बोटल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।लागुऔषध सहित पक्राउ गरिएका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्नका लागि १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।