
युक्रेनी राजधानी किभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्य यतिबेला विश्वले हेरिरहेको छ ।
उक्त तस्बिरले अहिले विश्वभर नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ । वास्तवमै विश्वभरि सबैले यो लस्कर लम्कँदै गरेको देख्न सक्छन् ।
प्राप्त विवरणहरू अनुसार सहरतर्फ पुग्दै गर्दा यो झनै विस्तार भइरहेकाे छ । विगत ६ दिनदेखि रुसले युक्रेनमा आक्रमण गरिरहेकाे छ ।
यी त्रासहरूका माझ युक्रेनका अन्य भागहरूबाट आएका खबरले झन् डर थपिरहेको छ ।
सघन जनसङ्ख्या भएका ठाउँहरूमा रुसले मानिसहरूलाई खाना, पानी र अत्यावश्यक आपूर्ति रोक्ने ‘मध्ययुगीन तरिका’ अपनाउन थालेका विवरण आएका छन् ।
रुस र युक्रेन आक्रमण सुरु हुँदा केही दिनमा वा अझ केही घण्टामा रुसको शक्तिशाली सेनाले किभ कब्जा गरिसक्ला भन्ने ठानिएको थियो । तर छ दिन बितिसक्दा पनि युक्रेन झुकेको छैन ।
युक्रेनकाे सेनाले पश्चिमा हतियार र गोलीगठ्ठा प्रयोग गरेर चर्को प्रतिरोध मात्रै गरेको छैन । सर्वसाधारण नागरिकहरूले पनि बन्दूक उठाएका छन् अनि टोलटोलमा प्रतिकार गर्न तथा अग्रमोर्चामा खटिन थालेका छन् ।
तर यो पछिल्लो लस्कर बिस्तारै राजधानीतर्फ अघि बढ्दै गरेको छ । विस्फोटका आवाज झन्-झन् ठूला सुनिन थालेको छ ।
-बीबीसी