नयाँ सरकारको पहिलो प्रधानमन्त्री देउवा त्यसपछि प्रचण्ड (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले नयाँ सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने दाबी गरेका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता वडले तीनवटै तहको निर्वाचन सफल बनाउनुकासाथै गठबन्धनको पनि नेतृत्व गरी सफलता दिलाएकाले देउवाको विकल्प अरु कोही नभएको बताए ।

समकालिन राजनीतिमा देउवा सबैभन्दा परिपक्व, देश विदेशमा परिचित र सम्मानित भएकाले नयाँ सरकारको नेतृत्व पनि उनैले गर्नेकुरामा कुनै विवाद नभएको उनले बताए ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापा लगायतले आकांक्षा राखे पनि देउवाको दलको नेता हुँदै छैठौं पटक प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने उनले स्पष्ट पारे ।

पार्टीका शीर्ष नेताहरुको उचित व्यवस्थापन गर्न देउवा तयार रहेको वडको भनाइ छ । गगनले यति छिटो प्रधानमन्त्रीको आकांक्षा गर्नु गलत भएको जनाउँदै उनले गगनविरुद्ध पार्टीमा दर्जनौ उजुरी परेको जानकारी दिए ।

अब पनि गठवन्धनकै सरकार बन्ने र नेतृ्त्व देउवाले नै गर्ने उनको दावी छ । माओवादी अध्यक्ष प्रचण्डले देउवाको पालो सकिएपछि नेतृत्व गर्नु उचित हुने वड बताउँछन् । प्रचण्ड, ओलीसहितको वाम गठवन्धन वा वाम सरकार तत्काल सम्भव नभएको उनको तर्क छ ।

धनगढी उपमहानगरपालिकाका पूर्व मेयरसमेत रहेका वडले आफू जनताको सेवामा मात्र केन्द्रीत हुँदा पराजित हुनुपरेको गुनासो गरे । एक्लै चुनाव लड्दा जित्ने मान्छेले गठवन्धनहुँदा पराजित हुनु परेकोमा उनले आश्चार्य व्यक्त गरे ।

धनगढीका हालका मेयर गोपी हमाल काम भन्दा पनि स्टन्टबाजीमा लागेको वडको आरोप छ ।

वड भन्छन्,‘हमालको के कुरा गर्नु ? काम कुरो एकातिर कुम्लो बोकी ठीमीतिरको हाल छ उनको । स्थानीय आवश्यकता र प्राथमिकता एकातिर छन, उनको ध्यान अन्तै छ । हुँदाहुँदा मेरो कार्यकालमा भएका कामलाई समेत आफूले गरेको भनेर प्रचार गर्दैछन् ।’

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१