
काठमाडौं । सिटीइभिटीबाट सम्बन्धन प्राप्त हिमालयन आयुर्वेद कलेजमा २०७७ सालमा स्वस्तिका भट्टराईले आफ्नो बाँकी रहेको पिसीएल प्रथम वर्षको २ वटा विषयको परीक्षा दिइन् । उनी एक विषयमा पास भइन् तर अर्को एक विषयमा फेल भइन् ।
२०७१ सालमा हिमालयन आयुर्वेद कलेजमा भर्ना भएकी भट्टराईले पहिलोपटक ७२ सालमा पहिलो वर्षको परीक्षा दिएकी थिइन् । त्यसपछिका वर्षहरुमा उनी लगातार पास भइन् तर पहिलो वर्षको २ ओटा विषयले उनी अल्झिरहेकी थिइन् । २०७७ सालमा आएर पुनः एक विषयमा फेल भएकी उनले २०७८ सालमा परीक्षा दिइन् । तर उनको त्यो परीक्षाको नतिजा अहिलेसम्म आएको छैन । उनको मात्र होइन, २०७२ सालमा पहिलोपटक पिसिएल प्रथम वर्षको परीक्षा दिएका २१ जनामध्ये एक जनामात्र पास भएका थिए । त्यसपछि निरन्तर परीक्षा दिइरहेका यस विद्यालयको कसैको पनि ०७८ सालमा दिएको परीक्षाको नतिजा आएको छैन ।
परीक्षा दिएपछि ९ महिनासम्म विद्यार्थीहरु नतिजाको पर्खाइमा थिए तर हिमालयन आयुर्वेद कलेजको पिसीएल प्रथमवर्षको ७२ सालबाट बाँकी परीक्षा दिइरहेका विद्यार्थीहरुको नतिजा उक्त समयमा प्रकाशित नतिजामा समावेश थिएन । यसविषयमा सिटीइभिटीमा बुझ्दा उनले जवाफ पाइन्, ‘तिमीहरुले परीक्षा दिन मिल्दैन थियो ।’

परीक्षार्थीको प्रवेश पत्र ।
कलेजले २०७८ सालमा फारम खुलेको छ भर्न आउनुहोस् भनेर बोलाएपछि कलेज गएर फारम भरेको उनी बताउँछिन् । तर अहिले परीक्षा नियन्त्रकले सूचना निकाल्दा निकाल्दै फारम किन भरेको ? भनेर प्रश्न गरिरहेको उनको भनाइ छ ।
‘कलेजले फारम खुलेको छ भर्न आउनुहोस् भन्दा विद्यार्थीले सूचना खोज्न थाल्छ कि, फारम भर्न कलेज जान्छ ?’ उनको प्रश्न छ ।
‘हामीलाई जानकारी भएन या कलेजले गराएन । ठिकै छ कलेजले नियम बिपरित फारम भरायो । परीक्षा नियन्त्रण कार्यालय, यसको अर्थ के हो र यसले गर्ने काम कारबाही के हो ?’ यसको जवाफ पनि त हामीले पाउनुपर्याे नि । ‘नियम बिपरित भएका परिक्षा र परीक्षामा भएका नियम बिपरित कार्य रोकथाम गर्ने जिम्मेवारी परिक्षा नियन्त्रण कार्यालयको हो कि होइन ?’ उनको प्रश्न छ ।
‘हामीले परीक्षाका लागि भरेको फारम कलेजबाट बकाइदा भरिएर दर्ता हुनका लागि पुगेको थियो परीक्षा नियन्त्रण कार्यालय । फारम दर्ता गर्ने र सिम्बोल नम्बर कायम गर्ने कर्मचारी को हो ? के उहाँलाई सिटिइभिटीको नियम थाहा छैन ? यदि थाहा छैन भने थाहा नभएको कर्मचारी किन राख्नुभयो ?’
फारम भरेर ल्याएको छन् । ‘ब्याक’ नै दिएको विद्यार्थी हुन्, एक बर्ष यिनीहरुको जीवनसँग खेलिदिउँ न त भनेर जानेर लापरबाही गरिएको उनको दाबी छ ।
यदी, नियम विपरित थियो भने त्यो फारम दर्ता हुने ठाउँमा नै रोकिनुपर्ने उनको भनाइ छ । ‘यदी, हामीले परीक्षा दिन पाउँथेनौँ भने यो संस्थाले पनि परीक्षा लिन मिल्दैन थियो होला नि ? नियम विद्यार्थीको लागि मात्र हो, संस्थाको लागि होइन ?’ उनले प्रश्न गरेकी छन् ।
‘हामी जबरजस्ती आएर परीक्षा दिएको होइन । नीति, नियम, फारम भरेर दिएको परीक्षा दिएका छौँ तर नतिजा प्रकाशित हुँदैन । फारममा स्पष्टँग खुलाइएको छ, रजिष्ट्रेशन बर्ष र नम्बर ।’ यो अवस्थामा हामी के गर्ने ?’ उनको गुनासो छ ।

परीक्षार्थीले शिक्षा मन्त्रालयलाई लेखेकाे पत्र ।
परीक्षा नियन्त्रकको कुरापछि आफूहरु न्याय खोज्दै शिक्षा मन्त्रालयसम्म पनि पुगेको उनले बताइन् । ‘हामी न्याय खोज्दै शिक्षा मन्त्रालय गयौँ । त्यहाँबाट हामीलाई उपाध्यक्ष खगेन्द्र अधिकारीले ‘यत्ति सानो कुरालाई मन्त्रीज्यूलाई किन दुःख दिने हामी समाधान गरिहाल्छौँ’ गएको पुष ११ गते आफ्नो कार्यकक्षमा बोलाउनुभयो । त्यहाँ भएको छलफल बमोजिम विद्यार्थीलाई अन्यायमा नपार्ने, संस्थाबाट लापरबाही भएको हो, यसलाई सुधार्ने र विद्यार्थीलाई न्याय दिने भन्ने आश्वासन पाएका थियौँ ।’
उनीहरुले पटक–पटक परीक्षा नियन्त्रक र उपाध्यक्षसँग सम्पर्क गरेको र ‘हुन्छ’ ‘हामी छलफल गरिरहेका छौँ’ भन्ने जस्ता जवाफ पाएको तर काम नभएको गुनासो गरेका छन् ।
‘हामीले सिटिइभिटीमा सदस्य सचिवका लागि पनि निवेदन दर्ता गराएका थियौँ ।’ भट्टराईले भनिन् ‘त्यस निवेदनमा पनि कुनै कारबाही हुने छाँटकाँट नदेखिएपछि, हामी तत्कालीन शिक्षा मन्त्री शिशिर खनालकोमा न्यायका लागि गयौँ । उहाँले ‘यस मुद्धालाई सिटिइभिटीसमक्ष उठाएर यस विषयलाई न्याय गरिदिनू’ भन्नु भएको थियो ।’ तर अहिलेसम्म पनि यस विषयमा केही समाधान निस्किएको छैन ।
उनले आफ्नो जीवनको महत्वपूर्ण पक्ष आफ्नो पढाइ रहेको र यसका लागि अब आफू जे पनि गर्न तयार रहेको बताइन् । उनले बारम्बार भनिन् ‘यो मेरो नतिजा जीवनदान हो ।, यदी केही गरि मिल्दैन भन्नुहुन्छ भने मलाई यहीँ मारिदिनुहोस् ।’
उनले आक्रोश पोखिन्, ‘एउटा मन्त्री आउनुभयो, विद्यार्थीलाई न्याय दिनुहोस्, नतिजा दिनुहोस् भन्नुभयो, जानुभयो । अर्को मन्त्री आउनुभयो, विद्यार्थीलाई न्याय दिनैपर्छ भन्नुभयो, जानुभयो । खोई त तपाइँहरुले न्याय दिनुभएको ? खोइ त सदस्य सचिवलाई बुझाएको त्यो पत्रको उत्तर ? मन्त्रालयमा बुझाएको पत्रको उत्तर पठाएको ? मैले दिएको परीक्षाको नतिजा प्रकाशित नहुने हो भने मलाई नै मारिदिनुहोस् ।’

परीक्षार्थीले सिटीइभिटी सदस्य सचिवलाई लेखेकाे पत्र ।