काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन् ।
उनले भने, ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न । अब संसदमा एमसीसी बारे छलफल हुन्छ । पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ ।’ नेता पौडेलले प्रधानन्यायाधीस चोलेन्द्र सशमसेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको पनि बताए ।
जबरामाथि नेपाल बार एसोसियसन र न्यायाधीशहरुले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनु स्वभाविक भएकाे पाैडेलकाे भनाइ थियाे । ‘नेपाल बार र न्यायाधीशहरुले नै उहाँ माथि प्रश्न उठाउनुभएको थियो । उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउनुभएको थियो । तर, उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन’ पौडेलले भने ।
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय चुनावका साथै संसद बैठकका बिषयमा छलफल भएको बताइएको छ ।
एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला तीन नेताबीच छलफल भएको हो । कांग्रेसले एमसीसीलाई संसदमा छलफल गरेर अनुमोदन गर्नुपर्ने पक्षमा छ भने माओवादी र नेकपा समाजवादी एमसीसी संशोधन गरेर अघि बढाउनुपर्ने पक्षमा छ ।
बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए ।
तर, प्रचण्ड र नेपालले प्रधानमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
स्राेतका अनुसार प्रचण्ड र नेपालले एमसीसी संसद्मा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने कुरा राखेका थिए । स्थानीय तहको चुनावअघि एमसीसी टेबल गर्न नहुने उनीहरुको धारणा छ ।
एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । एमसीसीका बिषयमा विवाद हुँदा संसद बैठकसमेत फागुन २ गतेसम्मका लागि स्थगित भएको छ ।
काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल भएको बताइएको छ ।
एमसीसीलाई लिएर अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेपछि सत्तारुढ दलका नेताहरु दबाबमा छन् ।
फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसीसी अनुमोदन गर्न अमेरिकाले दबाब बढाएपछि नेताहरु अहिले एमसीसी पास गर्नका लागि तीव्र छलफलमा छन् ।
काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गरेर जनता प्रतिकाे गद्दारी र राष्ट्र पराधीन बनाउने काम गर्नु अपराध भएकाे टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले एमसीसीमा नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका प्रावधानहरु रहेकाले याे पास गर्नु अपराध भएकाे उल्लेख गरेका हुन् । उनले एमसीसी पास गर्नेहरु नेपाली जनताकाे नेता नभएकाे पनि बताएका छन् ।
उनले भनेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो । यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन ।’
यसैगरी उनले सत्तारुढ दल नेपाली कांग्रेसलाई उद्योगधन्दा बेचेको आरोप पनि लगाएका छन् । रावलले कांग्रेसले उदारवादको हल्ला चलाएर देशको उद्योगधन्दा खतम पारेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरि बल्झाउँदै छ।’
एमाले नेता रावल अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को खुलेर विरोध गरिरहेका छन् ।
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री देउवालाई भेट्न दाहाल र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा दाहाल र नेपालले अहिलेकाे अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताए ।
कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने उनकाे भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्र एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गरी फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिबद्धताबाट पछि हटेका छन् ।
बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भेटेका थिए । कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको थियाे ।
कांग्रेस नेता काेइरालाले एमसीसी गिजाेलिएकाेले तत्काल यसकाे समाधान गर्न पनि प्रचण्डलाई सुझाव दिएका थिए ।
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् ।
एमसीसी विरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनकाविरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताए ।
उनले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने जिकीर गरे । अहिले संसद र न्यायालयलाई दलहरुले ध्वस्त पार्ने काम गरेको उनको भनाइ छ । उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरेको पनि बताए ।
एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस विषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए । केसीले एमसीसीमार्फत अमेरीकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको जिकीर गरे ।
उनले भने – ‘नेपाली जनता के भेडा हुन् ? बेबकुफ हुन् ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपथ्र्यो । होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो ।’
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै खारेज गर्नुपर्ने धारणा राखेका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसी सम्झौताबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिठी नलेखेको भए देशमा प्रतिगमनको सरकार हुने र एमसीसी सम्झौता पास भइसकेको हुने बताएका छन् ।
एमसीसी सम्झौता पास गराउनका लागि अमेरिकासँग समय मागेको पत्र सार्वजनिक भएपछि प्रचण्डको आलोचना भइरहेका बेलामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र सञ्चारमाध्यममार्फत केही दिनअघि सार्वजनिक भएको थियो ।
‘यो चिठी नलेखिएको भए नेपालमा गठबन्धनको सरकार बन्ने थिएन जसले प्रतिगमनको बाटो रोजेको थियो, उसको नेतृत्वको सरकारले चुनाव गर्नुपर्ने हुन्थ्यो ।’ हुलाक सञ्चारसँगको कुराकानीका क्रममा सांसद किराँतीले भने, ‘यही पत्रका आधारमा प्रतिगमन परास्त भयो । संविधान उल्लंघनको शृंखला चलेको थियो, त्यसको अन्त्य भयो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता केही समयका लागि पर धकेलियो । यी कुराहरु त सम्भव भयो नि !’
अहिले यो पत्रको विषय ‘तिललाई पहाड’ बनेर आएको पनि उनले टिप्पणी गरे । नेपालको इतिहास हेर्ने हो भने देशभक्तमाथि विभिन्न आक्रमण गरी काम गर्न नदिएका कयौँ उदाहरणहरु छन्, यही शृंखलामा प्रचण्डमाथि पनि आक्रमण भइरहेको उनको तर्क छ ।
माओवादीले हालसम्म कुनैपनि राष्ट्रघात नगरेको दाबी सहित उनले प्रश्न गरे, ‘कोशी सम्झौता, टनकपुर सम्झौतालगायतका देशघाती सम्झौता कसको पालामा भएका छन् ? माओवादीको पालामा अहिलेसम्म कहिले राष्ट्रघाती सम्झौता भएको छ ?’
हिमालदेखि तराइसम्मका नागरिक अहिले एमसीसीको विरोध गरिरहेका कारण एमसीसीको विषय आम नागरिकलाई बुझाउनु पर्ने उनको भनाइ छ । उनले भने, ‘एमसीसी संसदबाट पारित हुनुपर्ने किन ? यो अमेरिकी सैन्य रणनीति अन्तर्गत होइन भने त्यहाँको विदेशमन्त्रीले बोलेको किन ? नेपालको संविधानभन्दा माथि यो सम्झौता हुनुपर्ने किन ? आम नेपाली नागरिकलाई बुझाउन पर्दैन यी कुरा ।’ एमसीसीको बारेमा जनमत संग्रह गर्न पनि उनले सुझाव दिए ।
उनले नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति पनि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन भन्ने नै भएको बताए । यसमा अहिले पनि माओवादी केन्द्र स्पष्ट भएको उनको भनाइ छ ।
‘प्रतिगमन पूर्णरुपमा परास्त भइसकेको छैन’
सांसद किराँतीले प्रतिगमन पूर्ण रुपमा परास्त नभइसकेको पनि बताएका छन् । ‘जुन कुराका लागि हामीले गठबन्धन गरेको हौँ, त्यो अझै पनि जारी छ ।’ उनले भने, ‘एमसीसीको कारण गठबन्धन नटुटोस् भन्ने हाम्रो चाहाना हो । गठबन्धन अझै अगाडि लैजानका लागि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन । यो कुरामा हामी स्पष्ट छौँ ।
उनले हिम्मत भए सभामुखमाथि महाअभियोग लगाउन चुनौति पनि दिए । नेकपा माओवादी केन्द्र चुनावबाट नडराएको पनि उनले स्पष्ट पारे ।
काठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सूर्य थापाले नेपाललाई चौतर्फी संकटमा फसाउने काम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेकाे भनी आराेप लगाएका छन् ।
साथै, उनले अमेरिकी सहायता परियोजना (एमसीसी) मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भन्दै त्यसलाई विद्रूप बनाउने काम भएको अरोप पनि लगाएका छन् ।
‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन्,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरी थापाले लेखेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’
एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुने थापाको भनाइ छ । अगाडि उनले भनेका छन् ‘जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव नेपाललगायतको झुन्डले गरिरहेको छ ।’
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का महासचिव शंकर पाेखरेल र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका बीच समसामयिक विषयमा छलफल भएकाे थियाे ।
थापाले छलफलमा पार्टी फुटाएर मन्त्री खान गठबन्धनमा सामेल भएकाहरु उपस्थित नभएकाे भनेर पनि कटाक्ष गरेका छन् । उनले भनेका छन् ‘अझ गठबन्धनमा बसेर चन्दा उठाउँदै सडकमा उत्रिएर दुवै डुंगामा खुट्टा टेकिरहेका नाैटंकीवाजहरूकाे पनि उपस्थिति थिएन ।’
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार बसेकाे बैठककाे तस्बिर र प्रचण्डकाे दुई जिब्रा भएकाे सम्पादन गरिएकाे तस्बिरसहित उक्त पाेस्ट लेखेका हुन् ।
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई गिजोलिएकोले त्यसको परिणाम गम्भीर हुन सक्ने बताएका छन् ।
भित्रभित्र राष्ट्रघात गर्ने तर बाहिर भने राष्ट्रवादका कुरा गर्ने प्रवृत्तिले एमसीसीलाई गिजोलिएको पनि उनकाे टिप्पणी छ ।
माओवादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै भट्टराईले दुईजिब्रे प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले भनेका छन् ‘भित्रभित्र राष्ट्रघात बाहिर-बाहिर राष्ट्रवाद ?, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात, भित्र खाओवाद बाहिर माओवाद ।’
उनले यस्ता प्रवृत्तिले गर्दा नेपाली राजनीति नसुध्रने पनि उल्लेख गरेका छन् ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है !’
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र आइतबार बाहिरिएको थियो ।
उक्त पत्रमा एमसीसी अनुमोदन गर्न केही समय लाग्ने दुवै नेताले उल्लेख गरेका थिए ।
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेको संयुक्त पत्र सञ्चार माध्यममार्फत् बाहिर आएपछि उनले उक्त कुरा स्वीकारसहित पत्र लेखनबारे स्पष्ट पारेका हुन् । प्रचण्डकाे सचिवालयले भनेकाे छ, ‘प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो । र, पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’
देशमा एमसीसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरोध र दवावको अवस्था विद्यामान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एमसीसीबारे गठन गरेको कार्यदलले पनि यसलाई “परिमार्जन बिना पारित गर्न नसकिने” निचोड प्रस्तुत गरेकोले गठबन्धनभित्र यसबारे एउटै मत बनिहाल्ने अवस्था नभएकाले राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको अर्थ नभएकाे पनि सचिवालयले बताएकाे छ ।
याे परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा आफ्नाे पार्टी दृढ भएकाे प्रचण्डले बताएका छन् ।