
पृष्ठभूमि
अन्तर्राष्ट्रिय श्रमिक दिवस वा विश्व मजदुर दिवस विश्वभरका मजदुरहरूका हक हितका लागि, मजदुरहरूको योगदानको कदर स्वरुप र श्रमिकहरूको अधिकार र सुरक्षाका सम्बन्धमा जागरण गराउने मनसायले प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन मनाउने प्रचलन रहेको छ । संसारमा श्रम गर्ने वा मजदुर गर्ने वर्ग र श्रमिकको श्रम शोषण गर्ने वर्गका विरुद्धको आवाज बुलन्द भएको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस भनेर मनाउन थालिएको इतिहास छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वका ८० भन्दा बढी मुलुकमा सार्वजनिक विदा नै दिएर उच्च सम्मानका साथ मनाइन्छ भने केही देशहरूमा सामान्य तरिकाले पनि मनाउने गरिन्छ । यस दिवसका अवसरमा यो दिवसको इतिहास, सन्दर्भ र नेपालमा श्रमिकहरूको अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले यो आलेख तयार गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सुरुवात के कसरी भएको हो भन्ने प्रसङ्ग कोट्याएर हेर्ने हो भने १९ औं शताब्दीमा जब संसार औद्योगिक युगमा प्रवेश ग¥यो, त्यहाँ हुनेखाने उद्योगपतिहरूले मजदुरी गर्ने तल्लो वर्गलाई शोषण गरेर मनग्गे आम्दानी गरी आफू झन् धनी बन्दै जाने तर श्रमिक वर्ग जहाँको तहाँ रहने अवस्था सृजना भयो । यस्तो असमानतालाई लामो समयसम्म श्रमिकहरूले सहेर काम गर्दै गए । उद्योगपतिको अत्याचार झन् पछि झन् बढ्रदै गयो र श्रम शोषण गर्ने प्रक्रियामा कमी भएन । खासगरी युरोपका उद्योगपतिहरूले श्रमिकहरूलाई काममा लगाउने समय दैनिक १५ घण्टासम्म पनि थियो । तर श्रम अनुसारको पारिश्रमिक थिएन । यस्तो कहालीलाग्दो अवस्थाबाट उन्मुक्ति पाउने उपाय श्रमिकहरूले सोच्दै थिए र आफूहरू एक आपसमा संगठित समेत हुँदै थिए ।
फलस्वरुप त्यहाँका श्रमिकहरूले मे १ तारिख १८८६ का दिन उक्त शोषणका विरुद्ध समानता, उपयुक्त ज्यालाको व्यवस्था, उचित बिदा, उचित सुविधा र श्रम वातावरण मिलाउनुपर्ने माग राखेर एकिकृत हुँदै आन्दोलनको सुरुवात गरे । मजदुरहरूले आफ्ना मागमा २४ घण्टामा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको सुविधा दिनुपर्ने बुँदा पनि राखेर सशक्त तरिकाले आन्दोलन अघि बढाएका थिए । उनीहरूको आन्दोलनले संसार भरका सबै मजदुरहरू एक ढिक्का हुनपुगे र व्यापक दबाब सृजना गरेपछि उनीहरूको माग सम्बोधन भई विशेष सुविधा पनि प्राप्त गरेको इतिहास छ । यसरी मजदुरहरूको उक्त आन्दोलनको सुरुवात भएको दिनलाई सम्झना गर्दै हरेक वर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस भनेर मनाउने गरिन्छ, जुन मजदुरहरूका लागि विशेष सम्मान पनि हो ।
हाल अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वको हकमा एक पर्वका रुपमा आफ्नो हक अधिकार सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले मनाइन्छ र नेपालमा समेत विभिन्न मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् । नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मजदुरहरूको विशेष सम्मान गर्दै एक दिन सार्वजनिक बिदा दिने गरिन्छ । यस दिनले मजदुरहरूको योगदान, उनीहरूको सुरक्षा र अधिकारको महत्वलाई स्मरण गराउँछ ।
जागरण सुरु हुनु अघिको नेपालमा मजदुरहरूको अवस्था
नेपालको सन्दर्भमा सामन्तवादी युग निकै लामो समयसम्म रह्यो । सामन्तवर्गले अशिक्षित र गरिबीको चपेटामा रहेका श्रमिक वर्गको निकै शोषण गरिरहे । अशिक्षाका कारण नेपालका मजदुरहरू एक ढिक्का हुने, आन्दोलन गर्ने, हक अधिकार खोज्ने कुरामा निकै पछाडि परे । बिहान बेलुकाको हातमुख जोर्न र जहान परिवारलाई पेटभरी खान पुग्ने अवस्था भए मात्रै सन्तोष ठान्ने नेपाली श्रमिक वर्गले कहिल्यै आफ्नो हक अधिकारको आवाज बुलन्द गर्न सकेनन् । यसैको परिणामस्वरुप नेपालमा कमैया, कमलरी र हलिया प्रथा निकै लामो समयसम्म चल्यो र अझैपनि त्यसका केही अवशेषहरू भेटाउन सकिन्छ । मालिकको खेतबारी, कृषि, पशुपालन र घरायसी काम गर्दै कतिपय श्रमिकहरूले ऋण तिर्न नसक्दा भावी कैयौं पुस्तालाई समेत यस्ता प्रथामा बाँच्नुपर्यो । शिक्षा, स्वास्थ्य, उचित पारिश्रमिक र कामको मूल्याङ्कन भन्ने कुरा त कहिल्यै भएन । बरु जमिन्दारको नोकरको रुपमा मात्र होइन कि यौन दासीका रुपमा समेत बस्नुपर्यो । यस्तै अवस्थामा कैयौं पुस्ताहरू बाँच्नुपर्यो ।
बिस्तारै नेपालमा पनि उद्योगहरू खुल्न थाले । उद्योगमा काम गर्ने श्रमिकहरूको अवस्था समेत त्यस्तै श्रमशोषणमा परिरहेको थियो । अन्तर्राष्ट्रिय श्रमिकका हक अधिकारका कुराको बाछिटा पनि नेपालमा पर्न थाल्यो र सञ्चालनमा रहेका केही उद्योगका कामदारहरूले बिस्तारै आफ्नो श्रमशोषणका विरुद्ध सङ्गठित हुन थाले । यो परम्परा बिस्तारै भुसको आगो जस्तै अन्य उद्योगहरूमा पनि फैलिन थाल्यो र मजदुरहरूको आवाज सशक्त बन्न थाल्यो । उद्योगभित्रै विभिन्न आन्दोलन हुनथाले । विश्वव्यापी मागको रुपमा रहेको उचित पारिश्रमिक, काम, आराम र मनोरञ्जनका सुविधा आफूले समेत पाउनुपर्ने माग राख्दै नेपाली श्रमिकहरूले पनि आन्दोलन गर्न थाले । आन्दोलन दबाउनका लागि उद्योगपति र राज्यले समेत बल प्रयोग गर्न थाल्यो र कैयौं मजदुरहरूको रोजीरोटी खोसियो भने कतिपय मजदुरले आन्दोलनमै सहादत प्राप्त गर्न पुगे । मजदुरको आन्दोलन बिस्तारै राजनीतिक आन्दोलन बन्न थाल्यो र राज्यका विरुद्ध नै आन्दोलन हुन थाल्यो । फलस्वरुप व्यवस्था परिवर्तनसम्म हुन पुग्यो र धेरै मजदुर नेता कार्यकर्ताहरू राजनीतिक आन्दोलनका पनि नेता हुन पुगे र नेपालमा पञ्चायती व्यवस्था नै ढल्न पुग्यो ।
आन्दोलन उद्योगमा मात्र सीमित रहेन कि यसको बाछिटा अन्य क्षेत्रहरूमा पनि पर्न थाल्यो र बिस्तारै घरेलु श्रमिक, कमैया, कम्लरी र हलिया प्रथा समेत नेपालबाट हट्न पुग्यो । वर्षौं देखि रहेका यस्ता असमान व्यवस्था हटेर मात्र समस्या समाधान भएन, देशमा सुकुम्बासीको समस्या अर्को टड्कारो रुपमा देखिन थाल्यो । सुकुम्बासीलाई व्यवस्थित गर्ने, उद्वार गरिएका घरेलु श्रमिकहरूको व्यवस्थापन गर्ने कुरा हालसम्म पनि चित्तबुझ्दो तरिकाले हुन सकेको छैन ।
वर्तमान नेपालमा मजदुरहरूको अवस्था
हाल आएर मजदुरहरूको कुरा गर्दा नेपालमा विदेसिने युवाहरूको अवस्थातर्फ ध्यान दिनुपर्ने देखिन्छ । अहिलेको अवस्थामा श्रम गर्न विदेश जाने जनशक्तिको अवस्था नाजुक रहेको पाइन्छ । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार एकवर्षमै वैदेशिक रोजगारीमा जाने व्यक्तिको सङ्ख्या करिब ३१ लाख रहेको छ । यो आधिकारिक तथ्याङ्क बाहेक अवैधानिक तरिकाले समेत वैदेशिक रोजगारीमा जाने श्रमिकको गणना भएको छैन र गणना गर्न नसकिने अवस्था छ । नेपालका श्रमिकहरू वैदेशिक रोजगारीमा जाँदा आफ्नो योग्यता र इच्छा अनुसार रोजगारदातासँग सिधा सम्पर्क गरेर, म्यानपावर कम्पनीको सहजीकरणबाट र सरकारको सहजीकरण अनुसार जाने गरेको पाइन्छ । यसरी बल्लतल्ल विदेश गएका श्रमिकहरू पनि त्यहाँको सम्झौता अनुसार नभइ मालिकको इच्छा अनुसार श्रमशोषणमा पर्ने गरेका उदाहरण छन् । त्यस्तै, कतिपय नेपाली श्रमिकहरूले उचित पारिश्रमिक नपाएको, योग्यता अनुसार र सम्झौता अनुसारको काम नपाएको, डकैतिमा पर्ने गरेको, समयमा पाउनुपर्ने पारिश्रमिक नपाएको, घरेलु कामदारको रुपमा रहेका कामदारमाथि शारीरिक, यौनिक र मानसिक यातना दिने गरिएको जस्ता गुनासाहरू सुन्ने गरिन्छ । कतिपय श्रमिकहरूले त कामकै क्रममा शारीरिक क्षति भोग्ने र मृत्युसम्म हुने गरेका उदाहरण प्रसस्तै छन् । यसरी विश्लेषण गरी हेर्ने हो भने २१ औं शताब्दीका श्रमिकहरूले पनि उचित मूल्य नपाउनु र अपहेलित हुनु परिरहेको दृष्टान्त देखिन्छ । यस्तो अवस्थामा श्रमिकहरूको पीडाको सम्बोधन नगरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनुको सार्थकता के नै भयो र ?
यसरी नेपालबाट विदेश जाने कामदारहरू आर्थिक रुपमा सक्रिय कामदारहरू हुने गर्छन् जुन १८ देखि ४४ वर्षसम्मका युवावर्गभित्र पर्ने गर्दछन् । ती मध्ये सबैभन्दा बढी २५ देखि ३४ वर्षसम्म उमेर समूहका युवाहरू पर्दछन् जुन निकै सक्रिय उत्पादनशील जनशक्ति हो र यस्ता जनशक्तिले देश विकासको काममा नलागेर विदेशीहरूको सेवा गरिरहनुपर्ने बिडम्बना नेपालमा देखिएको छ । यस्ता युवावर्गको श्रमको सदुपयोग देशले गर्न नसक्नु, विदेश धकेल्नुपर्ने अवस्था आउनु र अधिकांश युवाहरू उतै पलायन हुनु, मृत्युवरण गर्नु नेपाली श्रमिकहरूका अहिलेका बाध्यता रहेका छन् । पछिल्लो १० वर्षमा विदेश गएका नेपाली कामदारहरूमध्ये १० हजार भन्दा बढीको मृत्यु भएको कुरा वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाउँछ । यसबाट के बुझिन्छ भने देशभित्र पर्याप्त रोजगारीको अवसर नहुनु, राजनीतिले सही नीति लिन नसक्नु, सत्ताको लडाइँमा मात्र समय गुजार्नु, भएका उद्योगहरू पनि बन्द गर्नु, नयाँ उद्योगधन्दा खोल्ने कुनै योजना र सोच नहुनु, परम्परागत कृषि प्रणालीमा कुनै सुधार नहुनु, देशभित्र रहेका प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने सोच नहुनु, देशमा भ्रष्टाचारले सीमा नाघ्नु र अर्थतन्त्र तहसनहस हुनु, राज्य सञ्चालन गर्ने दलका नेताहरू गैर जिम्मेवार हुनु र युवाहरूलाई विदेश जान प्रोत्साहन गर्नु नै मुख्य कारण हुन् । यस्तो अवस्थामा वैदेशिक रोजगारमा जानु र उतै पलायन हुनुलाई नौलो मान्न सकिँदैन । हाल साउदी अरब, कतार, युएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया, क्रोएसिया, पोल्याण्ड्, रोमानिया जस्ता देशहरू वैदेशिक रोजगारका लागि गन्तव्य बन्ने गरेका छन् र ती देशमा श्रमिकहरूको उचित व्यवस्थापन भए नभएको अनुगमन गर्ने र सुनुवाई गर्ने कुनै प्रभावकारी संयन्त्र समेत बन्न नसक्नु र काम नहुनुमा धेरैको गुनासो समेत रहने गरेको छ ।
अन्तमा,
अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ र यो दिनमा श्रमिकहरूका यावत् समस्याहरू सुन्ने गरिन्छ । तर वर्षमा एक दिन मात्र श्रमिकहरूका समस्या सुन्ने र बाँकी अरु ३६४ दिन श्रमिकहरूको श्रमको शोषण गरी कसरी अर्थोपार्जन गर्न सकिन्छ भन्ने कुरामा नै रोजगारदाताहरूको ध्यान जाने गरेको देखिन्छ । यसबाट श्रमिक वर्गको श्रमको उचित मूल्याङ्कन होला त ? के कामदारहरूको काम गर्ने वातावरण नभए उत्पादनमा वृद्धि होला त ? के कामदारहरूलाई यातना दिएर लगाइएको काम सन्तोषजनक तरिकाले सम्पन्न होला त ? के कामदारहरूको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक क्षेत्र विकासमा ध्यान नदिइ उत्पादकत्व बढाएर आर्थिक उन्नति गर्न सकिएला त ? एकपटक यो विषयमा गम्भीर समीक्षा गरी यस्ता दिवसका अवसरमा सन्देश दिने कि ? अस्तु
(प्राध्यापक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुर र सामाजिक अभियन्ता)
कावासोती–८, नवलपुर, ९८५७०४०४६३, pndynn2031@gmail.com