पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।

यसअघि बिहीबार नै दुवै पक्षका कानुन व्यावसायीले बहस गरेका थिए ।

यसअघि उनलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालत तनहुँको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए ।

१७ वर्षीया किशोरीका बुवाले म्युजिक भिडियो छायांकनका क्रममा पलले बलात्कार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि पल फागुन १५ मा आफैँ प्रहरीको सम्पर्कमा गएका थिए ।

फागुन १६ मा फेरि पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित भनिएकी किशोरीले आफूमाथि पलले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

पलविरुद्धको उजुरीपछि सात दिन, १२ दिन, चार दिन र पाँच दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

गएको चैत ८ गते उनीविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता गरेको थियो । चैत १० मा जिल्ला अदालत तनहुँले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी किशोरीले अदालतमा बयान फेरेकी थिइन् । तनहुँ जिल्ला अदालतमा किशोरीका तर्फबाट बकपत्रका क्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् ।

अदालतसमक्ष उनले बकपत्र दिँदा पलले आफूमाथि बलात्कार नगरेको र अरूको उक्साहटमा जाहेरी दिएको बताएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१