
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन् ।
उनीहरुबीच भेट आइतबार साँझ भएको हो ।
आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौं विषयमा छलफल भएको मिश्रले बताएका छन् ।
त्यस्तै, आगामी आम निर्वाचनमा काठमाडौं–१ मा सहकार्यबारे छलफल भएकाे थियाे।
ओलीले राती सुत्नुअघि कम्तिमा एक घन्टा पढ्ने गरेको मिश्रलाई सुनाएका थिए ।
‘तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधें । उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।,’ मिश्रले भनेका छन्।
ओलीले चुक्सा नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन् ।
‘अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो । भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ !’ मिश्रले भनेका छन् ।