
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्ले प्रत्येक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ।
असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोदोको महत्त्व र सम्भावनालाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको हो।
नेपालको पहाडी तथा हिमाली भेगमा परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदो खाद्य सुरक्षाको दृष्टिले मात्र नभई पोषण, संस्कृति र मौसमी व्यवस्थापनको दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ। कोदो उत्पादन किसानहरूको जीवनशैली, परम्परा र जैविक विविधतासँग जोडिएको छ।
कोदो खपत घट्दै गएको, किसानहरू अन्य बालीमा आकर्षित हुँदै गएको र परम्परागत बाली संरक्षणमा चुनौती देखिएको वर्तमान सन्दर्भमा सरकारले राष्ट्रिय कोदो दिवस घोषणा गरेर कोदोजस्ता स्थानीय बालीहरूको संरक्षण, प्रवर्द्धन र व्यावसायीकरणमा सन्देश दिन खोजेको छ।
सरकारको निर्णयअनुसार अबदेखि साउन १६ गते देशभर ‘राष्ट्रिय कोदो दिवस’ मनाइनेछ र सो अवसरमा विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछन्। नीति निर्मातादेखि किसान, अनुसन्धानकर्ता, निजी क्षेत्र र उपभोक्तासम्म सबैको साझा प्रयासमार्फत कोदो उत्पादन र उपभोगमा नयाँ उत्साह थपिने विश्वास लिइएको छ।