
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच गत मे महिनामा भएको भनिएको सैन्य संघर्षका क्रममा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्।
शुक्रबार राति व्हाइट हाउसमा आयोजित रिपब्लिकन सांसदहरूको डिनर कार्यक्रममा बोल्दै ट्रम्पले भने, “भारत र पाकिस्तानबीच गम्भीर युद्धको सम्भावना थियो, म सम्झन्छु पाँच जेट खसालिएको थियो।” यद्यपि उनले कुन देशका कति विमान खसेका थिए भन्नेबारे भने स्पष्ट गरेका छैनन्।
यसअघि पाकिस्तानले भारतका पाँच लडाकु विमान खसालेको दाबी गरिसकेको छ, जुन भारतले खारेज गर्दै आएको छ। ट्रम्पको पछिल्लो दाबीले भारतमा राजनीतिक चर्चा पुनः चर्किएको छ।
ट्रम्पको अभिव्यक्तिपछि भारतीय प्रमुख विपक्षी दल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि प्रश्न उठाएको छ। कांग्रेसले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखेको छ, “ट्रम्पले फेरि भने, भारत–पाकिस्तान युद्ध रोकिएको थियो र पाँच जेट खसालिएका थिए। उनले २४ औं पटक भने कि व्यापार धम्कीले युद्ध रोके। तर मोदीजी मौन छन् — किन?”
कांग्रेसले मोदीमाथि राष्ट्रको सम्मानभन्दा व्यापार प्राथमिकतामा राखेको आरोप समेत लगाएको छ।
यसअघि मे महिनाको अन्त्यतिर भारतका प्रमुख रक्षा प्रमुख जनरल अनिल चौहानले पाकिस्तानको दाबीलाई पूर्णतः अस्वीकार गरेका थिए। उनले भारतका कुनै पनि विमान खसेको पुष्टि नभएको बताएका थिए।
ट्रम्पले यसअघि पनि बारम्बार भारत–पाकिस्तानबीचको तनावमा आफूले हस्तक्षेप गरेर युद्ध रोकेको दाबी गर्दै आएका छन्। उनले विशेषगरी व्यापारको माध्यमबाट दुबै देशलाई दबाब दिएको बताएका छन्।
शुक्रबारको डिनरमा ट्रम्पले भने, “भारत र पाकिस्तान दुबै परमाणु शक्ति भएका देश हुन्। यदि उनीहरूले एक–अर्कामाथि आक्रमण गरे, व्यापार सम्झौता हुने छैन भनेर धम्की दिइयो। त्यसपछि दुबै देश युद्धबाट पछि हटे।”
यसैबीच, भारतका विदेश मन्त्री एस. जयशंकरले यसअघि दिएको अन्तर्वार्तामा भारत–पाकिस्तानबीचको तनावमा भएको शान्ति प्रयास पूर्णतः द्विपक्षीय रहेको स्पष्ट पारेका थिए।
तर ट्रम्प र उनका सहयोगीहरूले भने अमेरिकाले हस्तक्षेप गरेर युद्ध रोकेको दाबी गरिरहेका छन्। ट्रम्पले आफैंले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा संघर्षविरामको घोषणा गरेको पनि दाबी गरेका छन्।