
काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू समुदायका १६ जना सदस्य पोखराको गगनगौंडा भन्ने स्थानमा सकुशल फेला परेका छन्।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार उनीहरू पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा क्षेत्रका दुई घरमा विभाजित भएर बसेका थिए।
‘उनीहरू सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसेका थिए,’ एसपी ओलियाले जानकारी दिए, ‘अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।’
उनीहरू गएको शनिबार पोखरा पुगेको खुलेको छ।
पोखराको होटल जननीका सञ्चालक सुनिल भूर्तेलका अनुसार उनीहरू शनिबार होटलमा आएर बसेका थिए र आइतबार नै चेक आउट गरेका थिए।
‘उनीहरूले तीनवटा कोठा लिएर बसेका थिए,’ सञ्चालक भूर्तेलले भने।
यस घटनाले प्रारम्भमा समाजमा चिन्ता सिर्जना गरे पनि अहिले उनीहरू सकुशल फेला परेकामा आफन्त तथा स्थानीयवासीले राहतको महसुस गरेका छन्।