रुसी सेना युक्रेनको राजधानी किभमा प्रवेश, भीषण युद्ध जारी

रुसी सेना युक्रेनकाे राजधानी किभ नजिक पुगेका छन् । यतिबेला उनीहरु सहरकाे उत्तरी क्षेत्र ओबाेलाेनमा रहेकाे खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट मात्र ९ किलोमिटर टाढा छ ।

रुसको आक्रमणपछि युक्रेनले आफ्नो सम्पूर्ण शक्तिका साथ जवाफ दिने प्रयास गरिरहेको छ । राजधानी कीभ वरपरका क्षेत्रहरूमा ठूलो लडाइ भइरहेको समाचार बीबीसीले उल्लेख गरेकाे छ ।

सहरको बाहिरी भागमा रहेको एयरफिल्डमा युक्रेनी र रुसी सेनाबीच झडप जारी छ । यदि रुसी सेनाले यो एयरफिल्ड कब्जा गरेकाे खण्डमा राजधानी प्रवेश गर्ने बाटो पाउन सक्छ ।

रुसी सेनाले बिहीबार गरेको आक्रमणपछि पूर्वी, उत्तरी र दक्षिणी क्षेत्रमा ठूलो भिडन्त भएको खबर आइरहेकाे छ ।

कीभमा पनि धेरै बिस्फोटहरू भएका छन् ।

उत्तरी क्षेत्रमा भारी गोलीबारी भएको खबर आएकाे छ । यी आक्रमणका बीच युक्रेनी सरकारले सहर भित्रका केही व्यक्तिले रुसका लागि सहयोग गरिरहेको हुन सक्ने चेतावनी पनि दिएको छ ।

युक्रेनले अहिलेसम्म सर्वसाधारण र सैनिकसहित १३७ जनाको ज्यान गएको जनाएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार हालसम्म एक लाख मानिस घरबार छोडेर भागेका छन् ।

बिहीबार राति मात्रै पोल्याण्डको दक्षिण-पूर्वी सहर प्रजेमिस्लमा एक हजार मानिस रेलबाट झरेका थिए ।

यसैबीच, बेलायतका रक्षामन्त्री बेन वाल्लासले बिहीबार बिहानदेखि भएको आक्रमणमा कम्तीमा ४५० रुसी पनि मारिएकाे दाबी गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१