युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत फेला

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् ।

गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।

त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको ओखलढुंगा प्रहरीले जनाएकाे छ ।

युवतीको मृत्युको कारण अझै खुलेको छैन ।

जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए ।

देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए । मृतक सुस्मिताको घर पनि आलापोटमै हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१